बागलुङमा एकै पटक १५ बेलिब्रिज निर्माण हुँदै

सन्दर्भ तस्बिर

बागलुङ । बागलुङमा गण्डकी प्रदेश सरकारले एकै पटक १५ वटा बेलिब्रिज निर्माण गर्ने भएको छ। पक्की पुलको अभावमा वर्षायाममा सवारी आवागमनमा समस्या हुँदै आएका ग्रामीण सडकका साना तथा मझौला खोलामा बेलिब्रिज निर्माण गर्न लागिएको हो।

चालु आर्थिक वर्षमा पूर्वाधार विकास कार्यालय बागलुङमार्फत बेलिब्रिज निर्माणको प्रक्रिया अघि बढाइएको छ । त्यसका लागि प्रत्येक पुलमा रु ४० लाखका दरले बजेट विनियोजन भइसकेको गण्डकी प्रदेशका आर्थिक मामिलामन्त्री जीत शेरचनले जानकारी दिए।

उनका अनुसार अहिले पुल निर्माणका लागि विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार गर्ने काम भइरहेको छ। सर्वेक्षण, डिजाइन र लागत अनुमान तयार भएपछि ठेक्का प्रक्रियामा लगिनेछ।

“चालु आवमा सबै पुलको काम एकसाथ सुरु गर्ने तयारी छ । लागतअनुसार क्रमशः दुईदेखि तीन वर्षभित्र सबै पुल निर्माण सम्पन्न गर्ने लक्ष्य छ”, मन्त्री शेरचनले भने, “प्रदेश सरकारले ४० मिटरसम्म लम्बाइ र रु चार करोड अधिकतमसम्म लागतका पुल निर्माण गर्ने नीतिअनुसार साना खोलामा बेलिब्रिज निर्माण गर्दा छिटो र सहज हुनेछ।”

पूर्वाधार विकास कार्यालय बागलुङका प्रमुख अनुप थापाका अनुसार प्रस्तावित बेलिब्रिज निर्माण भएपछि जिल्लाका अधिकांश ग्रामीण सडकलाई प्रदेशस्तरीय सडक हुँदै राष्ट्रिय राजमार्गसँग जोड्न सहज हुनेछ। अहिले पुल निर्माणस्थलको सर्वेक्षण भइरहेको र त्यसपछि डिजाइन तथा लागत अनुमानसहित ठेक्का प्रक्रिया अघि बढाइने उनले बताए।

योजनाअन्तर्गत निसीखोला गाउँपालिकामा पाँच वटा बेलिब्रिज निर्माण गरिनेछ । गाउँपालिकाको सीप–छ्यारछ्यारे झिमाघाट, धर्तीचोक, घर्तीथोक–चैते जाने घाट, तालघाट र बुदारनाथमा पुल निर्माणका लागि सर्वेक्षण भइरहेको छ।

यस्तै, ढोरपाटन नगरपालिकामा छेन्तुङ जोड्ने, चित्रेघाट, दावाल खोला र लाकुरीबोटमा बेलिब्रिज निर्माण गर्ने योजना छ । जैमिनी नगरपालिकाको थामथारा ठूलोखोला र काठेखोला गाउँपालिकाको काठेखोला–दोबिल्ला चनौटेघाट, लेखानी दोबिल्लाखोला तथा कादेशखोलामा पुल निर्माण गरिनेछ।

गलकोट नगरपालिकाको मासबार, तमानखोला गाउँपालिकाको उपल्लो बोङ्गादोभानघाट र बडिगाड गाउँपालिकाको जोतीखोलामा पनि बेलिब्रिज निर्माण गर्ने योजना रहेको पूर्वाधार विकास कार्यालयले जनाएको छ।

पुल निर्माण भएपछि खोलामा पानीको बहाव बढ्दा सडक अवरुद्ध हुने समस्या कम हुनुका साथै ग्रामीण क्षेत्रका बासिन्दालाई वर्षैभरि यातायात सेवा उपयोग गर्न सहज हुनेछ। रासस





Comments

comments

141958