ट्रम्पलाई मार्ने धम्कीसहित इरानमा विशाल होर्डिङ बोर्ड

–

तेहरान । इरानले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मार्ने धम्कीसहितका विशाल होर्डिङ बोर्ड र ब्यानर राजधानी तेहरानका विभिन्न स्थानमा राखेको छ । मङ्गलबार सार्वजनिक गरिएका ती प्रचार सामग्रीमा ट्रम्पको आलोचना गर्दै बदलाको चेतावनी दिइएको छ।

तेहरानको व्यस्त एन्गेलाब स्क्वायरमा राखिएको एउटा विशाल होर्डिङ बोर्डमा ‘हामी ट्रम्पलाई मार्नेछौँ’ भन्ने सन्देश लेखिएको छ। त्यसमा ट्रम्पलाई जेलभित्र टाउको निहुराएर बसेको अवस्थामा चित्रण गरिएको छ।

फेब्रुअरी २८ मा अमेरिका र इजरायलले इरानमाथि गरेको आक्रमणमा सर्वोच्च नेता आयातोल्लाह अली खामेनी मारिएपछि तेहरानका विभिन्न स्थानमा ट्रम्पको आलोचना र बदलाको चेतावनीसहितका प्रचार सामग्री राखिँदै आएका छन्।

यसैबीच, तेहरान र वासिङ्टनलाई वार्ताको टेबलमा ल्याउन पछिल्ला दिनमा नयाँ कूटनीतिक प्रयास भइरहेका छन् । मध्यपूर्वमा फैलिएको युद्ध पुनः चर्किन नदिन यस्तो प्रयास गरिएको हो । उक्त युद्धका कारण विश्वभर मूल्यवृद्धि भएको छ।

अमेरिकामा मङ्गलबार महत्वपूर्ण मध्यावधि निर्वाचन हुँदै गर्दा ट्रम्पले इरानसँग सम्झौता हुन सक्ने बताएका छन् । इरानसँगको युद्धलाई लिएर अमेरिकी मतदातामा असन्तुष्टि बढिरहेका बेला निर्वाचन हुन लागेको हो।

उत्तरी तेहरानको व्यस्त ताज्रिस स्क्वायरमा आयोजित खुला प्रदर्शनीमा पनि ट्रम्पका विभिन्न चित्र राखिएका छन् । एउटा चित्रमा उनको अनुहार रगतले लतपतिएको अवस्थामा भुइँमा देखाइएको छ भने अर्को व्यक्तिको खुट्टा उनको टाउकोमाथि रहेको चित्रण गरिएको छ।

अर्को चित्रमा ट्रम्पको अनुहार बमले छोपिएको देखाइएको छ । उक्त चित्र बेल्जियमका अतियथार्थवादी चित्रकार रेने माग्रिटको सन् १९६४ को चर्चित चित्र ‘द सन अफ म्यान’बाट प्रेरित देखिन्छ।

प्रदर्शनीनजिकै जेलको कोठाजस्तो संरचना पनि बनाइएको छ । त्यहाँ ट्रम्पको भेष धारण गरेका एक कलाकार दिनभर बस्ने गर्छन् । त्यसको छेउमा राखिएको पर्दामा इरानमाथि अमेरिकी आक्रमणबाट भएको क्षतिका दृश्य देखाइन्छन्।

इरानले युद्धका क्रममा अमेरिकाले विद्यालय र विवाह समारोहजस्ता सर्वसाधारणका क्षेत्रलाई जानाजानी निशाना बनाएको आरोप लगाउँदै आएको छ । ती आक्रमणमा महिला र बालबालिकासहित दर्जनौँ मानिसको मृत्यु भएको इरानको दाबी छ।

सन् १९७९ को इस्लामिक क्रान्तिपछि इरानका सार्वजनिक स्थलमा सरकारले प्रायोजन गरेका विशाल होर्डिङ बोर्ड र भित्तेचित्र राख्ने परम्परा रहँदै आएको छ । यस्ता प्रचार सामग्रीमार्फत सहयोगी राष्ट्र तथा सैन्य व्यक्तित्वको प्रशंसा गर्ने र विशेषगरी अमेरिका तथा इजरायलजस्ता विरोधी राष्ट्रलाई राजनीतिक सन्देश दिने गरिन्छ। रासस





Comments

comments

141967