एचकेनेपाल डट कम –
लन्डन। बेलायतमा रहेका नेपालीहरूको सबैभन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद् यूकेद्वारा ११७ औँ महाकवि देवकोटा जयन्ती, प्रवचन, कविता वाचन कार्यक्रमहरू गरी भव्य रूपमा मनाइयो।
वेस्ट लन्डन एक्टनस्थित एबीआई कलेजमा आयोजित समारोहमा प्रमुख अतिथिको आसनबाट समारोहलाई सम्बोधन गर्नुहुँदै नेपाली साहित्य विकास परिषद्का पूर्वअध्यक्ष हरि सिंह थापाले महाकवि देवकोटाको कारणले नेपाल विश्व साहित्य क्षेत्रमा तुलनात्मक रूपमा अरू ठूला देशहरू माझ गनिने गरेको छ भन्नुहुँदै महाकवि देवकोटा बेलायतका शेक्सपियर र मिल्टनलगायतका विश्वका अतिविशिष्ट साहित्यकारहरू मध्ये एक थिए भन्नुभयो।
आजको महाकवि देवकोटा जन्मजयन्ती कार्यक्रमले भावी पुस्तालाई समेत प्रेरणा पुर्याउने कुरा चर्चा गर्नुभयो।
समारोहमा सल्लाहकार तथा परिषद्का पूर्वअध्यक्ष खगेन्द्र नेपालीले महाकवि लक्ष्मीप्रसाद देवकोटा नेपालका अमूल्य निधि हुन् जसले भाषा साहित्यको शिखर उच्च मात्र पारेनन् शिक्षा मन्त्री समेत भएर अन्तर्राष्ट्रिय स्तरमा नेपालको प्रतिनिधित्व समेत गरेर राष्ट्रको ख्याति र प्रभाव बढाएका थिए भन्नुभयो।
साथै पूर्वअध्यक्ष नेपालीले बेलायतमा नेपाली भाषा, साहित्य, कलाजस्ता नेपाली पहिचानहरूलाई जीवन्त राख्न नेपाली साहित्य विकास परिषद्ले गरेका प्रयासहरू सराहनीय छन् भन्नुभयो।
सभापतिको आसनबाट बोल्नुहुँदै परिषद्का अध्यक्ष वरिष्ठ कवि कोमलप्रसाद श्रेष्ठ मल्लले बेलायतमा नेपाली साहित्य विकास परिषद् यूकेले आफ्नो स्थापना काल सन् १९९५ देखि नै आदिकवि भानु जयन्ती, महाकवि देवकोटा जयन्ती, स्वागत सम्मान, नववर्ष लगायतका साहित्यिक गतिविधिहरू तीव्र गतिले अगाडि बढाउँदै आएको चर्चा गर्नुभयो।
अध्यक्ष मल्लले महाकविको असीमित योगदानले नै आज नेपाली साहित्य विश्वस्तरमा गनिने गरेर उभिन सकेको चर्चा गर्नुभयो।
यसअघि स्वागत मन्तव्य राख्नुहुँदै परिषद्का वरिष्ठ सहअध्यक्ष तथा यती संस्थाका निवर्तमान अध्यक्ष कवि ध्रुव केसीले बेलायतमा नेपाली भाषा साहित्यको संरक्षण र संवर्द्धन गर्नमा नेपाली साहित्य विकास परिषद्ले ऐतिहासिक भूमिका निर्वाह गर्दै आएको चर्चा गर्नुभयो। वरिष्ठ सहअध्यक्ष केसीले नेपाली साहित्यमा महाकवि देवकोटाको योगदान अतुलनीय रहेको चर्चा गर्नुभयो।
समारोहको आरम्भ गर्नुहुँदै परिषद्का महासचिव डा. सुधा श्रेष्ठले हरेक वर्ष तिहारको आरम्भसँगै परिषद्ले मनाउँदै आएको महाकवि देवकोटा जयन्तीले बेलायतमा रहेका सर्जकहरूमा थप प्रेरणा र ऊर्जा मिल्ने गरेको चर्चा गर्नुभएको थियो।
राष्ट्रिय गान, महाकविको तस्बिरमा माल्यार्पण र मङ्गल धुनबाट आरम्भ गरिएको समारोहमा नेपालमा बाढी पहिरोबाट दिवंगत हुन गएका ज्ञात अज्ञात व्यक्तिहरूको चीर शान्तिका लागि १ मिनेट मौन धारण गरी श्रद्धाञ्जली व्यक्त गरिएको थियो भने नेपालमा बाढी पहिरोबाट धनजनको अपूरणीय क्षति भएकोमा दुःख व्यक्त गर्दै शोक सन्तप्त परिवारहरूमा हार्दिक समवेदना प्रकट गरिएको थियो।
साहित्य र गीतसङ्गीतको मिश्रण रहेको उक्त समारोहमा कविता वाचन गर्ने कविहरूमा वसन्त राय क्षेत्री, हरिसिंह थापा, खगेन्द्र नेपाली, डा. सङ्गीता स्वेच्छा, रेशम अर्याल, मनोज अञ्जान, कोमल मल्ल, बासुदेव सापकोटा, सुष्मा भट्टराई हुनुहुन्थ्यो भने डा. सिर्जना श्रेष्ठ (नेपालबाट) को कविता सुष्मा भट्टराईले र घनबहादुर थापाको कविता कोमल मल्लबाट वाचन गरिएको थियो।
सहभागिता र सहयोगका लागि आभार प्रकट गर्नुहुँदै समारोहका सभापति अध्यक्ष कोमलप्रसाद श्रेष्ठ मल्लले वरिष्ठ प्रमुख सल्लाहकार डा. राघवप्रसाद धिताल OBE, डा. जनककुमारी धिताल, सल्लाहकार खगेन्द्र नेपाली, सल्लाहकार घनबहादुर थापा, कृष्णा थापा, एबीआई कलेजका प्रोप्राइटर कृष्ण भट्ट, पूर्वअध्यक्ष हरिसिंह थापा, सल्लाहकार विजय थापा, वसन्त राय क्षेत्री, देवकुमारी थापा, वरिष्ठ सहअध्यक्ष ध्रुव केसी, कोशेलीका पूर्वअध्यक्ष तथा सल्लाहकार मदन थापा, वरिष्ठ कोषाध्यक्ष मनोज अञ्जान, गोकुल भण्डारी, पूर्व कार्यकारिणी सदस्य ज्ञानेन्द्र राउत, रेशम अर्याल, महासचिव डा. सुधा श्रेष्ठ, पूर्व कार्यकारिणी सदस्य कोहिनूर मल्लमा धन्यवाद ज्ञापन गर्नुभयो।
– कोमल मल्ल



