बागलुङ । अलैँची खेतीमा लगानी डुबेपछि बागलुङ नगरपालिका–२ दमेकका मातृकाप्रसाद शर्माले किवी खेती सुरु गरे । पाँच रोपनीबाट सुरु गरेको खेती अहिले २५ रोपनीमा फैलिएको छ।
किवी बिक्रीबाट गत वर्ष रु चार लाख आम्दानी भएपछि उनी व्यावसायिक खेती विस्तारमा लागेका छन्।
रोजगारीका लागि दुई वर्ष मलेसियामा बिताएर गाउँ फर्किएका शर्माले सुरुमा ३० रोपनी जग्गा भाडामा लिएर अलैँची खेती गरेका थिए। हावापानी अनुकूल नहुँदा खेतीबाट अपेक्षित उत्पादन लिन सक्नुभएन । त्यसपछि उनले किवी रोजे।
सुरुमा पाँच रोपनीमा लगाएको किवीले तीन वर्षपछि उत्पादन दिन थालेपछि उनले खेती विस्तार गर्दै थप २० रोपनीमा किवी लगाएका छन् । यस वर्ष उत्पादन बढेकाले आम्दानी दोब्बर बनाउने लक्ष्य राखिएको उनले जानकारी दिए।
“पाँच रोपनीमा लगाएको किवीले उत्पादन दिन थालेपछि खेती विस्तार गरेँ”, शर्माले भने, “आफ्नो भूगोल र हावापानी सुहाउँदो फलफूलखेती गर्न सके सफल हुन सकिने रहेछ । अलैँचीमा असफल भए पनि किवीमा सफलता मिलेको छ।”
गण्डकी प्रदेश सरकारको रु २० लाख अनुदान सहयोगमा उनले आफ्नै बारीमा किवी खेती विस्तार गरेका हुन् । खेतीलाई अझ विस्तार गर्ने योजना बनाउनुभएका शर्माले उत्पादित किवी बजार पठाउने तयारी गरिरहेका छन् । उनले भने, “सुन्तलाखेती पनि सुरु गरेको छु।”
सुरुमा प्रतिगोटा रु ५०० मा बिरुवा खरिद गरेर किवी खेती थालेका शर्माले अहिले आफ्नो क्षेत्रका अन्य किसानलाई पनि यस खेतीतर्फ आकर्षित गरेका छन् । उनका अनुसार दमेकमा एक दर्जनभन्दा बढी किसान किवीमा आबद्ध छन् । त्यस क्षेत्रमा सबैभन्दा बढी क्षेत्रफलमा किवी खेती गर्ने किसान आफू नै भएको उनको दाबी छ।
जैमिनी नगरपालिका–२ का वडाध्यक्ष प्रेमप्रसाद सापकोटाले दमेक क्षेत्र किवी खेतीका लागि सम्भावनायुक्त रहेको बताए । उनका अनुसार वडाले किसानलाई प्रोत्साहन गर्न ५०० किवीका बिरुवा अनुदानमा वितरण गरेको छ । दमेकको तल्लो क्षेत्रमा गरिएको किवी खेतीको परीक्षण सफल भएको उनले जानकारी दिए।
नेपालमा सामान्यतया समुद्री सतहबाट एक हजारदेखि दुई हजार ५०० मिटरसम्मको उचाइमा किवी खेती गर्न सकिन्छ । यसका लागि उपयुक्त हावापानी, तापक्रम र माटो छनोट गर्नुपर्दछ। रासस


