परदेशमा पनि निभेन तिहारको उज्यालो: मेडवेमा सामूहिक देउसी-भैलोसहित भव्य तिहार उत्सव सम्पन्न

–

चाथाम, मेडवे (युके) — गोर्खा नेपाली समाज मेडवे केन्ट (जिएनसिएम) ले बेलायतमा भव्य रूपमा तिहार उत्सव २०२६ मनाएको छ।

शनिबार, ७ नोभेम्बर २०२६ का दिन चाथामस्थित गोर्खा ब्रदर्स रेस्टुरेन्टमा आयोजित कार्यक्रममा नेपाली समुदायका सदस्यहरूसँगै स्थानीय बासिन्दाहरूको उल्लेख्य सहभागिता रहेको थियो।

–

नेपाल र बेलायत दुवै देशको राष्ट्रिय गानबाट सुरु भएको कार्यक्रममा प्रमुख अतिथि र उपस्थित ज्येष्ठ नागरिकहरूले संयुक्त रूपमा पानसमा बत्ती बालेर उद्घाटन गर्नुभएको थियो। समाजका उपाध्यक्ष उषा गुरुङले अध्यक्षता गर्नुभएको कार्यक्रममा अर्का उपाध्यक्ष इन्डीसेन राईले स्वागत मन्तव्य राख्नुभएको थियो।

कार्यक्रममा कोषाध्यक्ष चन्द्रवती राईले तिहारको सांस्कृतिक महत्त्व, यसका पाँच दिनको विशेषता तथा भाइटीकाको परम्पराबारे विस्तृत जानकारी दिनुभएको थियो।

–

विशेष गरी यमपञ्चकका रूपमा पाँच दिनसम्म मनाइने तिहारमा काग, कुकुर, गाई, गोरु र धनकी देवी लक्ष्मीको पूजा-आराधना गरिने धार्मिक परम्परा रहेको छ। यस पर्वको अन्तिम दिन मनाइने भाइटीकाले दाजुभाइ र दिदीबहिनीबीचको आपसी प्रेम, सद्भाव र दीर्घायुको कामनालाई अझ प्रगाढ बनाउँछ। त्यस्तै, तिहारका अवसरमा खेलिने देउसी र भैलोले समाजमा मेलमिलाप र भाइचारा कायम राख्न महत्त्वपूर्ण भूमिका खेल्ने गर्दछ।

कार्यक्रमकी प्रमुख अतिथि, जिलिङ्घाम तथा रेनहामकी सांसद माननीय नौशाबा खानले बेलायतमा रहेका नेपाली समुदायले आफ्नो भाषा, संस्कृति र पहिचानलाई जीवन्त राखिरहेको भन्दै प्रशंसा गर्नुभयो र उपस्थित सबैलाई तिहारको शुभकामना व्यक्त गर्नुभयो।

–

उत्सवका अवसरमा पूर्वमेयर तथा काउन्सिलर निना गुरुङ, नेपाली चलचित्रमा अभिनय गरी बेलायत फर्किएकी अभिनेत्री तथा युट्युबर सिर्जना निङ्लेकु र गोर्खा ब्रदर्सका नयाँ सञ्चालकहरूलाई खादा ओढाएर सम्मान तथा बधाई ज्ञापन गरिएको थियो। साथै, गत वर्षको ‘स्विप्स फेस्टिभल मेडवे’ मा नेपाली समुदायको प्रतिनिधित्व गर्दै उत्कृष्ट नृत्य प्रस्तुत गर्ने समूह तथा नृत्य प्रशिक्षकहरू सविता र दुर्गासहितको टोलीलाई ‘टोकन अफ लभ’ प्रदान गरिएको थियो।

सांस्कृतिक कार्यक्रममा गायक सूर्यविक्रम राईले ‘कहाँ तिम्रो मायालुलाई छाडी राख्यौ’ र ‘सुन भनन’ लगायतका लोकप्रिय गीतहरू प्रस्तुत गर्नुभएको थियो। यसैगरी, रोशन राई, सुमित्रा राई, चन्द्रवती राई, दृश्या राई र पदम गुरुङले नेपाली, अंग्रेजी तथा हिन्दी गीतहरू गाएर माहोललाई संगीतमय बनाएका थिए भने दुर्गा राईको टोलीले आकर्षक नृत्य प्रस्तुत गरेको थियो।

साँझ ५ बजेदेखि राति १०:४५ बजेसम्म चलेको कार्यक्रमको अन्त्यमा सबै सहभागीहरू एकै ठाउँमा जम्मा भएर सामूहिक देउसी-भैलो खेलेका थिए। परम्परागत भाकामा आशीर्वाद दिँदै, नाच्दै र शुभकामना साटासाट गर्दै सहभागीहरूले परदेशमा पनि नेपाली मौलिक तिहारको रमझमलाई जीवन्त बनाएका थिए।

महासचिव रोशन राईले सञ्चालन गर्नुभएको उक्त कार्यक्रममा भूमिराज राईले साउन्ड व्यवस्थापन र कुमार गुरुङले सुरक्षाको जिम्मेवारी सम्हाल्नुभएको थियो।
समाचार: भूमिराज राई





Comments

comments

142148