काठमाडौँ । नेपालीको दोस्रो ठूलो चाड तिहारका अवसरमा आज बेलुकी राजधानीलगायत देशभर घर–घरमा लक्ष्मीलाई स्वागत गर्न दीपावली गरिएको छ।
तिहारका अवसरमा आज दीपावली गरिने मुख्य दिन हो । यसलाई दीपमालिका पनि भनिन्छ । आज विशेषगरी घरका झ्याल, ढोका, चोटा, कोठा, सङ्घार, कौसी, अटाली र भर्याङलगायतका स्थानमा सरसफाइ गरी दीपावली गरिएको हो । यसैले तिहार पर्वलाई दीपमालिका पनि भनिन्छ।
सफा सुग्घर र लिपपोत गरिएको घरमा मात्र लक्ष्मीले बास गर्छिन् भन्ने मान्यता छ । यसै आधारमा आज बिहानै घर सफा सुग्घर र गाईको गोबर एवं रातोमाटोले लिपपोत गरी साँझ दीपावली गरेर लक्ष्मीलाई आमन्त्रण गरिएको हो।
लक्ष्मीपूजा गरिने कार्तिक कृष्ण औँसी अर्थात् आजको रातलाई सुखरात्रि पनि भनिन्छ । वर्षभर मनाइने चार प्रमुख रात्रिमध्ये यो पनि एक हो । लक्ष्मी पूजाका लागि आँगनदेखि मूलढोका हुँदै लक्ष्मी स्थापना गरी पूजा गर्ने कोठासम्म गाईको गोबर र रातोमाटोले लिपपोत गरेर चामलको पीठो र अबिरले लक्ष्मीको पाइला बनाइएको छ।
पाइलैपिच्छे केराको सुत्लो वा माटाको पालामा दीप प्रज्ज्वलन गरी झिलीमिली बनाइएको छ । जसका कारण गाउँ, सहर नै झिलीमिली देखिएको छ । हाल ‘पालामा दियो’को स्थानमा मैनबत्ती बाल्ने प्रचलन बढेको छ । दियोमा तेल राखेर बत्ती बाल्नु नै वैदिक परम्परा भएको धर्मशास्त्रका जानकार प्रा तोयराज नेपाल बताउँछन्।
दीपावली गरिसकेपछि पूजा कोठामा दियो, कलश र गणेशसहित लक्ष्मी, कुबेर स्थापना गरेर गरगहना, पैसा, धान, चामल, फलफूल, सेलरोटी र फूलमाला चढाई विधिपूर्वक लक्ष्मीको पूजा आराधना गरिन्छ।
लक्ष्मीपूजापछि कन्या छोरी चेलीलाई लक्ष्मीको प्रतीक मानी पूजा गरी दक्षिणा दिने प्रचलन छ। आज घरमा लक्ष्मीपूजा गरेपछि धनदौलत वा अन्य सामान घरबाहिर पठाए लक्ष्मी बाहिर जान्छिन् भन्ने धार्मिक विश्वास रहँदै आएको छ।
लक्ष्मीपूजा सकी मध्यरातमा घरका नारीले नाङ्लो ठटाएर ‘अलक्ष्मी भागोस् लक्ष्मी र धनधान्यको आगमन होस्’ भनी कामना गर्ने शास्त्रीय विधि रहेको प्राडा रामचन्द्र गौतमले जानकारी दिए।
आज साँझ युवती समूह बनाई घरघरमा भैलो खेल्न सुरु गरेका छन् । भगवान् विष्णुले यमपञ्चकको पाँच दिन स्वर्ग, मर्त्य र पाताल तीनै लोकको शासन गर्ने वरदान बलिराजालाई दिएको भन्ने धार्मिक विश्वास रहिआएको छ। रासस

