काठमाडौं, राप्रपा नेपालका संस्थापक नेता पद्मसुन्दर लावतीले आफैले अघि बढाएको कमल थापाले एकलौटी र तानाशाही ढंगले पार्टी चलाएको भन्दै नसच्चिए पार्टी भित्रै नयाँ शक्ति उदय गर्ने चेतावनी दिएका छन्। उनले अध्यक्ष पदमा आफूले सुरुदेखि नै इच्छा नगरी थापालाई ल्याएर ‘जन्माएको’ बताउदै अहिले आफैलाई कारवाही गर्छु भन्दै हिंडेकोमा उदेक लागेको समाचार आजको कान्तिपुर दैनिकले छापेको छ।
‘कमल थापालाई पार्टीमा मैले जन्माएको हो। हुर्काएको पनि हो। अहिले संस्थापक नेताकै कुराकानी नसुनी मनोमानी गरिरहेका छन्,’ संस्थापनको कार्यशैलीप्रति असन्तुष्टी राख्दै सुरु भएको सुदृढिकरण अभियानबारे जानकारी दिन बिहीवार आयोजित पत्रकार सम्मेलनमा लावतीले भने, ‘मलाई अब अध्यक्ष चाहिएको होइन, मन्त्री चाहिएको छैन। विवाद नगरी पार्टी चलाउ भन्दा दुखमात्र दिइरहेका छन्। हामी चुप लागेर बस्दैनौं ।’
राप्रपासँग विवाद भएपछि विशेष महाधिवेशन गर्दा तत्कालीन संस्थापक नेताहरु रविन्द्रनाथ शर्मा र राजेश्वर देवकोटाले अध्यक्ष पदमा दावी गर्दा आफैले सम्झाई बुझाई थापालाई उक्त पद थमाएको दाबी उनले गरे । तर, त्यसपछि पार्टीलाई अहिले पनि दासप्रथा जसरी अघि बढाएको उनको आरोप थियो। गत संविधानसभा चुनावताका उठेको करोडौं रुपैया हिसाबकिताब पेस नगरेको र २५ जना सभासद मनोनयन गर्दासमेत पैसाको कारोवार भएको उल्लेख गर्दै लावतीले भने, ‘पैसाको प्रलोभनमा सभासद बनाएको सुनेपछि मैले कुरा उठाए। तर अध्यक्ष बैठकै नबोलाई हामीप्रति खनिए।’