सरकार अनुदार हुंदा ८ विदेशी सिनेमाको नेपालमा सुटिङ रद्द

काठमाडौं – सरकारले अनुमतिविना ड्रोन क्यामेरा उडाउन प्रतिबन्ध लगाएपछि त्यसको प्रभाव सिनेमा पर्यटनमा परेको छ । नेपालमा ड्रोन उडाउने अनुमति लिन झन्झटिलो भएका कारण नेपालमा हुन लागेको ८ विदेशी सिनेमाको सुटिङ रद्द भएको छ।

सुरक्षा संवेदनशीलताको कारण देखाउँदै सरकारले २३ वैशाख ०७२ मा अनुमतिविना ड्रोन उडाउन प्रतिबन्ध लगाएको थियो । नेपालमा सुटिङ गर्ने योजना बनाएका हलिउड, बलिउड तथा चिनियाँ सिनेमा उद्योगलगायतका निर्माताहरूले योजना रद्द गरेको पर्यटन व्यवसायीले बताएका छन् ।
ठूलो पर्दाका सिनेमाका अतिरिक्त डकुमेन्ट्री, टेलिभिजन सिरियल, छोटो फिल्म र रियालिटी शोका लागि नेपालमा सुटिङ योजना बनाइरहेका फिल्मकर्मीले पनि ड्रोनको प्रयोग झन्झटिलो भएको भन्दै नेपालमा सुटिङ रद्द गरेको उनीहरूले बताएका छन्।

नेपालमा छायाकनको व्यवस्थापन गर्ने ४ एजेन्सीमार्फत आउन लागेका सिनेमा रद्द भएका हुन् । स्विडेन, बेलायत, अमेरिका, चीन, भारत र जर्मनीबाट नेपालमा सुटिङ योजना बनाएका फिल्मकर्मीले योजना रद्द गरेको व्यवसायीहरूले बताएका छन् । मेगा एडभेन्चर्स इन्टरनेसनल, धिमालजी सिने ट्रेक्स, बोन ट्राभल एन्ड टुर्स र आइसफ प्रोडक्सनमार्फत नेपाल आउन लागेका सिनेमाहरूको सुटिङ रद्द भएको व्यवसायीहरूले जानकारी दिए।

हङकङमा नेपाली झाँकी – यो नेपाली शिर उचाली संसारमा लम्किन्छ…(हेर्नुहोस् भिडियो)

….
….
भूकम्पपछि अनुमतिको व्यवस्था
१२ बैसाख०७२ मा नेपालमा भूकम्प आएपछि नेपालमा ड्रोन उठाउन पूर्वअनुमति लिनुपर्ने व्यवस्था गरेको हो । भूकम्पलगत्तै नेपालीहरूले अत्यधिक मात्रामा ड्रोन ल्याएर तस्बिर तथा भिडियो खिच्न थालेपछि २३ वैशाखमा सरकारले त्यस्तो निर्णय गरेको थियो।

नेपालमा सुटिङ भएका सिनेमाहरू
सिनेमा छायांकनका लागि प्राकृतिक सेटका रूपमा लिँदै नेपालमा विदेशी सिनेमाको छायांकन बढ्दै गएको छ । केही वर्षअघिको हलिउड सिनेमा अंग्रेजी सिनेमा ‘एभरेस्ट’, ‘हाइवे टु धम्पुस’ र चिनियाँ सिनेमा ‘अप इन द विन्ड’ नेपालमा सुटिङ भएका थिए । एक वर्षअघि मात्र हलिउड सिनेमा ‘डक्टर स्ट्रेन्ज’को सुटिङ पनि नेपालमा भएको थियो । एरिक भ्यालीले क्याराभान सिनेमा डोल्पामा खिचेपछि नेपाल आउने सिनेमा बढ्दै गएका थिए । २२ वर्षअघि हिन्दी सिनेमा ‘खुदागवाह’ मुस्ताङमा सुटिङ भएको थियो । हलिउडको ‘लिटिल बुद्ध’, ‘द गोल्डेन चाइल्ड’, ‘द वाइन्ड हर्स’, ‘रेड कर्नर’लगायत सिनेमा नेपालमा सुटिङ भइसकेका छन् । यस्तै, भारतीय सिनेमा ‘हरे राम हरे कृष्ण’, ‘युद्ध’, ‘घरवाली बाहरवाली’, ‘महान’, ‘लब इन नेपाल’, ‘एक हसिना एक दिवाना’, ‘बेकाबु’लगायत पनि छायांकन भइसकेका छन् ।
त्यस्तै, हङकङको सिनेमा बोधी ड्रामा, क्यू वा, फ्रान्सको फियोर डेले मिली इ यूना नोट्टे, द कन्क्वेस्ट अफ एभरेस्ट, स्पेनी सिनेमा काठमाडौं मिरर इन द स्काई, हिन्दी सिनेमा बेबीलगायतले नेपालमा सुटिङ गरेका थिए । फिचर फिल्मबाहेक दर्जनौँ अन्तराष्ट्रिय सर्ट फिल्म, डकुमेन्ट्री र टेलिभिजन विज्ञापन पनि नेपालमा सुटिङ हुंदै आएका छन्।

विदेशीले सिनेमा सुटिङको अनुमति यसरी लिनुपर्छ
कुनै पनि विदेशी सिनेमा सुटिङको अनुमति लिनुपर्दा आवश्यक कागजपत्रका साथ सूचना तथा सञ्चार मन्त्रालयमा निवेदन दिनुपर्छ । यदि एरियल सुटिङ गर्नुपर्ने छैन र ड्रोनको प्रयोग पनि हुँदैन भने जहाँ सुटिङ गर्ने भनिएको छ, तीसँग सम्बन्धित निकायको राय लिएर अनुमति दिन्छ ।
उदाहरणका लागि पूरातात्विक सम्पदाको सुटिङ गर्नुपर्ने भए पूरातत्व विभाग, राष्ट्रिय निकुञ्जमा गर्नूपर्ने भए राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागको राय मागिन्छ । यदि एरियल दृश्य लिनुपर्ने र ड्रोन प्रयोग गर्नुपर्ने भए गृह, रक्षा र पर्यटन मन्त्रालयलाई सञ्चारले पत्र लेख्छ ।
गृहले प्रहरी प्रधान कार्यालय र रक्षाले जंगी अड्डालाई पत्र लेख्छ । पर्यटनले नागरिक उड्डयन प्राधिकरणको राय लिन्छ । ती सबै निकायबाट स्वीकृति आएपछि मात्र सूचना तथा सञ्चार मन्त्रालयले अनुमति दिन्छ । यो सबै प्रक्रिया पूरा गर्न १ महीना लाग्ने व्यवसायीहरु बताउँछन् । तर, स्वीकृतिका लागि कुनै शुल्क भने लाग्दैन। नयाँ पत्रिका दैनिमा खबर छ।





Comments

comments

Leave a Reply

15789