Warning: Trying to access array offset on value of type bool in /var/www/vhosts/hknepal.com/httpdocs/deshbidesh/wp-content/plugins/refresh-post-page-wud/refresh-post-page-wud.php on line 77

ओम पुरीका ८ किस्सा जसले गरेका थिए, आफ्नो मृत्युको भविष्यवाणी…

१. ओम पुरीलाई थिएटरसँग ठूलो लगाव थियो । एकपटक नाटकमा अभिनय गर्न जानका लागि उनलाई अफिसले छुट्टी दिएन । नाटकमा उनी कतिसम्म लगाव राख्थे भने उनले त्यतिवेला त्यो जागिर नै छाडिदिएका थिए । उनले भनेका थिए, ‘म एउटा वकिलसँग काम गर्थें, उनले मलाई लगातार तीन दिन बिदा दिन मानेनन् । त्यतिवेला मैले आफ्नो हिसाब मागेर जागिर छाडिदिएको थिएँ ।’ सन् २०१४ मा ‘द अनुपम खेर सो’मा ओम पुरीले यो विषयमा जानकारी दिएका थिए । सन् १९९० मा भारतको सबैभन्दा प्रतिष्ठित सम्मान पद्मश्री पाएका ओम पुरीले कुनै समय ढावा पसलमा काम मात्र गरेनन्, चियाका गिलास माझेर जीवन गुजारा पनि गरे।

२. ओम पुरी खासमा सेनामा जान चाहन्थे, तर उनी अभिनेता बने । उनले भनेका छन्, ‘मैले स्कुलमा तीनवटा छोटा फिल्म गरेको थिएँ । तर, यसैका कारण म अभिनेता बन्छु भन्ने मलाई पनि लागेको थिएन । म सेना बन्न चाहन्थेँ । तर, जब म कलेजमा आएँ, तब मलाई अभिनेता बन्ने, एक्टिङ गर्ने भोक जाग्यो।’

३. ओम पुरी नाटकबाट हुने सन्तुष्टिका कारण अभिनयमा लागिरहेका थिए । उनले भनेका छन्, ‘मलाई सधैँ लागिरहेको हुन्थ्यो, म जे महसुस गर्छु त्यो मेरो जीवनको वास्तविकता हो, सत्यता हो । मलाई सधैँ केही भन्न मन लागिरहेको हुन्थ्यो । त्यसका लागि नाटक माध्यम बन्यो । हामी जुन नाटक गरिरहेका थियौँ, त्यो मेरो नशा बन्यो । यसको कारण नाटकले दिने सन्तुष्टि थियो।’

४. ओम पुरी सरकारी जागिर छाडेर अभिनय गर्न थालेका थिए । उनका अनुसार उनी ‘लोअर डिभिजन क्लर्क’ थिए । तर, उनी त्यतिवेला भारतको नाटक स्कुलमा भर्ना हुन चाहन्थे । उनले यही चाहना डिवानासँग राखे । डिवानाले उनलाई भने, ‘हेर, तिमी सरकारी जागिर गरिरहेका छौ र यस्तो जागिर पाउन अत्यन्त गाह्रो हुन्छ । तिमी किन थिएटरमा जान चाहन्छौ ? त्यहाँ खासै पैसा पनि हुँदैन । तिमी गरिब परिवारका हौ, त्यसैले के कमाउँछौ ?’ तर, उनले आवेदन दिइसकेका थिए । उनी छानिए पनि । अनि उनले डिवानालाई जवाफ दिए, ‘म छानिएँ, सरकारी जागिर छाडिदिएँ।’
….
[wds id=”2″]
….
५. अभिनेता नसिरुद्दिन शाह जहिले पनि ओम पुरीको प्रशंसा गरिरहेका हुन्थे । यी दुईको भेट पनि भारतको नेसलन स्कुल अफ ड्रामामा भएको थियो । पहिलो भेटबारे नसिरुद्दिन शाहले सम्झिएका छन्, ‘म एनएसडीको सिँढी चढिरहेको थिएँ । उताबाट ओम आइरहेका थिए । उनले आफैँ परिचय गरे– माइ नेम इज ओम पुरी । त्यतिवेला उनको स्वर सुन्दा मलाई लागेको थियो– ओहो, मेरो पनि यस्तै आवाज भइदिएको भए!’

६. ओम पुरी आफूलाई ओम पुरी बनाउन साथीहरूको ठूलो हात रहेको बताउँथे । उनले भनेका थिए, ‘मलाई बा–आमाले जन्म दिनुभयो । तर, साथीहरूले पाल्नुभयो । त्यस्ता साथीमध्ये एक त नसिरुद्दिन नै हुन् । म सानोमा अत्यन्त इन्ट्रोभर्ट थिएँ । युवतीसँग त झन् बोल्न नै सक्दिनथेँ । तर, जब म नाटकमा काम गर्न थालेँ, तब मैले मनको कुरा पनि सहजै भन्न सकेँ।’

७. ओम पुरीले आफूलाई अंग्रेजीले गर्दा समयसमयमा समस्या हुने गरेको बताएका थिए । उनले भनेका थिए, ‘एनएसडीमा मलाई अंग्रेजीका कारण धेरै समस्या भएको थियो ।’ तर, उनलाई पछि कलेजका शिक्षकले अंग्रेजीमा नबोल्न र अंग्रेजी सुधार्नका लागि पत्रिका पढ्न सल्लाह दिए । उनले साथीहरूसँग पनि अंग्रेजी बोल्न थाले । तर, जब उनीहरू उनको गल्तीमा हाँस्थे, तब ओम पुरी सजग हुन्थे । साथीहरूले हाँसेर उडाउँदा पनि उनले समस्या मानेनन् । पछि त ओम पुरीले २२–२३ वटा अंग्रेजी फिल्ममा नै काम पनि गरे।

८. मार्च २०१५ मा ओम पुरीले बिबिसी हिन्दीका लागि अन्तर्वार्ता दिएका थिए । त्यो अन्तर्वार्तामा ओम पुरीले आफ्नो मृत्युबारे पनि कुरा गरेका थिए । उनले भनेका थिए, ‘मेरो मृत्यु अचानक हुन्छ ।’ बिबिसीका पत्रकार आलोकप्रकाश पुतुललाई दिएको त्यो अन्तर्वार्तामा ओम पुरीले भनेका थिए, ‘मृत्युको डर हुँदैन । तर, रोगको डर हुन्छ । जब म बिमारीका कारण मानिसहरू लाचार भएको र अरूप्रति निर्भर भएको देख्छु, तब मलाई डर लाग्छ । त्यस्तो नहोस् भनेर डर लाग्छ । मृत्युसँगचाहिँ डर लाग्दैन ।’ अन्तर्वार्तामा उनले थपेका थिए, ‘मृत्युबारे त तपार्इंलाई थाहा पनि हुँदैन । सुत्दासुत्दै मृत्यु हुन सक्छ । (मेरो मृत्युबारे) तपार्इंलाई थाहा हुनेछ कि ओम पुरीको आज बिहान ७ बजेर २२ मिनेट जाँदा मृत्यु भयो ।’ यति भनेर उनी अन्तर्वार्तामा हाँसेका थिए। (नयाँपत्रिका दैनिकबाट)





Comments

comments

Leave a Reply

15822