बेलायती राजदरबारमा गोर्खा सैनिकलाई विशेष सम्मान पदक…

रोशन मेवाहाङ्ग/एचकेनेपाल डट कम–
लण्डन, ०२ चैत्र । लन्डनस्थित वेलिङटन व्यारेक्सबाट डेढसय गोर्खा सैनिकहरु व्रिगेड व्यान्डको सुमुधुर धुनको आवाजमा कवाज खेल्दै बकिङहाम प्यालेस प्रवेश गरे।

व्रिगेड अफ गोर्खाज अन्तर्गत दोस्रो गोर्खा बटालियन गतबर्ष उत्तर अटलांन्टिक संगठन नेटो प्रतिनिधिका रुपमा अफगानिस्तानको राजधानी कावुलमा शान्ति सुरक्षार्थमा खटिएका डेढसय गोर्खा सैनिकहरुलाई राजकुमार चाल्स र युवाराज ह्यारीले अपरेसनल सर्भिस मेडल प्रदान गरेर विशेष सम्मान व्यक्त गरेका छन्।

समारोहका आकर्षण थिए, रोयल गोर्खा राइफल्सका कर्णेल इन चिफ द प्रिन्स अफ वेल्स चाल्स र ह्यारी। उनीहरु दुवैको गोर्खासँग घनिष्ट सम्बन्ध छ । गोर्खाहरुले विगत दुईसय वर्षदेखि ब्रिटिस फोर्समा संलग्न रहेर विभिन्न देशका प्रमुख द्वन्द्वमा सहभागी भइ बहादुरी र इमान्दारिता देखाएका कारण राजपरिवारको नजरमा गोर्खा सैनिक सधैं प्रशंसाका पात्र छन्।

सम्बोधनका क्रममा राजकुमार चाल्सले गोर्खा सैनिकहरुले बेलायती राजमुकुटका लागि सेवा गरेको दुईसय वर्ष पुगेको स्मरण गर्दै अझै निरन्तर सेवा गरिरहन आग्रह गरे । उनले आफू धेरै वर्षअघि नेपाल गएको बताउँदै हिमालको सम्झना आइरहेको समेत सम्झिए।

अटलांन्टिक संगठनको आह्वानमा बेलायती गोर्खा सैनिकहरु गार्ड एन्जल, विमान सुरक्षा र अफगान सैनिकलाई सुरक्षा सम्वन्धित प्रशिक्षणका लागि ८ महिना खटिएका थिए । गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेको नेतृत्वमा खटिएका दोस्रो गोर्खा बटालियनले मिसनको प्रारम्भ देखि नै नेटो संगठनबाट त्यहाँ खटिएका विभिन्न प्रतिनिधिहरुलाई सुरक्षा प्रदान गर्दै आएका थिए।

सन् १९९४ मा बडामहारानीले रोयल गोर्खा राईफल्सलाई निशानीमाई उपहार स्वरुप दिएकी थिईन । उक्त निशानीमाईलाई क्याप्टेन डिल्लीकुमार राई, सार्जन्ट सन्त लिम्वु, लिलाराज लोकसामलगायतका टोलिले राजदरबारको विशिष्ट सभाकक्षमा कवाज प्रस्तुत गर्दै परेड मास्टर बटालियन गणपति लेप्टिनेन्ट कर्णेल जेसी मुरेले राजपरिवारलाई शाही सलामी दिएका थिए।

समारोहमा तल्लो अधिकृतको रुपमा दुई दशक लामो ईमान्दारी, बहादुरी र कर्तव्यनिष्ठ भई एक उदाहरणीय सैनिकको संज्ञा पाएका संखुवासभाका क्याप्टेन छत्र लिङ्गथेवलाई गोर्खा ईतिहासमै पहिलो प्रशंसनीय पदक प्रदान गरिएको थियो।

राजदरबारको विशिष्ट सभाकक्षमा द्वन्द्व ग्रसित राष्ट्रहरु अफगानिस्तान, ईराक, सेरालियोन जस्ता मुलुकमा ७२० दिन अहोरात्र सुरक्षामा खटिएका दोस्रो गोर्खा बटालियनका प्रमुख लेप्टिनेन्ट कर्णेल जेसी मुरे, मेजर डेनिल ओकर्ण ,साम मिडोज,यातायात विभागका प्रमुख क्याप्टेन कृष्ण लोकसम, वारेन्ट अफिसर बसन्त राई, कलर सार्जन्ट श्री जीमि, बसन्तकुमार राई, कर्पोरल विनोदकुमार राई, रुपेन्द्र राई, सुरज वालिङ राई, खिम थापा र धनप्रसाद घलेलाई अति विशिष्ट पदक (अकुमुलेटेड क्याम्पेन सर्भिस मेडल) प्रदान गरेका थिए।

जुन पदक गोर्खाजहरुको दुई सय बर्षको ईतिहासमै पहिलो पटक प्रदान गरिएको हो । उक्त मेडल चाँदीद्वारा जडित ३० मिलीमिटर मोटाईमा बनेको छ । मेडलको स्थापना सन् १९९४ भए पनि यसलाई पुनः सन् २०११मा संशोधन गरिएको हो । सन् २००८ जनवरी भन्दा अघि यो पदक प्राप्त गर्न हरेक सैनिकले द्वन्द्व ग्रसित राष्ट्रहरुमा एक हजार ८० दिन सेवा गरेको हुनु पर्दथ्यो । व्रिगेड अफ गोर्खाजको ईतिहासमा वारेन्ट अफिसर लाखबहादुर गुरुङ्ग र वारेन्ट अफिसर शिव राई बाहेक सम्भवत अरु गोर्खा सैनिकहरुले नपाएको प्रमुख कार्यलयले जनाएको छ।

गोर्खा सैनिकमा १५ बर्ष उदाहरणीय काम गरिरहेका सैनिकहरु मेजर वल्डफिल्ड,कलर सार्जन्ट सन्जय राई,कर्पोरल हरी राई,चन्द्र गुरुङ्ग, टंक मगर,लगायतलाई गुड कन्डक पदकले सम्मानित गरेका थिए।

ब्रिगेड अफ गोर्खाजका कर्णेल रविन्सनले हरेक वर्ष रोयल गोर्खा राइफल्सभित्रका उत्कृष्ट सार्जन्टले पाउने प्रिन्स अफ वेल्स खुकुरीको उपाधि यसवर्ष दोस्रो गोर्खा रेजिमेन्टका कलरसार्जन्ट राज राईलाई घोषणा गरेका छन्।

दरबार जान सम्पूर्ण कार्यक्रम संयोजन उक्त बटालियनका रेजिमेन्टल सार्जन्ट मेजर वारेन्ट अफिसर वान संगम राईले गरेका थिए भने कवाज कार्यक्रमको निर्देशन गोर्खा मेजर गजेन्द्र आङदेम्बेले गरेका थिए।

ब्रिगेड अफ गोर्खाजमा हाल करीब तीन हजार पाँच सय गोर्खा सैनिक छन् । दोस्रो गोर्खा बटालियन अर्को मिसनअन्तर्गत आगामी जुलाई अन्तिमतिर तीन वर्षका लागि ब्रुनाई राजपरिवारका निम्ति विशेष सुरक्षा दिन प्रस्थान गर्ने योजना छ ्।

दरबार परिसरमा गोर्खा सैनिकहरुलाई हेर्न करीब १५ हजार दर्शक भेला भएका थिए। लण्डनस्थित नेपाली दूतावासका राजदूत डा दुर्गाबहादुर सुवेदी, उनका धर्म पत्नी , दूतावासका मिलिटेरी अट्याचि, मेजर डम्बर शाही, विएफ वियस गोर्खा रेडियोका प्रस्तोता लाल शाही, पण्डित संकरमणि नेपाल, सामाजिक सञ्जालकी चर्चित पत्रकार तथा साहित्यकार सुष्मा रुपाबुङ्ग राईलगायत पाँच सय जति सभाकक्षमा उपस्थित थिए।

तस्वीरहरुः रोशन मेवाहाङ्ग र लाल शाही /एचकेनेपाल डट कम





Comments

comments

Leave a Reply

16786