अमेरिका जाने प्रलोभनमा काठमाडौंका एक युवक ठगिए । एक अमेरिकन व्यक्तिले उनीबाट ६ सय ६० डलर हात पारे । पैसा लिएपछि ती व्यक्ति बेपत्ता भए ।
ठगिएका युवक उजुरी लिएर महानगरीय अपराध महाशाखा टेकु पुगे । तर, पैसा लिने व्यक्ति को हुन् भन्ने उनलाई नै थाहा छैन । किनकि उनले पैसा पठाउन अवैध रूपमा अनलाइन गेटवे प्रयोग गरेका थिए ।
अमेरिकामा नेपालबाट पैसा पठाउन सहज छैन । हुन्डीबाट पठाउँदा उता रिसिभ गर्न गाह्रो थियो । त्यसकारण ती अमेरिकीले पर्फेक्ट मनीनामक पेमेन्ट नेटवर्कमार्फत पैसा पठाउन लगाए । नेपालमा रहेका व्यक्तिले उक्त नेटवर्कमा खाता खोल्न पाउँदैनन्। उनले आफ्ना एजेन्ट विकास शाहीमार्फत पैसा पठाएका थिए । अनलाइनबाटै अवैध तरिकाले अमेरिकामा पैसा पठाइएकाले प्रहरीले ठगी गर्ने गिरोहलाई पत्ता लगाउन सकेन। नयाँ पत्रिकामाम खबर छ।
अनलाइन कारोबारको सरकारी निकायले नियमन गर्दैनन्
ठगी मात्र होइन, अन्य विभिन्न कारोबारमा पनि अवैध रूपमा अनलाइनबाट पैसाको कारोबार हुँदै आएको छ । हरेक दिन अनलाइनबाट यस्ता सयौँ कारोबार हुने गरेका छन्, जुन कारोबारको राज्यको कुनै पनि निकायबाट नियमन हुने गरेको छैन । नेपालमा दर्ता नै नगरी अनलाइन गेटवेमार्फत ठूलो मात्रामा अवैध डलर कारोबार भइरहेको छ । विदेशमा अवैध रूपमा पैसा पठाउन र कुनै सामान किनेर पेमेन्ट गर्न अवैध रूपमा अनलाइन कारोबार हुँदै आएको छ । यसरी करोडौँ रुपैयाँ अवैध बाटो हुँदै विदेश पुग्ने गरेको छ । सरकारी निकायले नियमन नगर्दा यस्तो कारोबार फस्टाउँदै गएको हो।
महाशाखाले सुरु गर्यो अनुसन्धान
ठगिएका पीडित युवक उजुरी लिएर महाशाखा गएपछि प्रहरीले अवैध रूपमा भइरहेका कारोबारउपर छानबिन थालेको छ । प्रहरीले एजेन्टका रूपमा काम गर्ने शाहीलाई पक्राउ गरेको छ । उनको पेसा नै यही भएको खुलेको छ । उनले आफूजस्ता धेरै व्यक्तिले यस्तो काम गर्दै आएको बताएका छन् । महाशाखाका प्रमुख एसएसपी दिनेश अमात्यका अनुसार प्रहरी अनुसन्धान प्रारम्भिक चरणमै छ । अनुसन्धानका क्रममा कतिपयले कार्यालय नै खोलेर यस्तो अवैध कारोबारको धन्दा चलाइरहेका छन्।
पेपाल, पर्फेक्ट मनी, स्क्रिल, पायोनियर, पेजा, नेटलर, वालेटजस्तो विश्वका प्रचलित अनलाइन पेमेन्ट गेटवे प्रयोग गरी नेपालबाट समेत हुन्डी तथा डलरको अवैध कारोबार हुँदै आएको छ । ती कम्पनीले नेपालमा कारोबारका लागि अनुमति लिएका छैनन् । तर, तिनै गेटवेहरू प्रयोग गरी ठूलो मात्रामा कारोबारहरू भइरहेको छ । अनुगमन र कारबाही गर्ने जिम्मेवारी भएको नेपाल राष्ट्र बैंकले यसमा चासो नै दिएको छैन।
कार्यालय नै खोलेर कारोबार
स्रोतका अनुसार ठमेललगायतका क्षेत्रमा कार्यालय नै खोलेर केहीले यस्तो कारोबार गर्दै आएका छन् । ट्राभल एजेन्सी, आइटीसम्बन्धी काम गर्ने कार्यालय खोलेर उनीहरूले डलरको अवैध कारोबार गर्दछन् । अनलाइन गेटवेबाट विदेशमा पैसा पठाउने मात्र होइन, उनीहरूले डलरको समेत अवैध खरिदबिक्री गर्दै आएको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए।
सामाजिक सञ्जालमा खरिद–बिक्री
अनलाइन कारोबारका लागि सामाजिक सञ्जाल फेसबुकमा विभिन्न समूहहरू बनाइएको छ । सोही समूहबाट पेपाललगायत अकाउन्टहरू खरिदबिक्रीसमेत हुने गरेको छ । पेपाललगायत अन्तर्राष्ट्रिय कम्पनीले नेपालमा बस्ने व्यक्तिहरूको अकाउन्ट अस्वीकार गर्ने भएकाले विदेशमा बस्ने व्यक्तिले अकाउन्ट खोलेर बेच्ने गर्दछन् । त्यस्तै, पेपाललगायत अकाउन्टमा भएको ब्यालेन्सको समेत खरिदबिक्री हुने गरेको छ । सोही समूहले बिटक्वाइनको समेत कारोबार गर्ने महाशाखाका एसपी श्याम ज्ञवालीले बताए । फेसबुकलगायत सामाजिक सञ्जालमा ग्रुपहरू बनाएर डलरको अनलाइन किनबेच हुने गरेको महाशाखाका एसपी ज्ञवाली बताउँछन् । हालै नेपाल राष्ट्र बैंकले पेमेन्ट सिस्टमलाई नियमन हेर्न पेमेन्ट सिस्टम विभाग नै गठन गरेको छ । उक्त विभागले अनलाइनबाट हुने अवैध कारोबारमाथि अनुगमन थालेको राष्ट्र बैंकका प्रवक्ता नारायण पौडेलले बताए।
हालसम्म नेपालमा बैंकहरूले सञ्चालन गर्दै आएको इन्टरनेट बैंकिङ, मोबाइल बैंकिङ, डेबिट कार्डलगायतको सेवासमेत कानुनतः अवैध छन्। वर्षौँदेखि यस्तो सेवा दिँदै आएका ४७ बैंक तथा वित्तीय संस्थाले त्यस्तो कारोबारका लागि हालै मात्र आवेदन दिएका छन्।