अज्ञात समूहको गोली प्रहारबाट एकको मृत्यु, एकजना घाइते

इन्दिरा दाहाल, रेडियो माडी / एचकेनेपाल डट कम –
चितवन। अज्ञात समुहको गोली प्रहारबाट चितवन राष्ट्रिय निकुञ्जका एक कर्मचारीको विहिबार मृत्यु भएको छ।

मृत्यु हुनेमा पूर्वी चितवनको रत्ननगर–१ बकुलहर निवासी शेषचन्द्र चौधरी रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ। त्यस्तै गोली प्रहारबाटै माडी बघौडा–३, बसन्तपुर निवासी त्रिलोक चौधरी घाईते भएका छन्। उनको कोखा, पेट र घुँडामा गोली लागेकोमा बसन्तपुरस्थित विश्वास फार्मेसीमा प्राथमिक उपचार भई थप उपचारका लागि भरतपुरस्थित पुरानो मेडिकल कजेजमा लगिएको पारिवारिक श्रोतले जानकारी दिएको छ। उनको अवस्था अत्यन्त गम्भीर रहेको जनाइएको छ।

काठमाडौं–माडी–ठोरी रुटमा चल्ने रात्रिबस चलाउने त्रिलोक चौधरी बस भेट्न बिहान ठोरी जाने क्रममा निकुञ्जका कर्मचारीसंगै यात्रा गरिरहँदा आक्रमणमा परेको उनको परिवारले जनाएको छ। चितवन राष्ट्रिय निकुञ्जको माडी–ठोरी हुलाकी सडक खण्ड अन्तर्गत बगहीं र अमुवा पोष्टको बिचमा रहेको रातोमाटे भन्ने ठाउमा भरुवा बन्दुक सहित रहेका ५÷६ जनाको समूहले उनीहरुमाथि गोली प्रहार गरेको जिल्ला प्रहरी कार्यालय, चितवनका प्रहरी नायव उपरीक्षक शान्तिराज कोइरालाले जानकारी दिए।





Comments

comments

1712