भरतपुरमा गोली चल्यो

भरतपुर महानगरपालिका–२५ शुक्रनगरमा गएराति एक घरका परिवारलाई गोली प्रहार गरी घाइते बनाएर लुटपाट गरिएको छ।

जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी प्रमुख प्रहरी उपरीक्षक दीपक थापाले दिएको जानकारीअनुसार एकान्त ठाउँमा घर भएका ३३ वर्षीय गङ्गाराम महतोमाथि गोली प्रहार गरिएको छ भने उनका आमा ५६ वर्षीया आशा साहुनी महतो, बहिनी २५ वर्षीया रामकुमारी महतोको टाउकामा धारिलो हतियार प्रयोग गरी घाइते बनाइएको छ । हारगुहार गरेपछि हेर्न पुगेका छिमेकी ६० वर्षीय साहुराम महतोलाई पनि उनीहरुले कुटपिट गरेका छन् ।

महतोकी श्रीमती २७ वर्षीया कुन्ती महतोसमेत बेहोस भएको प्रहरीले जनाएको छ । उनीहरुलाई कुटपिट गरी घरमा रहेको रु एक लाख ५० हजार, दुई थान सिक्री, एक थान आँैठी, एक थान बाला, एक थान मङ्गलसुत्र र चारवटा मोबाइल लुटेराले लगेको थापाले बताए ।

घाइतेको चितवन मेडिकल कलेजमा उपचार भइरहेको छ । गङ्गारामको टाउकाबाट कटुवा पेस्तोलको गोली झिकिएको छ भने आमा साहुनीको टाउकामा रगत जमेको प्रहरीले जनाएको छ । अन्यको अवस्था खतरामुक्त रहेको छ ।

राति ११ः४५ बजेको समयमा आएका तीनजना अपरिचित व्यक्तिले गोली प्रहार र धारिलो हतियार एवम् ह्यामर प्रयोग गरी आक्रमण गरेर लुटपाट गरेको थापाले बताए । घटनालगत्तै प्रहरी नायब उपरीक्षक नेतृत्वको टोलीले अनुसन्धान थालेको र हेटौँडाबाट कुकुरसहितको अनुसन्धान टोली आउँदै गरेको उहाँले बताए। रासस





Comments

comments

Leave a Reply

17910