हङकङ र भारतमा बसेर नेपालमा नेटवर्किङ धन्दा

विदेशमा बसेर विभिन्न व्यक्तिले नेपालमा नेटवर्किङ व्यवसायको जालो फैलाउन थालेका छन्।

नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी) ले आइतबार वानेश्वरमा छापा मारी एकै स्थानबाट एक सय दुईजनालाई पक्राउ गरेको खबर नयाँपत्रिकाले छापेको छ।

‘क्वु नेट’ का नाममा पिरामिड शैलीको नेटवर्किङ व्यवसायमा संलग्न गिरोहलाई सिआइबीले पक्राउ गरेको हो । पक्राउ परेकामध्ये १४ जना गिरोहका प्रमुख व्यक्ति भएको र उनीहरूविरुद्ध नेटवर्किङ ठगी मुद्दामा कारबाही अघि बढाइएको सिआइबीकी एसपी मीरा चौधरीले बताइन्। प्रहरीले मुद्दा दायर गरेकामा प्रकृति बुढाथोकी, श्वेता बस्नेत, सिर्जना सिंह, अंकिता श्रेष्ठ, विल्कप श्रेष्ठ, क्षितिज पौडेल, नरेश मल्ल, ओम गुरुङ, विशन गुरुङ, किरण जोशी, सुमीत मानन्धर, सौरभ गोयन्का, समीत श्रेष्ठ र प्रमेश मानन्धर छन् । उनीहरूमध्ये सुमीत श्रेष्ठ सो कम्पनीका नेपाल प्रमुख भएको खुलेको छ । वानेश्वरको सिद्धार्थ फुडल्यान्डमा तालिम दिइरहेको अवस्थामा सिआइबीले छापा मारी क्वु नेटमा आबद्ध एक सय दुईजनालाई पक्राउ गरेको छ।

उनीहरूले प्रतिव्यक्तिसँग न्यूनतम तीन लाख ५० हजार रुपैयाँ उठाई बैंककलगायत देशको भ्रमणसहित धेरैवटा आकर्षक प्याकेज बेच्ने गरेका थिए।

गिरोहका नाइकेहरू भने हङकङमा रहेको सिआइबीकी एसपी मीरा चौधरीले बताइन् । जसमा केही नेपालीसमेत रहेको खुलेको छ।

महानगरीय प्रहरी परिसर काठमाडौंले गत महिना ‘विन विन मल्टि ट्रेडिङ’ नामको नेटवर्किङ कम्पनीका नाममा नेटवर्किङ चलाउने अभिनाश गुरुङलाई पक्राउ गरेको थियो । सो गिरोहका नाइके उदित भन्ने भारतीय नागरिक हुन् । उनले भारतमै बसेर नेपालमा हजारौँ व्यक्तिलाई सदस्य बनाइसकेका थिए । सो समूहका नेपाल नाइके याम मामा भनिने यामराज तामाङ भएको र उनी फरार रहेको महानगरीय प्रहरी परिसर काठमाडौंका डिएसपी सिद्धिविक्रम शाहले बताए।

विगतमा गोल्ड क्वेस्ट, युनिटी, हर्बाेलगायत नेटवर्किङ कम्पनीका नाममा नेपालमा पटकपटक ठगी भइसकेको छ । सर्वोच्च अदालतले १६ माघ ०६६ मा यस्तो व्यवसायलाई अवैध भएको फैसला गरिसकेको छ । तर, पछिल्लो समय विभिन्न नाममा उनीहरू सक्रिय हुन थालेका प्रहरी अधिकारीहरू बताउँछन्।





Comments

comments

Leave a Reply

18358