काठमाडौंः नेपाललले हवाई सुरक्षाको क्षेत्रमा पछिल्लो उल्लेख्य सुधार गरेको दावी गरिरहेका बेला अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ)ले वृहत् अध्ययन तथा मूल्यांकन (अडिट) गर्ने भएको छ ।
आइकाओको दुई सदस्यीय टोलीले मंगलबार (आज)देखि नेपाली आकाशको अडिट सुरु गर्ने खबर कारोवारले छापेको छ।
टोलीले मंगलबारदेखि असार २७ सम्म नागरिक उड्डयन प्राधिकरणसहित केही एयरलाइन्सहरूको अडिट गर्ने कार्यक्रम छ।
आइकाओका क्याप्टेन भोउड्री युजेनी र एरोनटिकल इञ्जिनियर एडमन्ड बोहल्यान्ड अडिटका लागि नेपाल आएको नागरिक उड्डयन प्राधिकरणका प्रवक्ता विरेन्द्र श्रेष्ठले जानकारी दिए ।
पछिल्ला केही वर्षदेखि आइकाओले नेपाललाई ‘सिग्निफिकेन्ट सेफ्टी कन्सर्न’ (एसएससी) सूचिमा राखेको छ । नेपाल आएको टोलीको अडिटपछि एसएससी हट्यो भने प्राधिकरणले युरोपेली आयोगलाई उनीहरूको ‘हवाई सुरक्षा सूची’बाट नेपाललाई हटाउन आग्रह गर्नेछ ।
एसएससीबाट हटाउने वा राखिने भन्ने कुरा अडिटरहरूको हातमा रहेकाले उनीहरूले दिने प्रतिवेदनको आधारमा आइकाओले निर्णय गर्ने श्रेष्ठले जानकारी दिए । “नेपालको सूचकहरूमा सुधार भएकोले आगामी तीन महिनामा नेपाल एसएससीको सूचीबाट बाहिरिने हाम्रो अपेक्षा छ,” श्रेष्ठले भने ।
आइकाओले विश्वभरका मापन गर्ने ८ वटा सूचकांकमा नेपाल पनि पुग्न लागेको क्यानले दावी गरेको छ । यसअघि २००९ मा पनि यस्तै अडिट गर्न आइकाओको टोली आएको थियो।