पोखरामा यसरी मनाइयो २३ औं विश्व आदिवासी दिवस

हुम तमु / एचकेनेपाल डट कम –
पोखरा, २५ साउन। कस्केली आदिवासी जनजातिहरुले २३ औं विश्व आदिवासी दिवस पोखरामा भव्यताका साथ मनाए। अधिकार, प्रतिनीधित्व र सुशासनका लागि आदिवासी जनजातिको अडान, पहिचानसहितको संविधान संशोधन हाम्रो साझा अभियान नाराका साथ र्याली र समारोह आयोजना गरी आदिवासी दिवस बनाएको हो।

नेपाल आदिवासी जनजाति महासंघ जिल्ला समन्वय परिषद कास्कीद्धारा आदिवासी जनजाति संघसंस्थाको सहभागीतामा पोखरा चिप्लेढुंगाबाट झाँकीसहितको र्याली शुरु गरी भिमसेनचोक, पालिखेचोक, नदिपुर हुदै नेपाल छन्त्याल संघ कास्कीमा पुगी समारोहमा परिणत भएको थियो । समारोहको प्रमुख अतिथि नेपाल आदिवासी जनजाति महासंघका केन्द्रीय उपाध्यक्ष गणेशलाल थकालीले दीप प्रज्वलन गरी उद्घाटन गर्नुभयो।

कार्यक्रममा शुभकामना व्यक्त गर्नुहुदै प्रमुख अतिथी थकालीले संविधान अधुरो र अपुरो भएकाले संशोधन गरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्ने बताउनुभयो । आदिवासी जनजातिसँग सरकारले धेरै पटक सहमति सम्झौता गरे पनि कार्यान्वयन नगरिएकाले आदिवासी जनजातिले अधिकार प्राप्त गर्न नसकेको बताउनुभयो । उहाँले भन्नुभयो, अधिकार प्राप्तिका लागि एकता आन्दोलन नगरे प्राप्त अधिकारहरु पनि खोसिदै जानेछन् । बालानन्द आयोगले आदिवासी जनजाति प्रतिकुल हुने गरी तयार पारेको स्थानीय तह पुनसंरचनाको विरोध गर्दा गर्दै स्थानीय तहको समेत निर्वाचन गरी लागु भएको छ, यदाकदा पहिचानजनित स्थानीय तहको नामाकरण हटाउने षडयन्त्र भईरहेको उपाध्यक्ष थकालीले बताउनुभयो । यसरी नै जनजाति उत्थान प्रतिष्ठान नै खारेज गर्ने षडयन्त्रका विरुद्ध आन्दोलन गर्नुपर्ने अवस्था आएकाले अधिकारका लागि सबै आदिवासी जनजातिलाई एकताबद्धताका लागि आव्हान गर्नुभयो।

नेकपा माओवादी केन्द्र नेता एवं कास्की इञ्चार्ज राजकाजी गुरुङ करणले पहिचानसहितका जातिय अधिकारका लागि, जातिय उत्पिडनका विरुद्ध एकताबद्ध हुनुपर्नेमा जोड दिनुभयो । राजनीतिक परिवर्तनबाट प्राप्त उपलब्धिलाई संस्थागत गर्न वा जोगाउनकै लागि पहिचानको मुद्धामा केही समय ओझेलमा रहेको जस्तो गरे पनि पहिचान र अधिकारका मुद्धालाई शसक्त बनाइने बताउनुभयो।

संघीय समाजवादी कास्कीका अध्यक्ष दीपक तामाङले आदिवासी जनजाति आफ्नो अधिकार प्रति सचेत हुन नसकेकै कारण दमन, उत्पिडनका साथै अधिकार कटौती हुदै गएको बताउनुभयो । उहाँले अधुरो अपुरो संविधान संशोधन गरी आदिवासी जनजातिका अधिकार सुनिश्चित गर्न आदिवासी जनजातिहरुको एकतावद्ध आन्दोलन जरुरी रहेको बताउनुभयो।

अखिल नेपाल आदिवासी जनजाति महासंघ केन्द्रीय उपाध्यक्ष भिम श्रीसले विश्व आदिवासी दिवसको शुभकामना व्यक्त गर्नुहुदै प्रतिगामी संविधान खारेज गरी सबैको अधिकार सुनिश्चित भएको संविधान लेखिनुपर्ने बताउनुभयो । आदिवासी जनजातिलाई सधै भर्याङ मात्रै बनाउदै आएकाले सजग हुन आग्रह गर्नुहुदै १४ प्रदेशसहितको नयाँ नेपाल निर्माण हुनुपर्ने बताउनुभयो।

नेपाल आदिवासी जनजाति संघ कास्कीका सभापति जितबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिको एकताबाट मात्रै अधिकार प्राप्ति हुने बताउनुभयो । उहाँले आदिवासी जनजातिको अधिकार सुनिश्चितताका लागि आइ एल ओ १६९ कार्यान्वयन हुनुपर्दछ भन्नुहुदै आदिवासी जनजातिको राजनीतिक चेतना अपरिहार्य भएको बताउनुभयो।

आदिवासी जनजाति युवा महासंघका केन्द्रीय उपाध्यक्ष राम थापाले आदिवासी जनजाति अगुवाहरुको पार्टी र व्यक्तिगत स्वार्थका कारण आदिवासी जनजाति आन्दोलन सशक्त हुन नसकेको बताउनुभयो । अधिकार कटौती हुदै गएकोले आदिवासी जनजातिले सदन र सडकबाट एकताबद्ध आन्दोलन गर्नुपर्ने बताउनुभयो।

लोकतान्त्रिक आदिवासी जनजाति महासंघ कास्कीका पुर्ण ह्योल्मोले नेपालको संविधान २०७२ संशोधन गरी आदिवासी जनजातिको अधिकार सुनिश्चित गरिनुपर्नेमा जोड दिनुभयो । उहाँले आदिवासी जनजातिको एकता र आन्दोलनको अहिलेको आवाश्यकता भएको बताउनुभयो।

नेपाल आदिवासी जनजाति महासंघ कास्कीका निवर्तमान अध्यक्ष पानबहादुर घर्तीले जारी गरिएको संविधानले आदिवासी जनजाति माथि बेइमान गरेको बताउनुहुदै अधिकार सुनिश्चित गर्नका लागि संविधान संशोधन अपरिहार्य भएको बताउनुुभयो । उहाँले आदिवासी जनजातिको एकतात्मक आन्दोलनले मात्र अधिकार लेखिने बताउनुभयो।

नेपाल मगर संघ कास्कीका अध्यक्ष पुर्णबहादुर रानामगरले शुभकामना व्यक्त गर्नुहुदै विगतका आन्दोलनहरु उपलब्धिमुलक हुन नसक्दा तमुवान, मगरात, तामसालिङ पहिचानहरु ओझेलमा परेको बताउनुभयो । अधिकार कटौती हुदै गएकाछन् आदिवासीहरु जागरुक हुनुपर्दछ, एकतावद्ध आन्दोलनले संविधान संशोधन गर्न बाध्य बनाउन सक्नु पर्ने बताउनुभयो।

राष्ट्रिय आदिवासी जनजाति महिला महासंघ कास्कीकी अध्यक्ष राजकुमारी भुजेलले शुभकामना व्यक्त गर्नुहुदै अधिकार विनाको संविधान संशोधन गरिनुपर्ने बताउनुभयो।

नेपाल आदिवासी जनजाति पत्रकार महासंघ फोनिज कास्कीका पुर्व अध्यक्ष हुमबहादुर गुरुङले शुभकामना व्यक्त गर्नुहुदै आदिवासी जनजातिको स्वपहिचान, अधिकार र अस्तित्वका बारेमा सचेत हुनुपर्ने बताउनुभयो । जारी संविधानले प्राप्त अधिकार समेत कटौती गरिएकाले अधिकार सुनिश्चित गर्न कसैको झोले बनेर जनजातिलाई नै निल्ने, खाल्डामा हाल्ने, धोका दिने र सत्ताका लागि दुरुपयोग नगर्न चेतावनी दिनुभयो।

कार्यक्रममा आदिवासी बुद्धिजिवी डा.गहेन्द्रमान उदास र लोकबहादुर थापाले कविता बाचन गर्नुभएको थियो भने नेपाल तामाङ घेदुङ कास्की, थकाली सेवा समिति पोखरा र नेपाल मगर संघ कास्कीका कलाकारहरुले साँस्कृतिक प्रस्तुति गरेका थिए।

आदिवासी जनजाति महासंघ कास्कीका अध्यक्ष धर्मबहादुर गुरुङको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष सुवेदार हरिमान तामाङ र सञ्चालन सचिव बमबहादुर छन्त्यालले गर्नुभएको थियो।





Comments

comments

Leave a Reply

19223