चीनको चाहानाः ‘नेपाल डोक्लम समस्याबारे तटस्थ कायमै राखोस्’

चीनले डोक्लम समस्याबारे नेपालले तटस्थ कायमै राखोस् भन्ने चाहना राखेको छ। जानकार कूटनीतिक स्रोतका अनुसार नेपालले डोक्लम मुद्दामा यतिबेला लिएको पोजिसनलाई चीनले सकारात्मक रूपमा लिएको छ।

नेपालले डोक्लम मामिलामा तटस्थता कायमै राखोस् भन्ने आग्रह गर्नु पनि चिनियाँ उपप्रधानमन्त्री वाङ याङको जारी नेपाल भ्रमणको एउटा एजेन्डा रहेको भ्रमणबारे जानकार एक कूटनीतिक अधिकारीले बताए। प्रधानमन्त्री शेरबहादुर देउवाको आसन्न भारत भ्रमणमा डोक्लम समस्याबारे छलफल तथा भ्रमणपछि आउने संयुक्त वक्तव्यमा उल्लेख नहोस् भन्ने चिनियाँ चाहना देखिएको अधिकारीहरूले बताए।

‘डोक्लम चीनको भूभाग हो। चीनले सडक बनाउँदै गर्दा भारतीय सैनिकले हस्तक्षेप गरी निर्माण कार्यमा अवरोध गरेपछि मात्र डोक्लममा तनाव देखिएको हो। नेपालले यस मामिलामा आफ्नो तटस्थ नीति कायम राखोस् र प्रधानमन्त्री देउवाको भारत भ्रमणमा यो मुद्दा नबनोस् भन्ने चीन चाहन्छ’, एक चिनियाँ अधिकारीले सोमबार भने। ती चिनियाँ अधिकारीले चीनले नेपालसँग डोक्लम मुद्दामा नेपालको समर्थन नखोजेको बताए।

चीन र भुटानबीच डोक्लम क्षेत्रमा देखिएको सीमा विवादमा भारतीय सैनिक हस्तक्षेपपछि उत्पन्न तनावले चरम रूप लिएसँगै चीन र भारतबीच सीमायुद्ध हुन सक्ने आशंका व्याप्त भएका बेला चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको छ।

डोक्लममा चीन र भुटान दुवैको दाबी छ। चिनियाँ सेनाले दुई महिनाअघि डोक्लम क्षेत्रमा सडक निर्माण गरिरहँदा भारतले सेना प्रयोग गरी रोकेपछि चीन र भारतबीच तनाव बढेको छ।

नेपालको परराष्ट्र मन्त्रालयले वाङको भ्रमण डोक्लम समस्यासँग नजोडिएको बताएको छ। ‘चिनियाँ उपप्रधानमन्त्रीको भ्रमण पूर्वनिर्धारित हो। यो आकस्मिक होइन। डोक्लम क्षेत्रबारे चीन, भुटान र भारतबीच देखिएको विवादसँग जोडेर यो भ्रमणलाई लिन जरुरी छैन’, उपप्रधान तथा परराष्ट्रमन्त्री कृष्णबहादुर महराले भने। उनले नेपाल डोक्लम समस्या युद्धबाट नभई शान्तिपूर्ण वार्ताबाट समाधान होस् भन्ने चाहेको बताए।

‘हामीले यो विवादमा कुनै पक्षको पनि समर्थन गरेका छैनौँ। यस मामिलामा हाम्रो तटस्थ रहने नीति स्पष्ट छ’, उनले हालैको अन्तरक्रियामा पत्रकारसँग भनेका थिए। चीन र भारतका काठमाडौंस्थित राजदूतसँग नेपालको पोजिसन स्पष्ट पारिसकिएको उनले बताए। उनले चीन र भारत दुवैले नेपाललाई डोक्लम मुद्दामा समर्थन गर्न दबाब नदिएको बताएका थिए। तर, यही साता नेपाल भ्रमण गरी फर्किएकी भारतीय विदेशमन्त्री सुष्मा स्वराजले प्रधानमन्त्री देउवासँग डोक्लम मुद्दाबारे एकल भेटमा कुराकानी गरेको र आसन्न देउवाको भ्रमणमा सो मुद्दा उठ्न सक्ने चिनियाँ पक्षको आशंका देखिएको नेपाली अधिकारीले बताए। अन्नपूर्णमा खबर छ।

चिनियाँ उपप्रधानमन्त्री काठमाडौंमा

चिनियाँ उपप्रधानमन्त्री वाङ याङ नेपालको तीनदिने औपचारिक भ्रमणमा सोमबार साँझ काठमाडौं आइपुगेका छन्।पर्यटन तथा संस्कृतिमन्त्री जितेन्द्र देवले उपप्रधानमन्त्री वाङ नेतृत्वको २१ सदस्यीय चिनियाँ उच्चस्तरीय प्रतिनिधिमण्डललाई त्रिभुवन विमानस्थलमा ६ः१५ बजे स्वागत गरेका थिए। चीनबाट झन्डै ६ वर्षपछि उच्चस्तरीय भ्रमण भएको हो। तत्कालीन चिनियाँ प्रधानमन्त्री वेन जिया वाओले सन् २०१२ जनवरी १४ मा नेपालको संक्षिप्त भ्रमण गरेका थिए। त्यसयता चीनबाट मन्त्री स्तरभन्दा माथिल्लो तहको नेपाल भ्रमण भएको थिएन।

वाङसँग दुई जना उपमन्त्री, एक सहायकमन्त्री, दुई चिकित्सक, एक सुरक्षा अधिकारीसहित २१ जना छन्। चिनियाँ उपप्रधानमन्त्रीलाई होटल सोल्टीमा बस्ने व्यवस्था मिलाइएको छ। उनले सरकारका वरिष्ठ उपप्रधानमन्त्री विजय गच्छदारसँग मंगलबार मध्याह्न होटल सोल्टीमा औपचारिक द्विपक्षीय वार्ता गर्दै छन्। त्यसलगत्तै भ्रमणमा चीनले नेपाललाई सहयोग उपलब्ध गराउनेसम्बन्धी तीन समझदारीपत्रमा बुधबार हस्ताक्षर हुनेछ। गच्छदारले चिनियाँ उपप्रधानमन्त्रीको सम्मानमा दिवाभोज दिनेछन्।

मंगलबारै वाङले माओवादी अध्यक्ष पुष्पकमल दाहाल र एमाले अध्यक्ष केपी शर्मा ओलीसँग होटल सोल्टीमा भेट्नेछन्। बुधबार बिहानदेखि कीर्तिपुरस्थित नेसनल आयुर्वेदिक रिसर्च सेन्टर भ्रमण, उद्योग वाणिज्य महासंघ, उद्योग परिसंघका पदाधिकारीसँग भेटवार्ता तय भएको छ।

राष्ट्रपति विद्या भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बुधबार अपराह्न शिष्टाचार भेटवार्ता तय भएको छ। बिहीबार बिहान वाङ बेइजिङ फर्किनेछन्। ८ः३० बजे परराष्ट्रसचिव शंकरदास बैरागीले चिनियाँ उपप्रधानमन्त्रीलाई विमास्थलमा बिदाइ गर्नेछन्। भ्रमणमा चीनले नेपाललाई थप आर्थिक तथा प्राविधिक सहयोग उपलब्ध गराउनेछ। त्यस्तै, पुनर्निर्माणका लागि एक अर्ब चिनियाँ आरएमबी अनुदान सहयोग सम्झौतामा हस्ताक्षर हुनेछ।

चीनले सन् २०१५ देखि २०१८ सम्मका लागि तीन अर्ब चिनियाँ आरएमबी उपलब्ध गराएको भए पनि हालसम्म एक अर्ब मात्रै उपयोग भएको छ। अर्थसचिव शान्तराज सुवेदीका अनुसार पेट्रोलियम, ग्यास र खानीको अन्वेषणका लागि चीनले सर्वेक्षण गर्नेसम्बन्धी अर्को समझदारीपत्रमा हस्ताक्षर हुनेछ। नेपालमा चिनियाँ लगानी भित्र्याउनेसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर हुने अर्थसचिव सुवेदीले जानकारी दिए।

पुष्पकमल दाहाल नेतृत्वको सरकारले आवश्यक पूर्वतयारी नगरेपछि अक्टोबरका लागि चिनियाँ राष्ट्रपति सी जिनपिङको प्रस्तावित नेपाल यात्रा रद्द भएको थियो। चीनबाट उच्चस्तरीय भ्रमणका लागि कांग्रेस-माओवादी गठनबन्धन सरकारले कूटनीतिक पहल जारी राखेका थिए। यहीबीच राष्ट्रपति सीनिकट रहेका चिनियाँ उपप्रधानमन्त्रीको नेपाल भ्रमण भएको हो। जानकार स्रोतका अनुसार नोभेम्बरपछि वाङ चिनियाँ कम्युनिस्ट पार्टीको सात सदस्यीय स्थायी समितिमा निर्वाचित हुनेछन्।





Comments

comments

Leave a Reply

19287