नेटवर्क मार्केटिङ ठगी धन्दाः नक्कली सिक्का बेच्न पाँचतारेमा सम्मेलन

ग्र्याभिटीका मास्टर माइन्ड अविनाश साह –
डा. जाफर नामका पाकिस्तानी नागरिकले गत ३१ मे र ३ जुनमा काठमाडौंको र्‍याडिसन होटेलबाट एक प्रवचन दिए, जुन फेसबुक लाइभ भयो, युट्युबमा समेत राखिएको छ। १ जुनमा बुटवलमा त्यस्तै प्रवचन भयो। त्यो प्रवचन क्रिप्टोकरेन्सी ‘वानक्वाइन’बारे थियो। त्यति मात्रै होइन, उनले एक साता काठमाडौं र धुलिखेलका होटेल तथा रिसोर्टमा बसेर नेटवर्किङका लिडर भनिने ५० जनालाई तालिम दिएका थिए।

वानक्वाइनमा नेपालका तर्फबाट ठगको नेतृत्व गर्नेमा गोविन्द श्रेष्ठ रहेको त्यही भिडियो हेर्दा प्रस्ट हुन्छ। उनका मुख्य सहयोगीमा हीरा भण्डारी, चुडाबहादुर थापा, पंकज बजगाईं, इन्द्रबहादुर कार्की, राज श्रेष्ठ भरत श्रेष्ठ, अशोक श्रेष्ठ र फिरोज बजगाईंलगायत छन्। उनीहरूसहित अन्य ५० जनालाई डा. जाफरले नेटवर्किङको तालिम दिएका थिए।

नेपालमा हजारौँले वानक्वाइन खरिद गरिसकेको ती लिडर र लगानीकर्ताको भनाइबाट पुष्टि हुन्छ। वानक्वाइनको वेबसाइटका अनुसार यसको मुख्य कार्यालय बुल्गेरियामा छ। त्यस्तै दुबईलाई केन्द्र बनाएर यसको कारोबार हुने गरेको छ। दुबईमा बस्ने देव भट्टराईले यसको मार्केटिङ गरिरहेका छन्। अन्य खाडी मुलुकमा समेत यसको कारोबार भइरहेकाले त्यहाँ रोजगारीमा रहेका नेपालीहरू यसबाट ठगिएका हुनसक्ने अनुमान छ। वानक्वाइनलाई बेलायतमा पंकज बजगाईंले नेपाली समुदायमा नेतृत्व गरेको खबर जनार्दन बराल, उमेश पौडेलले आजको नयाँ पत्रिकामा लेखेका छन्।

ठूला होटेलमा अड्डा
ठगहरूले काठमाडौंलगायत प्रमुख सहरका तारेहोटेललाई अड्डा बनाएर ठगीधन्दा सञ्चालन गरिरहेका हुन्। काठमाडौं र विभिन्न सहरका तारेहोटेलमा विभिन्न विदेशी मोटिभेटरलाई ल्याएर नेटवर्क व्यवसायमा लाग्नका लागि उत्प्रेरित गराइरहेका छन्। यसअघि पुरानो बानेश्वरको सिद्धार्थ फुडल्यान्डमा प्रहरीले नेटवर्कको भाषण दिइरहेका वेला ५० जनालाई पक्रिएपछि सानातिना होटेलमा ठगको गिरोह बस्न छाडेका छन्। ती क्वाइनका लिडरहरूले ठूलो रकम खर्च गरेर तारेहोटेलमा सेमिनार गर्ने गरेका छन्। तारेहोटेलमा प्रहरीले छापा नमार्ने तथा अन्य स्थानभन्दा धेरै सुरक्षित रहने भएका कारण धेरै रकम खर्च गरेर पनि तारेहोटेल रोज्ने गरेका हुन्।

देशभर नक्कली क्रिप्टोकरेन्सीको जालो
नक्कली क्रिप्टोकरेन्सीको जालो देशभर फैलिएको पत्ता लागेको छ। नयाँ पत्रिकाले विभिन्न स्रोतबाट पाएको जानकारीअनुसार मुलुकका अधिकांश भागमा पुगेर ठगहरूले नक्कली र गैरकानुनी क्रिप्टोकरेन्सी बिक्री गर्ने गरेका छन्। मुलुकका ठूला सहरमा मात्रै होइन, साना–साना बजार केन्द्रसम्म पुगेर क्रिप्टोकरेन्सीमार्फत ठगी गरेका छन्। अहिलेसम्म ठगहरूले मुलुकभित्र र बाहिरका नेपालीबाट अर्बौँ रुपैयाँ ठगी गरिसकेको अनुमान नेपाल राष्ट्र बैंक स्रोतको छ।

नेपालमा यसअघि नेटवर्क मार्केटिङमार्फत ठगी गर्नेमध्ये अधिकांश यो पेसामा आबद्ध भएको पाइएको छ। उनीहरूले ग्र्याभिटी क्वाइन मात्रै होइन, इथर, बिटक्वाइन, अल्टक्वाइन, वानक्वाइन, एटिसीक्वाइन, बस्र्टक्वाइन, जिसिआरलगायत क्वाइनमार्फत ठगी गरिरहेका छन्। नेपालमा १५ भन्दा बढी क्रिप्टोकरेन्सीको नाममा ठगी भइरहेको पनि राष्ट्र बैंक स्रोतले जानकारी दिएको छ।





Comments

comments

Leave a Reply

19719