क्वालालम्पुरको जलान अम्पाङस्थित नेपाली दूतावासमा हतास मुद्रामा भेटिए, रोशन भट्ट ।
रावाङको एक कागजे झोला बनाउने कम्पनीमा पाँच वर्षदेखि कार्यरत उनी पछिल्ला दुई वर्षयता भने गैरकानुनी कामदारको हैसियतमा थिए।
काठमाडौं बसुन्धरास्थित घरबाट बिरामी आमाले बारम्बार बोलाएपछि उनले मन थाम्न सकेनन् । त्यसैले फर्कन हतारिएका थिए।
तर गैरकानुनी हैसियतमा भएकै कारण उनलाई घर फर्किन महँगो परिरहेको थियो । २६ सय रिंगिट अर्थात् नेपाली ६५ हजार नेपाली रुपैयाँ ‘दलाल’ को हातमा सुम्पेर घर फर्कने मेलोमेसो मिलाउँदै थिए उनी । भट्टले तिरेको पैसा ‘आवश्यक’ रकमभन्दा एक तिहाइले बढी हो।
वैशाखयताको चार महिनामा मात्रै उनीजस्तै ६ हजार ६ सय ८३ गैरकानुनी हैसियतका नेपाली कामदारले ट्राभल डकुमेन्ट बनाएको दूतावासको रेकर्ड छ । अहिले ‘विधिसम्मत’ रूपमा प्रत्येक कामदारले घर फर्कंदा हवाई शुल्कसहित कम्तीमा २३ सय रिंगिट खर्च गर्नुपर्ने देखिन्छ।
जसमा ट्राभल डकुमेन्टका लागि १ सय ६० रिंगिट, फोटोका लागि २० रिंगिट, घरफिर्ती प्रक्रियाका लागि मलेसिया सरकारले तोकेको कम्पनी हारफासेले लिने सेवा शुल्क ५ सय ५० रिंगिट, मलेसियाको अध्यागमन कार्यालयमा बुझाउनुपर्ने ४ सय रिंगिट र हवाई शुल्क समेटिएको खबर कान्तिपुरमा छ।