कोरियामा नेपाली चलचित्र ‘कबड्डी’ निकै रुचाइए

रमेश खावाजु / एचकेनेपाल डट कम-
सउल, दक्षिण कोरिया। दक्षिण कोरियामा कास्की परिवारद्वारा जुन २२ तारिख आईतावारको दिन सउलमा प्रदर्शन गरिएको नेपाली चलचित्र कबड्डीलाइ नेपाली दर्शकहरुले निकै रुचाएका छन्।

कोरियाको राजधानी सउलको झोगेसा गुम्बाको हलमा दिउसो २:३० प्रमुख अतिथि नेपाली राजदूताबासका उपनियोग प्रमुख राजाराम बर्तौलाले पानसमा बत्ती बाली उद्घाटन गरेपछि चलचित्रको प्रदर्शन गरिएको थियो। चलचित्रको मध्यान्तरपछि गरिएको छोटो औपचारिक कार्यक्रममा कास्की परिवारका फुटबल ,भलिवलका युवा खेलाडीहरु तथा महिला खेलाडीहरुलाइ पनि सम्मान गरिएको थियो।

कार्यक्रममा श्रम सहचारी अनिल गुरुङ , एन आर एन कोरियाका अध्यक्ष बिनोद कुँवर ,नेपाल आदिबासी जनजाति महासंघ कोरियाका अध्यक्ष भक्त शेरचन ,वोमन फर वोमन अध्यक्ष जुनु गुरुङलगायत विभिन्न संस्थाका प्रतिनिधिहरु तथा पत्रकारहरु पनि सहभागी भएका थिए।

कोरियामा नेपाली कला संस्कृतिको सम्मान र संवर्धनको लागि नेपाली चलचित्रलाई मायाँ गरौं भन्ने मुल उद्धेश्यका साथ कास्की परिवारले प्रदर्शन गरेको नेपाली मौलिक चलचित्र कबड्डी हेर्न आउने नेपाली दर्शकहरुको भिड नै लागेको थियो। ३०० सिटको क्षमता भएको हलमा करिब ५०० भन्दा बढी नेपाली दर्शकहरुले उभिएर तथा भुँइमा बसेर भए पनि उक्त चलचित्र हेरेका थिए।

४ बर्ष अघि दक्षिण कोरिया प्रवेश गरेकी पुजा भट्टचनले कोरियामा बसेर एकदमै रमाइलो तथा नेपाली कलाकारहरुको बेजोड अभिनय भएको चलचित्र कबड्डी हेर्न पाउदा एकदम खुसि लागेको तथा दयाहाङ राईको अभिनय तथा डाइलग एकदम मनपरेको बताइन। त्यसै गरि ३ बर्ष ११ महिनाअघि दक्षिण कोरिया प्रवेश गरेका बिक्रमले चलचित्र एकदम दामी छ र कबड्डीको डाइलग ” मनपरेको जुत्ता पो जुत्ता नत्र खाली खुट्टै ठिक छ” खुबै मन परेको बताए।

चलचित्रमा नायक दयाहाङ राईले मुस्ताङमा थकाली परम्परा अनुसार आफ्नी सोल्टिनीलाई हक जमाउन गरेका अनेक प्रयास तथा डाइलगहरुले चलचित्र हेर्न आएका दर्शकहरुलाई हाँस्न बाध्य पारेको देखिन्छ। सोल्टी सोल्टीनीको कथा बोकेको यस चलचित्रले मुस्ताङको संस्कृतिलाई अति नै सरल र सहज रुपमा उतारिएको छ भने ठगिमा परेका विदेश जाने नेपालीहरुको भोगाइहरु पनि समेट्न खोजेको छ। गाउंघरमा बोलिने साधारण चलन चल्तिका सम्बाद र कुनै पनि बनावटी नलाग्ने सहज् अभिनयले गर्दा चलचित्र शुरुदेखि अन्तसम्म एकनासले हलमा दर्शकलाई बाँधेर राख्न सफल देखिन्छ। ठाउंको अभाबमा नेपाली नेपाली साथीहरु उक्त चलचित्र हेर्न नपाई फर्केको कास्की परिवारका अध्यक्ष नबिन गुरुङले बताए।

सउलको सफल प्रदर्शनबाट हौसिएका अध्यक्ष गुरुङले मौलिक तथा नेपालीपन झल्किएको चलचित्र कबड्डी हेर्न चाहना भएका कोरियाबासी नेपाली साथीहरुलाई मध्यनजर गर्दै अब छिटै नै बुसान तथा आन्सान शहरहरुमा उक्त चलचित्र प्रदर्शन गर्ने बताए।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

199