बेलायतमा १०८ औं महाकवि देवकोटा जयन्ती

कोमल मल्ल / एचकेनेपाल डट कम –

लण्डन, ९ अक्टोबर। बेलायतमा रहेका नेपालीहरूको सबै भन्दा जेठो साहित्यिक संस्था नेपाली साहित्य विकास परिषद यूकेको आयोजनामा १०८औ महाकवि लक्ष्मीप्रसाद देवकोटा जयन्ती बिभिन्न कार्यक्रमसहित भव्यरुपले मनाइयो।

स्थानीय वेष्ट लण्डनस्थित एबीआई कलेज एक्टनमा आयोजित समारोहलाई सम्वोधन गर्नुहुँदै प्रमुख अतिथि परिषद्का पदेन संरक्षक राजदूत वरिष्ठ साहित्यकार डा. दुर्गाबहादुर सुवेदीले साहित्यिक सिर्जनात्मक क्षमता र कृतिहरूको आधारमा हामी महाकवि लक्ष्मीप्रसाद देवकोटाको स्थान विश्व स्तरका विशिष्ठ साहित्यकारहरूकै पंक्तिमा रहेकोछ भनेर गर्वकासाथ भन्न सक्दछौ र नेपाली साहित्य धनी भएको शान राख्न सक्दछौँ भन्नु भयो।

महाकवि देवकोटा सरल,दानी र असिमित प्रतिभाका धनी थिए भन्नुहुँदै वरिष्ठ साहित्यकार राजदूत डा. सुवेदीले नेपाली साहित्य विकास परिषदले महाकविको जन्मजयन्ती मनाउने लगायतका साहित्यिक गतिविधिहरू गरेर महाकविप्रति सच्चा सम्मान पु-याएको चर्चा गर्नुभयो।

समारोहका अर्का विशिष्ठ वक्ता परिषद्का वरिष्ठ सल्लाहकार यती सँस्थाका पूर्व अध्यक्ष डा. राघवप्रसाद धिताल ओबीईले महाकवि लक्ष्मीप्रसाद देवकोटा सामाजिक चिन्तनका योद्धा कवि हुन्। उनको मुनामदन कृतिले नेपाली समाजमा समानता समावेसीको आवाज उसैवेला उठाएको थियो भन्नु भयो। उहाँले देवकोटा नेपाली साहित्यका प्रेरणाका श्रोत र गर्वका शिखर हुन भन्नुहुदै नेपाली साहित्य विकास परिषद्ले आफ्नो स्थापनाकाल सन् १९९५ देखि नै देकोटा जयन्ती भानु जयन्ती लगायतका साहित्यिक गतिविधिहरू गर्दै आएर वेलायतमा धेरै साहित्यकारहरू जन्माउन प्रेरणादायी र नेतृत्वदायी भूमिका खेलेको कुरा चर्चा गर्नु भयो।

अध्यक्षको आसनबाट सम्वोधन् गर्नुहुँदै परिषदका संस्थापक तथा अध्यक्ष साहित्यकार सुरेशजङ्ग शाहले नेपाली साहित्यलाई फराकिलो बनाउने र समाजलाई हेर्ने सोच बदल्ने महाकविका कृतिहरूले तत्कालिन अवस्थामा एउटा सामाजिक क्रान्तिको उजागर नै गरेका थिए भन्नु भयो । अध्यक्ष शाहले लन्डनमा कुटनितिक सेवामा रहँदा परिषद्का कार्यक्रमहरूमा सकृय सहभागिता राख्नु हुने लेखक हरिकुमार श्रेष्ठको कृति आज विमोचन गर्न पाउँदा परिषदलाई गर्व लागेको चर्चा गर्नु भयो।

यस अघि समारोहमा स्वागत मन्तव्य दिनुहुँदै परिषद्का सहअध्यक्ष कवि डा. गोपाल पौड्यालबाट र वरिष्ठ सहअध्यक्ष कोमल मल्ल र महासचिव डा. सुधा श्रेष्ठले उद्घोषण गर्नुहुँदै नेपाली साहित्य आकाशका चम्किला तारा महाकवि देवकोटाको जन्मजयन्ती मनाएर नेपाली साहित्य विकास परिषद्ले प्रवासमा साहित्यको प्रेरणा जगाउने काम गरेको मात्र नभइ नेपाली भाषा साहित्य र राष्ट्रियतालाई समेत फैलाउने कार्य गरेकोछ भन्नु भयो।

समारोहको आरम्भमा महाकविको तस्विरमा प्रमुख अतिथि तथा सहभागीहरूबाट माल्यार्पण गरी श्रद्धासुमन अर्पण गरिएको थियो । उक्त अवसरमा कोसेली संस्थापक अध्यक्ष कलाकार मदन थापाले सुमधुर मंगल धुन प्रस्तुत गर्नु भएको थियो भने मुना मदनको केही अंश संगीतवद्ध गीत प्रस्तुती वरिष्ठ कलाकार मदन थापाका साथमा परिषदका पूर्वअधक्ष कवि हरिसिंह थापा, वरिष्ठ गायिका सीतु खरेल र कोसेली अध्यक्ष गायिका शर्मिला सिंहद्वारा मार्मिकरूपले प्रस्तुत गरिएको थियो।

समारोहमा पहिला वेलायतमा कुटनितिज्ञ भएर बसिसक्नु भएका पूर्वराजदूत हरिकुमार श्रेष्ठको ‘मैत्री एक्प्रेस’ संस्मरण पुस्तकको लोकार्पण प्रमुख अतिथि राजदूत वरिष्ठ साहित्यकार डा. तथा परिषदका पदेन संरक्षक डा.दुर्गा बहादुर सुबेदी, नेपाली साहित्य विकास परिषदका संस्थापक तथा अध्यक्ष शुरेसजंग शाह,परिषदका निवर्तमान अध्यक्ष खगेन्द्र नेपाली, वरिष्ठ सहअध्यक्ष कोमल मल्ल, महासचिब डा.सुधा श्रेष्ठ द्वारा लण्डनमा सामुहिकरूपमा लोकार्पण गरिएको थियो।

परिषदका वरिष्ठ सहअध्यक्ष कोमल मल्लले विमोचित पुस्तक र सर्जक हरिकुमार श्रेष्ठबारे संक्षिप्त प्रकाश पार्नुभएको थियो।

कार्यक्रमको दोस्रोचरणमा कविता वाचनतर्फ भाग लिने कविहरूमा वसन्त रायक्षेत्री, वीरेन्द्र कुँवर, वाल कवयित्री जुनी लामिछाने, कवि खगेन्द्र नेपाली, लक्ष्मी भुषाल, घन बहादुर थापा, डा.गोपाल पौड्याल, प्रेरणा थापा, डा.सुधा श्रेष्ठ, हरिसिंह थापा, कोमल मल्ल र सुरेशजङ्ग शाह हुनुहुन्थ्यो।

अन्तमा कार्यक्रम सफल बनाउन आर्थिक एवम् भौतिक सहयोग पुराउनु हुने डा. राघवप्रसाद धिताल, डा.जनककुमारी धिताल, मदन थापा, घन बहादुर थापा मगर, हरिसिंह थापा,श्रीमती देवकुमारी थापा, कृष्ण भट्ट, वीरेन्द्र कुँवर, वसन्त रायक्षेत्री, कोहिनूर मल्ल श्रेष्ठ र डा. गोपाल पौड्यालमा धन्यवाद ज्ञापन गरिएको थियो।





Comments

comments

Leave a Reply

20031