देशभरका शव राजधानीमा थुप्रिदै

गैरविशेषज्ञ चिकित्सकले गर्ने शव परीक्षण (पोस्टमार्टम) प्रति विश्वस्त हुन नसक्दा उपत्यकाबाहिरका मृतकका परिवार मृत्युको कारण पत्ता लगाउन शव राजधानी ल्याउन बाध्य भएका छन् । शव परीक्षण गर्न एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिनमा विशेषज्ञता हासिल गर्नुपर्ने प्रावधान छ।

उपत्यकाबाहिर भरतपुर, पोखरा र धरानमा मात्र विशेषज्ञ सेवा उपलब्ध रहेकाले अन्य ठाउँका शव परीक्षण गर्न राजधानी नै ल्याउनुपर्ने बाध्यता छ ।शंकास्पद मृत्यु भएकाको शव परीक्षणको चाप महाराजगन्ज मेडिकल कलेजमा परेको छ । बाहिरबाट शव धेरै आउन थालेपछि कलेजको फरेन्सिक मेडिसिन विभागलाई त्यसको व्यवस्थापनमा कठिनाइ परेको छ । भूकम्पपछि आईसीआरसीले विभागलाई दिएको ४८ वटा शव अटाउने मोबाइल कन्टेनर बिग्रिएर थन्किएको छ । संस्थाले बनाइदिएको शव राख्ने ‘कोल्ड रुम’ पनि बन्द हुन पुगेको छ ।विभागमा पछिल्लो डेढ वर्षमा २२ सयभन्दा धेरै शव परीक्षण भएको छ । तीमध्ये आधा उपत्यकाबाहिरका हुन् ।

विभागमा उपत्यकाबाटै पनि दैनिक ५(६ वटा शव परीक्षणका लागि ल्याइने गरेको छ । विभागका प्रमुख डा। प्रमोद श्रेष्ठका अनुसार पूर्व र पश्चिमबाट शव आउने गरेको छ । शवको चाप बढेपछि मृतकका परिवारलाई लामो समय कुर्नुपर्ने अवस्था छ ।
उनले बाहिरबाट सवारीसाधनले ठक्कर दिएका, झुन्डिएका, विष खाएका, हत्या भएका व्यक्तिका शव परीक्षणका लागि आउने गरेको छ । ‘शंकास्पद रूपमा मृत्यु भएकाको शव परीक्षण राम्ररी होस् र न्याय पाउन सकियोस् भन्ने चाहना सम्बन्धित परिवारको हुन्छ । त्यसका लागि सबैले यहाँ नै शव पोस्टमार्टम गर्न ल्याउने गर्छन्’, उनी भन्छन्, ‘तर, यहाँ जनशक्ति र ठाउँ अभावमा हामीलाई काम गर्न धेरै गाह्रो भइरहेको छ ।’

विभिन्न मुलुकका मेडिकल कलेजमा प्रयोगात्मक कक्षाविना पनि एमबीबीएस उत्तीर्ण चिकित्सकले गरेको शव परीक्षण भरपर्दो नहुने विज्ञले बताएका छन् । नेपालका कतिपय निजी मेडिकल कलेजमा पनि शव परीक्षणको प्रयोगात्मक कक्षाविनै एमबीबीएस तह अध्ययन/अध्यापन हुँदै आएको छ। शव परीक्षणका लागि एमबीबीएसपछि थप तीन वर्ष फरेन्सिक मेडिसिन विषयमा विशेषज्ञता हासिल गरेको हुनुपर्ने खबर दिपा दाहालले अन्नपूर्ण पोष्टमा लेखेकी छन्।





Comments

comments

Leave a Reply

20048