शारीरिक अभ्यासका लागि ‘उपत्यकामा मर्निङ वाक घातक’

काठमाडौं २१ आश्विन। स्वास्थ्यको ख्याल गर्दै उपत्यकाबासी बिहान र साँझको समयमा घरबाहिर (मर्निङवाक र इभिनिङ वाकमा) निस्कने गर्छन्। तर, एक अध्ययनले उपत्यकामा बिहान ६ बजेदेखि ९ बजेसम्म र साँझ ७ बजेदेखि ९ बजेसम्म शारीरिक अभ्यासका लागि घरबाहिर निस्कनु झन् घातक रहेको देखाएको छ।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गकाठमाडौं उपत्यकामा खस्कँदो वातावरण प्रदूषणसम्बन्धमा गरेको ६ महिना लामो अनुसन्धानले उपत्यकामा मर्निङ र इभिनिङ वाक गर्दा श्वासप्रश्वास, मुटु, आँखा र छालाका रोगको जोखिम देखिको समाचार नागरिक दैनिकमा छापिएको छ।

अनुसन्धान प्रतिवेदनअनुसार यो समयमा काठमाडौं उपत्यकाभित्र फोक्सोसम्म सिधै पस्नसक्ने धुलोका कणको मात्रा अत्यधिक पाइएको छ। ‘उपत्यकाको वायुमा यस्ता कण बिहान ६ बजेदेखि ९ बजेसम्म नेपालको वाह्य वायुसम्बन्धी राष्ट्रिय मापदण्डभन्दा करिब दुई गुणा बढी पाइएको छ,’ अध्ययन प्रतिवेदनमा भनिएको छ, ‘वाह्य वायुमा पाइने २.५ माइक्रोमिटरभन्दा कम आकारका धुलोका कण बिहान ५ बजेबाट लगातार रुपमा बढ्दै जाने र ९ बजेसम्म अत्यधिक रहने, त्यसपछि विस्तारै घट्दै गए पनि साँझ ६ देखि ९ बजेको समयमा फेरि बढ्दै जाने क्रम पाइएको छ।’
प्रतिवेदनअनुसार यो समयमा यस्ता कणले मानिसलाई रोगबाट छुटकारा दिलाउनुको सट्टा धुलोको कण सोझै फोक्सोमा पुगी झन रोगी बनाउने खतरा छ। वाह्य वायुमा पाइने २.५ माइक्रोमिटर (पिएम २.५) भन्दा कम आकारका धुलोका कण सास लिँदा सोझै फोक्सोमा पुग्न सक्छन्।

नेपाल स्वास्थ्य अनुसन्धान परिषदले गत फागुनदेखि साउनसम्म उपत्यकाको हावा प्रदूषण अवस्थाबारे अनुसन्धान गरेको थियो। नेपालले २.५ माइक्रोमिटरसम्मको धुलोका कणको मात्रा ४० माइक्रो ग्राम प्रतिघनमिटरसम्मलाई सामान्य मानेको भए पनि उपत्यकाको बिहानको हावामा यसको मात्रा ८०.५ सम्म पाइएको छ।





Comments

comments

2033