धरानलाई मृत शहर हुनबाट जोगाऔं

प्रेस विज्ञप्ति
धरानलाई मृत शहर हुनबाट जोगाऔं भन्ने एकसुत्रीय उद्देश्यसहित विगतमा स्थापित यो संगठनले गरेको ‘डु अर डाई’ सम्मको आन्दोलनका कारण धरानमा वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको स्थापना भएको सबैलाई थाहा छ।

तपाईहरु मध्ये धेरै यो आन्दोलनमा प्रत्यक्ष सहभागी पनि हुनु भएको थियो । प्रतिष्ठानको स्थापना पछि आफ्नो उद्देश्य पूरा भयो भन्ने निष्कर्षका साथ निस्क्रिय भएको यो संगठन अहिले आएर पूनः क्रियाशील हुनु पर्ने बाध्यता आईपरेको छ।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भईरहेका बेथिति, गैर बैधानिक क्रियाकलाप, अनुत्तरदायी नेतृत्व र त्यस अन्तर्गतका निकायहरुलाई थिति र विधि अनुसार सञ्चालन गर्न र जिम्मेवारी अनुसारको जवाफदेहिता वहन गराउन पुन: दबावमूलक कार्यक्रमहरु लिएर जानु पर्ने भएकोले फेरि एकपटक यो संगठनको आवश्यकता महशुश गरिएको छ।

त्यसैले विगतमा जस्तै धरानलाई मृत हुनबाट जोगाउने अभिलाषा भएका तमाम धरानबासी युवाहरु आवश्यक पर्दा शिरमा कात्रो बाँधेर मैदानमा उत्रने तयारीका साथ संगठनमा आबद्ध हुन आव्हान गर्दछौं।
संगठनको आबद्धताका लागि कडा अनुशासन र चेन अफ कमाण्डमा रहनु पर्ने अनिवार्य शर्त हुन् भने कुनै पनि राजनैतिक दल तथा तिनको भातृसंगठनको सदस्यता लिएको व्यक्ति संगठनमा आबद्धताका लागि अयोग्य मानिनेछ। व्यक्तिगत स्वार्थका लागि संगठनलाई प्रयोग गरिएको पाईएमा तथा माथि उल्लेखित शर्तको उल्लंघन भएको पाईएमा तुरुन्तै सदस्यता खारेज गरिनेछ।

यद्यपि राजनैतिक दलमा आबद्ध राजनीतिकर्मीहरुले संगठनको आन्दोलनलाई समर्थन तथा ऐक्यबद्धता जनाउन भने सक्नेछन्।

संगठनको गतिविधि जानकारीका लागि फेसबुक पेज निर्माण गरिएको छ जसको लागि डब्ल्यू डब्ल्यू डब्ल्यू डट फेसबुक डट कम स्ल्यास ईन्डीपेन्डेन्ट युथ अर्गनाईजेसन
www.facebook.com/independentyouthorganisation
मा भ्रमण गर्न सकिनेछ । यही पेज मार्फत आबद्धताको सूचना सम्प्रेषण गरिनेछ। अर्गनाइजेसनप्रति ऐक्यबद्धताको लागि सो पेज लाईक गरिदिन पनि सबैमा आग्रह गर्दछौं।

वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको गहना हो। यसको संरक्षण र सम्बद्र्धन गर्नु प्रत्येक धरानबासीको जिम्मेवारी हो। अतः वीपी प्रतिष्ठानलाई बचाउने अभियानमा सहभागी हुन सबैमा आव्हान गर्दै प्रतिष्ठानलाई भविष्यमा दक्षिण एशिया कै उत्कृष्ट स्वास्थ्य केन्द्रको रुपमा विकास गर्नका लागि के गर्नु पर्छ भन्ने यहाँहरु सम्पूर्ण शुभचिन्तकहरुको विचारको अपेक्षा गर्दछौं। त्यसका साथै वीपी प्रतिष्ठान भित्रका तमाम बेथितिहरुको फेहरिस्त सार्वजनिक गरिदिन हुन पनि हार्दिक आग्रह गर्दछौं ।

राजकुमार कार्की
संयोजक





Comments

comments

2122