गैरआवासीय नेपालीलाई ढुक्कसँग नेपालमा लगानी गर्न प्रधानमन्त्री कोइरालाको आह्वान

एचकेनेपाल डट कम संवाददाता-
काठमाडौं, २६ असोज। प्रधानमन्त्री सुशील कोइरालाले गैरआवासीय नेपालीलाई ढुक्कसँग नेपालमा लगानी गर्न आह्वान गरेका छन्। गैरआवासिय नेपाली दिवस ‘एनआरएन डे’ को अवसरमा शनिवार राजधानीमा आयोजित बिशेष कार्यक्रममा प्रधानमन्त्री कोइरालाले अहिले लगानीका लागि बातावरण बन्दै गएकाले एनआरएनलाई लगानी गर्न आग्रह गरेका हुन्।

अबको युग विकासको युग भएकाले एनआरएनहरु विकासको साझेदारी बन्नुपर्ने बताउँदै कोइरालाले लगानीको मार्गमा समस्या भए सरकारले समाधान गर्ने बताए। गैरआवासीय नेपाली दिवस ‘एनआरएन डे’ लाई शनिवार प्रधानमन्त्री सुशिल कोइरालाले एक कार्यक्रमवीच उद्घाटन गरेका छन्।

मुलुक शान्ति, लोकतन्त्र, स्थायीत्वतर्फ अगाडी बढिरहेको छ साथै संविधान निर्माण हुने क्रम तिब्र रुपमा अगाडि बढिरहेकाले मुलुकमा अब विकास गर्नुपर्ने र यसमा सबै क्षेत्रबाट सहयोग हुनुपर्ने बताए। गैरआवासीय नेपाली संघको एक दशक लामो अभियानमा नेपालमा विभिन्न क्षेत्रमा लगानी आइरहेकोले त्यो लगानी बढाउनुपर्ने र विदेशी लगानीलाई हौसला दिनुपर्ने बताए। ‘सरकारले गैरआवासीय नेपालीको समस्या बुझ्दै गएको छ र सुविधा पनि दिदै गएको छ, त्यसैले तपाईहरु ढुक्क भएर लगानी ल्याउनुस्’ उनले भने।

कार्यक्रममा पूर्वप्रधानमन्त्री तथा एमाओवादीका नेता डा.बाबुराम भट्टराईले संसारका विभिन्न देशमा रहेका गैरआवासिय नेपालीले आर्जित गरेको ज्ञान, सिपबाट नेपालमा केहि गर्नुपर्ने बताए। ‘विभिन्न मुलुकमा बसेर हामीले केहि न केहि सिकेका छौं, अब देश बनाउनुपर्छ ’ उनले भने ‘हामी एकदुई जना मात्र धनी भएर हुँदैन देश नै धनी भयो भने बल्ल गर्व गर्ने बेला आउँछ, त्यसैले सबै मिलेर देशको विकास गर्नुपर्छ।’

कार्यक्रममा परराष्ट्रमन्त्री महेन्द्रबहादुर पाण्डेले ‘एकपटकको नेपाली सधैको नेपाली’ का लागि ‘एकपटकको प्रतिबद्धता सधैको प्रतिबद्धता’ हुनुपर्ने बताए। हामी जहाँ भएपनि नेपाली हो तर विकासको प्रतिबद्धतामा हामी जहाँबाट भएपनि सहयोग पु¥याउनुपर्छ, उनले भने।

कार्यक्रममा एनआरएनएका अध्यक्ष शेष घलेले देशमा लगानीको वातावरण बनाउन आग्रह गरेका छन्। उनले भने‘ देशमा राजनीतिक स्थिरता नदेख्दा नदेख्दै पनि हामीले लगानी ल्याईरहेका छौँ, यदि प्रशासनिक झण्झट नभएर राजनीतिक रुपमा स्थिर वातावरण भएमा लगानी गर्न हामी जस्ता धेरै ब्यक्तिहरु तयार रहेका छन्।’ उनले अहिले भइरहेको लगानी पनि रिस्क मोलेर गरेको भन्दै नाफा कमाउन भन्दा पनि स्वदेश प्रतिको भावनाले लगानीहरु भइरहेको प्रष्ट पारे।

भखैरे मात्रै गैरआवासीय नेपालीको लागि नागरिकता प्रदान गर्ने बारेमा भएको निर्णयप्रति स्वागत गर्दै अध्यक्ष घलेले संविधानसभाले अन्य नागरिक सरहकै नागरिकता प्रदान गर्नेमा बिश्वास ब्यक्त गरे।

कार्यक्रममा सामान्य प्रशासन मन्त्री लालबाबु पण्डित, एनआरएनका प्रमुख संरक्षक रामप्रताप थापा, संस्थापक अध्यक्ष उपेन्द्र महतो, निर्वमान अध्यक्ष जीवा लामिछाने, उद्योग बाणिज्य महासंघका अध्यक्ष प्रदीपजंग पाण्डेलगायतले एनआरएन अभियानका बारेमा आफ्नो धारणा राखे।





Comments

comments

2153