मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ: मनीषा कोइराला

पाँच वर्ष बितिसके । क्यान्सरपछिका यी वर्षहरूलाई फर्केर हेर्दा धेरै कुरा मनमा खेल्न थाल्छन् । क्यान्सरअघि जीवनप्रति मेरो दृष्टिकोण खासै उत्साहजनक थिएन । उदास फिक्का खैरो रंग जस्तो ।

म आफ्नो फिल्मी करिअरसँग विरक्त भइसकेकी थिएँ । आफ्ना सफलता, चमकधमक र पैसाले पनि मनको उत्साह बढाउन नसक्ने अवस्था थियो मेरो । निजी जीवनमा पनि केही सम्बन्धबाट गुज्रिसकेकी थिएँ ।

यो अर्थ नलागोस् कि म आफ्ना सफलता र सम्बन्धहरूलाई महत्वहीन ठान्थें । तर, बाहिरी सफलता र चमकधमकका माझ मेरो मनको एउटा कुना उदास रहन्थ्यो । मेरो छटपटाहटको कारण यही नै थियो भनेर ठ्याक्कै भन्न त सकिन्न । तर, सजिलै भन्न सकिन्छ भित्र खुसी थिइनँ म । म एउटा खराब जीवनशैली बाँच्दै थिएँ ।

र, यस्तो बेलामा क्यान्सरले मलाई हान्यो, जब म मानसिक तवरले सबैभन्दा कमजोर थिएँ । म बाच्न चाहन्थेँ । म बाँच्नलाइ संघर्ष गर्न थालेँ । प्रार्थना गर्न थालेँ । सबैभन्दा राम्रो उपचार पाउने ठाउँमा पुर्‍याइए पनि अकल्पनीय पीडा भोगेँ मैले। अन्नपूर्ण पोष्टमा मनीषा कोइरालाको भोगाई छापिएको छ।

त्यो पीडाको समुद्रमै डुब्छु कि जस्तो पनि नलागेको होइन । बाँच्छु भन्ने आशा नजागेको पनि होइन । मर्नु र बाँच्नुको दोसाँधमा समय बिताएँ । एक समय यस्तो आयो, जब म पूरै भत्किसकेकी थिएँ, भित्रबाटै । तर, बिस्तारै, स्थितिमा थोपाजत्रो परिवर्तन हुँदै गयो । मैले थोपा थोपा गरी आफ्नो झरिसकेको जीवनलाई बटुलेँ ।

अप्रेसनपछि म एकैपल्ट दौडेर पहिलाजस्तो हुन चाहन्थेँ । नसकिने रहेछ । त्यसपछि मैले दौडने बाटो छोडेँ । बिस्तारै घस्रने बाटो रोजेँ । सुरुमा म १० पाइला हिडेँ । त्यसपछि सय पाइला । यस्तै गरी गरी म दिनको दुई माइल हिँड्न सक्ने भएँ । समय लाग्यो । तर, मैले हार मानिनँ । बिस्तारै म सपना देख्न थाले । जीवनले दोस्रो मौका दियो भने कसरी बाँच्ने ?यस्तो सपना देख्न थालेँ ।

उपचारको सुरुवाती अवस्थामा छँदा मसँग खाना खाने शक्ति पनि थिएन । त्यति कमजोर थिएँ । भाइले मलार्ई एउटा उसिनेको अन्डा खुवाउन गर्नुपर्ने मिहिनेत म अझै झलझली सम्झन्छु । आफ्नो जवान छोरीलाई यो अवस्थामा देख्दा मेरा पिता र मातालाई परेको पीडा मेरो अनुमानभन्दा बाहिरको कुरा हो ।

मलाई लाग्छ, त्यसबखत मेरो अवस्थाले उहाँहरूलाई भित्रैबाट भत्काइसकेको होला । तर, यसबारे उहाँहरूले कहिलै कुरा गर्नुभएन । आमा मेरा लागि पोसिलो खाना बनाउनुहुन्थ्यो । चिनेका नचिनेका सबैलाई सोधेर उहाँले मलार्ई चाहिने पोसिलो खाना खुवाउनुभयो ।

मेरो उपचारले मभित्र रहेको क्यान्सरलाई मार्‍यो । तर, उपचारले क्यान्सरलाई मात्र मारेन । मेरो शरीरको प्रतिरोधात्मक शक्तिलाई समेत मार्‍यो । त्यो मेरो लागि भयकारी थियो । क्यान्सरको उपचारले रोगलाई मात्र मार्दैन, कुनै पनि कुरा जो छिटो बढ्छ, त्यसलाई पनि नष्ट गरिदिन्छ । मेरो कपाल, मेरा आँखीभौँ सबै नष्ट भए ।





Comments

comments

Leave a Reply

21852