विप्लवका ५ कार्यकर्ता बेपत्ता पारिएको आशंका

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका पाँच कार्यकर्तालाई जिल्ला अदालत सुनसरीको प्रवेशद्वारबाट नेपाल प्रहरीले नियन्त्रणमा लिई अवस्था सार्वजनिक नगरेको भन्दै राष्ट्रिय मानवअधिकार आयोगले चासो व्यक्त गरेको छ।

अदालतको ढोकाबाटै नियन्त्रणमा लिएको भनिएका सुरज राई, रोशन ढकाल, लक्ष्मण कार्की, सुरेशकुमार राई र मोहन कार्कीलाई सार्वजनिक गर्न आयोगले आग्रह गरेको छ । उसले मानवअधिकारको सम्मान र संरक्षण गर्न सुरक्षा निकायको ध्यानाकर्षण गरेको छ ।

आयोगले ती व्यक्ति ०७४ चैत १८ गते बन्दीप्रत्यक्षीकरणको आदेशले सुनसरी जिल्ला अदालतबाट रिहा भएलगत्तै साँझ ६ः२० बजे नेपाल प्रहरीले नियन्त्रणमा लिएको बुझिन आएको विज्ञप्तिमा उल्लेख छ । यससम्बन्धमा आयोगको टोलीले जिल्ला प्रहरी कार्यालय सुनसरीका प्रहरी नायब उपरीक्षक नारायण चिमरियासँग बुझ्दा उनीहरूलाई जिल्ला प्रहरी कार्यालय झापाले पक्राउ गरेको भनी जानकारी गराइएको तर झापा जिल्ला प्रहरी प्रमुख विष्णुकुमार केसीले भने उनीहरूलाई पक्राउ नगरेको भन्दै आयोग टोलीलाई जानकारी दिएका कारण उनीहरूको अवस्था बेपत्ता रहेको बुझिएको आयोगले जारी गरेको प्रेस विज्ञिप्तिमा उल्लेख छ । यस विषयमा लिखित जानकारी माग गरी आयोगको विराटनगर कार्यालयले सोमबारै सम्बन्धित सुरक्षा निकायसँग पत्राचारसमेत गरेको आयोगले जनाएको छ । अन्नपूर्णपोष्टमा खबर छ।





Comments

comments

Leave a Reply

22660