प्रधानमन्त्रीकै अगाडि बालुवाटारमा भनाभन

प्रधानमन्त्रीलाई भेट्न निर्मलाका आमाबाबुसहितको टोली सोमबार बिहान बालुवाटार पुगेको थियो । नेकपा नेतृ एवं सांसद निरु पालले प्रधानमन्त्रीले टोलीका तीन जनालाई मात्र भेट्न सक्ने जानकारी गराएकी थिइन् ।

तर, कञ्चनपुरदेखि नै आएको ११ जनाको सिंगो टोलीले भेट्न पाउनुपर्ने सर्त संघर्ष समितिले राखेपछि सबैलाई बालुवाटारमा बोलाइएको थियो ।

बालुवाटारमा प्रधानमन्त्रीसहित नेकपामा नेता भीम रावल, लेखराज भट्ट, कर्णबहादुर थापा, दीपकप्रकाश भट्ट तथा कांग्रेस नेता एनपी साउद र दिलेन्द्र बडुलगायत थिए ।

बैठकको सुरुवात गर्दै भीम रावलले आमा र बाबुमध्ये एकजनाले मात्र बोल्न पाउने सर्त राखेका थिए । त्यसैले आमा दुर्गादेवीले आफ्नो भनाई राखिन् ।

दुर्गादेवीपछि कांग्रेस नेता साउदले बोले । उनले घटनाको अनुसन्धानमा चरम लापरबाही भएको भन्दै गम्भीरताका साथ अनुसन्धान गर्न सरकारलाई अनुरोध गरे ।

साउदपछि संघर्ष समितिकी संयोजक मीना भण्डारीले आफूहरुले पनि बोल्न पाउनुपर्ने माग राखिन् । उनलाई बोल्ने समय दिइयो । भण्डारीले आफ्नो भनाईका क्रममा ‘भीम रावलको अभिव्यक्तिले जनता आक्रोशित भएको’ बताउनासाथ रावलले उनलाई रोके ।

‘अब म बोल्छु, यसमा मैले पनि आफ्ना कुरा राख्नुपर्नेछ, मैले प्रहरीले अनुसन्धान गर्नुपर्छ र दोषीलाई कारबाही हुनुपर्छ भनेको छु, न्यायको पक्षमा म अडिग छु, मेरो भनाइ तोडमोड गरेर प्रचार गरिएको हो,’ उनले आफ्नो प्रतिरक्षा गरे ।

आन्दोलन चर्किएको बेला रावलले एक रेडियो कार्यक्रममा कञ्चनपुरको मुद्दामा राजनीतिक उद्देश्य लुकेको भनेर टिप्पणी गरेकोमा विरोध भएको थियो ।

रावलले बोलिरहेकै बेला चर्को ढंगले विरोध गरिरहेकी एक महिलालाई सुरक्षाकर्मीले बाहिर निकाले । त्यसपछि वातावरण उत्तेजित भयो । नेकपा नेता कर्णबहादुर थापाले टोलीका महिलाहरुलाई लक्षित गर्दै ‘तपाईहरुको कसको खोल ओढेर आउनुभएको भन्ने हामीलाई राम्रोसँग थाहा छ’ भनिदिए ।

त्यसपछि महिलाहरुले कुनै दलको होइन, बलात्कृत बालिका र तिनका आमाबाबुको प्रतिनिधित्व गरेर आएको र देशको प्रधानमन्त्रीसँग आफ्ना कुरा राख्न पाउनुपर्ने भन्दै प्रतिवाद गरे । केहीबेर भनाभन भएपछि रावलले हस्तक्षेप गरेर दुवै पक्षलाई रोके ।

स्थिति शान्त बनाउँदै प्रधानमन्त्री बोल्न थाले, ‘म यो देशको प्रधानमन्त्री मात्र होइन, निर्मलाको अभिभावक पनि हुँ । हत्यामा संलग्न व्यक्ति जुनसुकै ओहोदाको भए पनि कारबाहीको दायरामा ल्याइन्छ, मेरो प्रतिबद्धता सुनेर तपाईंहरु घर फर्कनुस् भन्ने मेरो अनुरोध छ ।’ नयाँपत्रिकामा खबर छ ।





Comments

comments

Leave a Reply

24908