नुवाकोट : जिल्लाको उत्तरपूर्वी भेग दुप्चेश्वर गाउँपालिकास्थित घ्याङफेदीको घ्याङडाँंडामा शुक्रबार बेलुका भएको मिनिट्रक दुर्घटनामा ज्यान गुमाउनेको संख्या २० पुगेको छ।
१५ जना घाइतेको विभिन्न अस्पतालमा उपचार भइरहेको बताइएको छ।
शुक्रबार रातिसम्म १८ जनाको मत्यु भएकोमा उपचारका क्रममा शनिबार बिहान थप दुई जनाको मृत्यु भएको दुप्चेश्वर गाउँपालिकाका अध्यक्ष योविन्द्रसिंह तामाङले जानकारी दिएका छन्।
मृत्यु भएका मध्ये १७ जना पुरुष र ३ महिला रहेका छन् । हालसम्म ५ जनाको सनाखत भएको छ । सनाखत भएकामा शिखरबेँसीका १६ वर्षीय रितेश पण्डित, घ्याङफेदी सिसिपुका ३५ वर्षीय रिवल तामाङ, ४० वर्षीय आइत तामाङ रहेका छन् । सनाखत भएका अन्य दुई जनामा सिसीपुकै शुक्रमान तामाङ र सेनाम लामा रहेको गाउँपालिका अध्यक्ष तामाङले बताए ।
शनिबार बिहानैदेखि थप उद्धार कार्य जारी भइरहेको छ । दुर्घटनास्थल अप्ठेरो भीर रहेको र अत्याधिक चिसोका कारण उद्धारमा कठिनाई भएको तामाङले बताए। अन्नपूर्णपोष्टमा खबर छ।