कहाँ हराइन् खुस्बु ?

काठमाडौं, १७ कात्तिक। प्रेमी डन दिनेश अधिकारी ‘चरी’को ‘हत्या’ भएको भन्दै प्रहरीविरुद्ध जाइलागेकी मोडल खुस्बु ओली पछिल्लो समय गुमनाम छिन्। प्रहरी स्रोतका अनुसार उनी अहिले बेलायत पलायन भएकी छिन्।

भदौको पहिलो सातादेखि नै खुस्बु बेलायत पलायन भएकी हुन्। स्टुडेन्ट भिसामा उनी त्यहाँ बस्दै आएकी छिन्। खुस्बुले आफ्ना पूर्वप्रेमी अर्पण कोइरालाको योजनामा प्रहरीले चरीको हत्या गरेको आरोप लगाउँदै आएकी थिइन्। अर्पण पनि हालसम्म भारतमै रहेको समाचार नयाँपत्रिका दैनिकमा छापिएको छ।

प्रहरीको मोस्टवान्टेड सूचीमा रहेका चरीको गत २१ साउनमा भीमढुंगामा मृत्यु भएको थियो। प्रहरीले दोहोरो भिडन्तमा उनको मृत्यु भएको दाबी गर्दै आएको छ। महानगरीय प्रहरी अपराध महाशाखाले पिछा गर्ने क्रममा चरीले गोली हानेपछि भिडन्त हुँदा उनको मृत्यु भएको बताएको छ।

चरीका आफन्तले उनको हत्या भएको दाबी गर्दै प्रहरीमा जाहेरी लगे पनि प्रहरीले दर्ता गरेको थिएन। त्यसविरुद्ध उनीहरू रिट लिएर अदालतमा गएका थिए। अदालतले जाहेरी दरखास्त दर्ता नगर्नुको लिखित कारण माग गरेको छ। तर, हालसम्म रिटको फैसला भइसकेको छैन।

सो मुद्दामा समेत खुस्बुले कुनै चासो दिएकी छैनन्। ‘पैसाकै लागि खुस्बुले दिनेशलाई माया गरेकी रहिछिन्,’ चरीका एक साथी भन्छन्, ‘अब मरेपछि उनलाई के मतलब भयो र?’

सुरुमा चरीको परिवारसँग समेत मिलेर चरीको ‘इन्काउन्टर’विरुद्ध लागेकी उनी पछिल्लो समय गुमनाम भएकी छिन्। नेपालमा बस्दा प्रहरीले छानबिनमा तान्न सक्ने भयले उनी लन्डन भागेको आशंका गरिएको छ।

चरी इन्काउन्टरको घटनाले संसद्मा समेत हंगामा मच्चाएको थियो। एमाले सभासद्हरू राजेन्द्र पाण्डे, गुरु बुर्लाकोटीलगायतले उनको हत्या भएको भन्दै संसद्मा छानबिनको माग उठाएका थिए। तर, एमाले अध्यक्ष केपी ओली तथा गृहमन्त्री रहेका उपाध्यक्ष वामदेव गौतमले प्रहरीको पक्ष लिएपछि पाण्डेलगायत एमाले सभासद् तथा नेताहरू पछि हटेका थिए।

छानबिन नभई शव नै नउठाउने अडान लिए पनि मृत्यु भएको दुई सातापछि चरीको दाहसंस्कार गरिएको थियो। चरी धादिङ एमालेमा क्षेत्रीय उपाध्यक्षसम्म भएका थिए। एमालेकै संरक्षणमा उनले गुन्डागर्दी गर्दै आएका थिए।

सम्पत्तिको अनुसन्धान गर्दै छौँ : प्रहरी
प्रहरीले दिनेश अधिकारी चरी र खुस्बु ओलीको परिवारको सम्पत्ति छानबिन गरिरहेको छ। उनीहरूको सम्पत्तिको विवरण संकलन गरी सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागमा बुझाउने तयारी भइरहेको महानगरीय प्रहरी अपराध महाशाखाका अधिकारीहरूले बताएका छन्।

चरीले अर्काको नाममा धादिङको आँबुखोला हाइड्रोमा लगानी गरेको अनुसन्धानमा आबद्ध एक प्रहरी अधिकारीले बताए। खुस्बुको परिवार बस्दै आएको ललितपुरको सिभिल होम्सभित्रको घरमा पनि चरीको लगानी रहेको आशंकामा स्रोत खोज्ने काम भइरहेको प्रहरीले जनाएको छ। प्रहरीका अनुसार चरीको बैंक खाताहरूमा भने खासै पैसा भेटिएको छैन।





Comments

comments

2606