काठमाडौं – सरकारले मेलम्ची आयोजनको सुरुङमार्ग र हेडवक्सै निर्माणको जिम्मा पाएको इटालियन ठेकेदार कम्पनी सीएमसीसँग ठेक्का तोडेको छ।
काममा फर्कन दिइएको १४ दिनको समयसीमा सकिएपछि मेलम्ची खानेपानी आयोजनाले यस्तो निर्णय लिएको समाचार कान्तिपुर दैनिकले छापेको छ।
मेलम्ची खानेपानी विकास समितिको बोर्ड बैठकले सीएमसीसितको ठेक्का तोडी उसले राखेको बैंक धरौटी जफत गर्ने निर्णयसमेत गरेको छ । सीएमसीले ठेक्का सम्झौता गर्दा झन्डै साढे दुई अर्ब रुपैयाँ धरौटी राखेको छ।
समितिले शुक्रबार नै बैंकलाई पत्र पठाई उक्त रकम जफत गर्नेछ । सरकारले माघ ६ मा दुई साताभित्र काममा फर्कन सक्ने गरी ठेक्का रद्द गरेको पत्र (लेटर अफ टर्मिनेसन) सीएमसीलाई पठाएको थियो।