मन्त्री अधिकारीसहित ७ जनाको टुँडिखेलमा अन्तिम बिदाइ, अधिकारीको अन्त्येष्टि पोखरामा

काठमाडौं, ताप्लेजुङमा बुधवार हेलिकोप्टर दुर्घटनामा ज्यान गुमाएका पर्यटनमन्त्री रवीन्द्र अधिकारीसहित ७ जनालाई टुँडिखेलमा अन्तिम श्रद्धाञ्जलि दिइएको छ।

पर्यटनमन्त्री रवीन्द्र अधिकारीको पार्थिव शरीरमा प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय झण्डा ओढाएका छन्। राष्ट्रिय झण्डा ओढाएका बेला उनी निकै भावुक देखिएका थिए।

मन्त्री अधिकारीको पार्थिव शरीरमा नेकपा अध्यक्षद्वय केपी ओली र पुष्षकमल दाहाल प्रचण्डले पार्टीको झण्डा ओढाएका थिए।

राष्ट्रपति विद्यादेवी भण्डारी, उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री, मन्त्रीलगायत विशिष्ट व्यक्तिहरुले अधिकारीसहित सातै जना मृतकहरुलाई श्रद्धाञ्जलि अर्पण गरेका थिए। श्रद्धाञ्जलि कार्यक्रममा सर्वसाधारणहरु पनि उल्लेख्य उपस्थिति रहेको छ।

हेलिकप्टर दुर्घटनामा मन्त्री अधिकारीसहित यति एयरलाइन्सका प्रबन्ध निर्देशक आङछिरिङ शेर्पा, नेपाल नागरिक उड्डयन प्राधिकरणका उपमहानिर्देशक वीरेन्द्रप्रसाद श्रेष्ठ र निर्देशक धु्रव भोछिभोया, प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयका उपसचिव युवराज दाहाल, हेलिकप्टरका क्याप्टेन प्रभाकर केसी र मन्त्री अधिकारीका सुरक्षाकर्मी अर्जुनकुमार घिमिरेको निधन भएको थियो।

मन्त्री अधिकारीसहितको टोली तेह्रथुमको चुहान डाँडा एयरपोर्टको सम्भाव्यता अध्ययनपछि पाथीभरा दर्शन गरेर फर्कने क्रममा दुर्घटनामा  परेको थियो।

दिवंगतलाई विहीवार अन्तिम श्रद्धाञ्जलि दिने भनिए पनि पोस्टमार्टममा भएको ढिलाइका कारण आज गरिएको हो।

काठमाडौंमा श्रद्धाञ्जलि दिइसकेपछि आजै मन्त्री अधिकारीको पार्थिव गृह जिल्ला कास्कीमा लगेर अन्त्येष्टि गरिने भएको छ।

पोखरा प्रदर्शनी केन्द्रमा श्रद्धाञ्जलि दिएपछि नयाँ बजार, महेन्द्रपुल, रानीपौवा, हस्पिटल चोक लगायत हुँदै सेती नदीको रामघाटमा अन्त्येष्टि गरिने भएको छ।

भरतपोखरीको जामुनाबोटमा जन्मिएका मन्त्री अधिकारी कास्की क्षेत्र नं २ बाट संघीय संसदका लागि निर्वाचित भएका थिए।





Comments

comments

Leave a Reply

27106