माफ भए घर फर्कौंला, नभए हाँसीहाँसी फाँसी चढौंला

१९ वर्षदेखि साउदीको जेलमा फाँसी कुरिरहेका सन्तबहादुर श्रीमतीलाई पठाएको चिठीमा लेख्छन्- ‘म यहाँ अल्लाहलाई प्रार्थना गर्छु । तिमी त्यहाँ पशुपतिनाथसँग प्रार्थना गर ’

काठमाडौं, १० चैत । सन्तबहादुर पुनलाई विश्वास छ, ‘मान्छेको भाग्य मात्रै होइन आयु पनि पहिल्यै लेखिएको हुन्छ । पहिल्यै लेखिएको हुन्थेन र कर्मअनुसारको फल पाइन्थ्यो भने म पहिले नै माटोमा मिलिसकेको हुनेथिएँ !’ उनी पत्नी मायालाई बारम्बार भनिराख्छन्, ‘मलाई कहिले के पर्छ भनेर चिन्ता गर्नुपर्दैन । जुन दिन ममाथि घटना घट्छ, त्यो दिन मात्रै रुने हो । दुःख मान्ने हो । जति दिनसम्म बाँच्न पाइन्छ, त्यति दिनसम्म म अनलाइन आइहाल्छु ।’ कान्तिपुर दैनिकमा होम कार्कीले समाचार लेखेका छन्।

माया भने मनमा भने डर छ, सन्तबहादुर कुन दिन अफलाइन जाने हुन् ! १९ वर्षदेखि मृत्युदण्डको सजाय पर्खेर बसेका सन्तबहादुर साउदी अरबको कुरैयात जेलमा छन् । माया पर्वतको मोदी गाउँमा । झन्डै चार हजार किलोमिटर दूरीमा रहेका यी दुईलाई भूगोलले छुट्टाइदिए पनि इन्टरनेटले आमुन्नेसामुन्ने जोडेको छ । घण्टा–घण्टामा उनीहरूबीच भिडियो संवाद हुन्छ । ‘मलाई जेल परेको जस्तै लाग्दैन । तिमीलाई छुन नपाएको मात्रै त हो,’ सन्तबहादुर इमोमा भन्छन्, ‘जस्तो परिस्थिति सिर्जना हुन्छ । त्यसरी नै जिन्दगीको चोला चल्दोरहेछ ।’

केही वर्षअघिसम्म चिठी आएपछि मात्रै मायालाई लाग्थ्यो– श्रीमान् जीवितै छन् । अनि खुसी हुँदै गाउँघर, तीन छोरा र आफन्तको खबर समेटेर चिठी पठाउने गर्थिन् । अहिले छिनभरमै इन्टरनेटले सन्तबहादुरको हालखबर ल्याउँछ ।

२२ वर्षअघि सन्तबहादुर साउदी अरबको दक्षिण भेगस्थित गुरियतको नासफाह गाउँमा खेतीको काम गर्न पुगे । त्यो मजरामा उनीसँग गाउँले साथीभाइ पनि थिए । चार वर्षपछि बिदामा घर आए । घरबाट फर्केको ६ महिना हुँदै थियो । उनको साहुका भाइको भेडा चराउने सिरियन नागरिक हज गर्न मक्का गए । उनी हजबाट नफर्केसम्म झन्डै दुई सय भेडा चराउने जिम्मेवारी सन्तबहादुरलाई आयो ।

भेडा चराउने पहाड मजराबाट टाढै थियो । ओदह अइद हमोउद अल सरारी नाम गरको एउटा साउदी बारम्बार भेडा माग्न आउनथाल्यो । सन्तबहादुरले पहिलो दिन भेडा दिएनन् । दोस्रो दिन पनि आएर जबर्जस्ती गर्न खोज्यो । उनले एउटा बिरामी भेडा दिएर पठाए । त्यसपछि पनि ऊ भेडा लिन आइरहन्थ्यो ।

‘तिमीलाई भेडा दिन मिल्दैन, मलाई मालिकले मार्छ । मालिकसँग नै गएर माग,’ उनले ओदहलाई सम्झाए । तर, ती साउदीले टेरेनन् । नेपाली भेडागोठालालाई उनीले मान्छे नै गनेनन् । हप्कीदप्की गरेर, पिट्नै खोजे ।

‘ऊ मलाई मार्न अगाडि सरेजस्तो लाग्यो । मसँग साथमा भएको चक्कु चलाएँ, उसको पेटभित्र छिरेछ,’ सन्तबहादुरले घटना सम्झिए, ‘ऊ ठाउँको ठाउँ भयो । मैले आफूलाई पनि चक्कु हानें । मलाई घाइते अवस्थामा प्रहरीले फेला पारेर अस्पताल पुर्‍यो ।’
उनले प्रहरीसमक्ष नै नढाँटी भएको सबै बताइदिए । ‘हामी नेपाली आफू सिद्धिएर अर्कोका लागि ज्यान दिने जात रहेछौं । एउटा भेडाका लागि मैले ज्यान लिएँ । सायद त्यो मेरो मूर्ख इमानदारी रहेछ । भेडा लैजान दिएको भए के जान्थ्यो र ? तर, मलाई मेरो साहुको अगाडि शिर निहुराउन मन लागेन,’ उनी भन्छन्, ‘मेरो जिम्मा भेडाको रेखदेख गर्नु थियो । त्यो जिम्मेवारी पूरा गरें ।’

हत्या प्रमाणित हुन समय लागेन । सन्तबहादुरले सप्रमाण आफू दोषी रहेको बताइदिएपछि प्रहरीलाई थप अनुसन्धान गर्न समय लागेन । उनलाई दुई वर्षसम्म नजरबन्दमा राखियो । कसैसँग बोल्न र भेट्न दिइएन । कुरैयात अदालतले २०५८ जेठमा मृत्युदण्डको सजाय दिने फैसला सुनायो ।

मृतकका तीन छोरा थिए । बालक कान्छो छोरा १८ वर्ष पुगेपछि मात्रै मृत्युदण्डको कार्यान्वयनको विषयमा अर्को निर्णय गर्ने फैसला सुनाइयो । मृत्युदण्ड दिन सबै परिवारको सहमति चाहिने भयो । त्यतिन्जेलसम्म सन्तबहादुर जेलमै बस्नुपर्ने भयो ।

मृत्युदण्डको फैसला पाएपछि उनलाई कुरैयात जेलमा सारियो । ‘यो अपराधीहरू बस्ने घर हो,’ फोन सम्पर्कमा आएका सन्तबहादुरले जेलभित्रैबाट भने, ‘यही घरभित्र बाँच्न सिकें ।’

जेल निकै ठूलो छ । उनी ३ नम्बर भवनमा बस्छन् । त्यो भवनमा झन्डै २ सय कैदी कहिल्यै घट्दैनन् । ‘हत्यामा मृत्युदण्ड पाएकालाई फाँसी दिन समय लाग्दोरहेछ,’ उनले भने, ‘लागूऔषध मुद्दाकालाई त तुरुन्तै फाँसी दिन्छ ।’ यस्तो सजाय हरेक मंगलबार कार्यार्न्वयन हुन्छ । १९ वर्षदेखि सन्तबहादुरको जीवनमा मंगलबारे खड्को टरिरहेको छ ।





Comments

comments

Leave a Reply

27467