बारा-पर्सामा आएको हावाहुरी नभई ‘टोर्नाडो’ भएको पुष्टि

गत आइतबार बारा, पर्सामा आएको हावाहुरी ‘टोर्नाडो’ भएको पुष्टि भएको छ। जल तथा मौसम विज्ञान विभाग र ‘द स्मल अर्थ नेपाल’ले संयुक्त रूपमा गरेको प्रारम्भिक अध्ययनबाट यो तथ्य खुलेको हो । ‘टोर्नाडो’ सुनामीजत्तिकै शक्तिशाली हुरी भएको वैज्ञानिकहरूको भनाइ छ।

दुवै संस्थाका वैज्ञानिक टोलीले सेन्सेस्नल भू–उपग्रहबाट प्राप्त रेजुलेसनका तस्बिर अध्ययनबाट ‘टोर्नाडो हुरी’ भएको पत्ता लगाएको विभागका महानिर्देशक सुर्जकुमार वैद्यले जानकारी दिए।

बारा–पर्सामा हुरीबाट २८ जनाको मृत्यु भएको थियो । पाँच सयभन्दा धेरै घाइते भएका थिए । जसबाट १ हजार ३ सय घर भत्किएको प्रारम्भिक विवरण छ।

कसरी आउँछ ‘टोर्नाडो’ ?
‘टोर्नाडो’मा आकाशबाट बादलसहितको वायु सोली आकारमा धर्तीकेन्द्रित हुने गर्छ । टोर्नाडो हुरी सामान्यतया प्रतिघन्टा ४८ किलोमिटरको वेगमा आउने गर्छ । बारा र पर्सामा भने प्रतिघन्टा ९० किलोमिटरको वेगमा हुरी चलेको वैद्यले बताए । प्राप्त तस्बिरमा क्षतिले बनाएको मार्गको ट्रेलका साथै विभिन्न सञ्चारमाध्यमका भिडियोबाट वैज्ञानिकहरूले टोर्नाडो भएको पुष्टि गरेको उनले बताए । टोर्नाडो नेपालमा पहिलोपटक गएकाले जल तथा मौसम विज्ञान विभाग पूर्वानुमान महाशाखामा रेकर्डसमेत भएको छैन । यस्ता प्रकारका विनाशकारी हुरीको विषयमा विस्तृत जानकारीका लागि वैज्ञानिक अनुसन्धानका साथै स्थलगत अध्ययनको खाँचो रहेको वैद्यको भनाइ छ।

बंगलादेशमा १३ सयको मृत्यु
सन् १९८९ मा बंगलादेशमा टोर्नाडो हुरी जाँदा १३ सयभन्दा धेरैको मृत्यु भएको थियो । त्यतिवेला यो हुरीको बेग प्रतिघन्टा ४ सय १८ किलोमिटर भएको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । बाहिर बादलको घेरा र भित्र हावाको न्यून चाप हुने हुँदा यस्तो हुरीले छोएका हरेक भौतिक वस्तु उखेलिन्छन् । ‘टोर्नाडो’ आउँदा सुक्खा हुरीसहितको बादल र पानी भएको बादल गर्जँदै चट्याङ, असिना पर्ने अनि सँगै कडा आँधी उत्पन्न हुन्छ। नयाँपत्रिकामा खबर छापिएको छ।





Comments

comments

27899