गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल यसै वर्ष सञ्चालनमा आउने, पोखरा र निजगढ २ वर्षभित्रै

काठमाडौं, निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको ७५ प्रतिशत र पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थलको ४० प्रतिशत निर्माण कार्य सम्पन्न भएको सरकारले जनाएको छ।

निर्माणाधीन गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको बाँकी कार्य सम्पन्न गरी सन् २०१९ भित्रै सञ्चालनमा ल्याइने सरकारले लक्ष्य लिएको छ। आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा उल्लेख भएअनुसार पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल सन् २०२१ को शुरुदेखि सञ्चालन गर्ने गरी निर्माण कार्यमा तीव्रता दिइने सरकारको लक्ष्य छ।

त्यस्तै निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य गर्नुका साथै सन् २०२० मा मनाउन लागिएको नेपाल भ्रमण वर्षलाई टेवा पुग्ने हिसाबले ती विमानस्थल सञ्चालनको तयारी गरेको नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ । सरकारले भ्रमण वर्षबाट २० लाख पर्यटन नेपाल भित्र्याउने महत्वाकांक्षी योजना अघि सारेको छ।

चालू आर्थिक वर्षमा सरकारले पहिले देश अनि विदेश भन्ने नारासहित भ्रमण वर्षको तयारी थालेका थियो । त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल दैनिक २१ घन्टा सञ्चालनमा ल्याएको थियो भने सरकारले गत चैत १८ गतेदेखि असार १५ गतेसम्म राति १० बजेबाट विहान ८ बजेसम्म उडान अवतरण बन्द गरेर धावनमार्गमा नयाँ पिच राख्ने काम गरिरहेको छ।

धावनमार्ग निर्माण सम्पन्न भएसंगै विमानस्थल २४ घण्टानै सञ्चालनमा ल्याउन सकिने नागरिक उड्डयन प्राधिकरणको भनाइ छ । यससंगै नेपालको पर्यटन आगमनमा वृद्धि हुने अपेक्षा सरकारले लिएको छ।

विभिन्न सात आन्तरिक विमानस्थलबाट रात्रिकालीन उडान शुरु गरिएको गरिएको छ। बन्द अवस्थामा रहेका ५ आन्तरिक विमानस्थल सञ्चालनमा ल्याइएको सरकारले नीति तथा कार्यक्रममार्फत जनाएको छ।

‘नेपाल अन्तर्राष्ट्रिय पर्यटकीय गन्तव्यको रुपमा स्थापित हुंदै गएको छ,’ नीति तथा कार्यक्रममा भनिएको छ–‘पर्यटक आगमनमा ३३ प्रतिशतले वृद्धि भएको छ। २० लाख पर्यटक भित्र्याउने लक्ष्यका साथ सन् २०२० मा नेपाल भ्रमण वर्ष अभियान सञ्चालन गरिनेछ। काठमाडौं उपत्यकाभित्रको मौलिक संस्कृति, परम्परा, संगीतको प्रवद्र्धन गर्न रात्रिकालीन काठमाडौं उपत्यका सम्पदा यात्रा कार्यक्रम सञ्चालन गरिनेछ। त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थल चौबिसै घन्टा सञ्चालन हुने व्यवस्था मिलाइनेछ। मौलिक परम्परा र संस्कृति झल्कने गरी यो विमानस्थललाई बुटिक अन्तर्राष्ट्रिय विमानस्थलको रुपमा रुपान्तरण गरिनेछ।’

त्यस्तै उपत्यका नजिकको उपयुक्त स्थानमा आन्तरिक विमानस्थल निर्माण गरिनेछ। हाल सञ्चालनमा रहेका आन्तरिक विमानस्थलहरुलाई ठूला विमान उडान र अवतरण गर्न सक्ने गरी विकास गरिनेछ। राष्ट्रिय राजमार्गका उपयुक्त खण्डहरुलाई आपतकालीन विमान उडान र अवतरण गर्नसक्ने धावनमार्गको रुपमा विस्तार गरिनेछ।

तेह्रथुमको चुहानडाँडालगायत हवाई सुविधा नपुगेका सम्भाव्य स्थानमा विमानस्थल निर्माण गरिनेछ। रात्रि उडानको सुविधा नभएका आन्तरिक विमानस्थलमा पूर्वाधार निर्माण गरी रात्रिकालीन उडान शुरु गरिने नीति तथा कार्यक्रममा उल्लेख गरिएको छ।

नेपालको मौलिक शान्ति प्रक्रिया, हिमाल, वातावरण, लोकतन्त्र, मानवअधिकार, विश्व शान्ति, क्षेत्रीय सहयोग, महिला सशक्तीकरण लगायतका साझा हितका विषयहरुमा बौद्धिक छलफल गरी राष्ट्रिय हित प्रबद्र्धन गर्न तथा नेपालको परराष्ट्र नीतिलाई विश्वसामु प्रभावकारी ढंगले प्रस्तुत गर्दै जान आवश्यकता अनुसार सगरमाथा संवाद आयोजना गरिनेछ।

पर्यटकीयस्थलको विकास, पर्यटन पूर्वाधार निर्माण र पर्यटकीय सेवाको विविधीकरण एवं स्तरोन्नति गरिनेछ। नेपाल एकीकरणका सिलसिलामा प्रयोग भएका ऐतिहासिक गढी, किल्ला र बाटोहरु संरक्षण गरी आकर्षक पर्यटकीय गन्तव्यका रुपमा एकीकरण मार्ग निर्माण गरिनेछ। मुलुकको धरातलीय स्वरुपमा रहेको भिन्नतालाई पर्यटन प्रवद्र्धनमा उपयोग गरिनेछ।

तराई, मधेश नजिकका महाभारत क्षेत्रका सम्भाव्य पर्यटकीय स्थानहरुलाई बिदा मनाउन उपयुक्त शीतल आवासको रुपमा विकास गरिनेछ। गुणस्तरीय पर्यटक भित्याउन निजी क्षेत्रसंगको सहकार्यमा सेवाको गुणस्तर वृद्धि गरिनेछ। पर्यटक उद्गम हुने देशसंग थप हवाई सेवा सम्झौता गरिनेछ।

नयाँ हवाई प्रवेश बिन्दुहरु र तदनुरुप नयाँ हवाई मार्ग प्रयोगका लागि छिमेकी राष्ट्रिय समझदारी एवम् सम्झौता गरिने सरकारले योजना बनाएको छ। यो समाचार दीपेन्द्र थापाले नेपाल समाचारपत्रमा लेखेका छन्।





Comments

comments

28883