
सन्तोष थलङ –
मिति ३ जुन २०१९ का दिन गेसोद्वारा सम्प्रेषित बिज्ञप्ति अति आपत्ति जनक, अदूरदर्शी र आधारहीन एवं हास्यास्पद छ।
गेसोले गोरखा आन्दोलनको नेतृत्व गरिरहेको जिम्मेवार सत्याग्रह सघर्ष समितिलाई अनर्गल आक्षेप लगाएर गोरखा आन्दोलनलाई नै असफल बनाउन उद्दत रहेको प्रष्ट देखिन्छ।
यो आन्दोलनबाट गोरखाका मागहरु पूरा भए त्यसको क्रेडिट गोरखा सत्याग्रहलाई मात्र जान्छ भन्ने दरिद्र सोचले आफ्नै खुट्टामा बन्चरो हान्नु कतिको बुद्धिमानीता हो?
के कसैको ब्यक्तिगत र संस्थागत स्वार्थ र प्रतिष्ठाकालागि गोरखाका भविष्यमाथि खेलवाड हुने गलत प्रचार प्रसार र हर्कत गर्न गेसोलाई छुट दिन सकिन्छ?
गोरखा सत्याग्रह सघर्ष समितिले “ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता सघर्ष समिति युके” संग संयुक्त रुपमा प्रधानमन्त्रीको भब्य स्वागत गर्दै गोरखा बिभेद तत्काल अन्त्य गर्न र गोरखाका बंशजको नेपाली नागरिकता निरन्तर रहने सम्बैधानिक ब्यवस्था गर्न गराउनका लागि मौखिक अनुरोधका साथै ज्ञापनपत्र बुझाउने कार्यक्रम मिलाउन राजदूतावाससंग निरन्तर कुरा गरिरहेको छ। त्यसैका लागि गत १ जुन ,२०१९ का दिन बेलायतमा रहेका नेपाली संघ संस्थाहरूका प्रतिनिधिसहित सत्याग्रह दूतावासले आयोजना गरेको प्रधानमन्त्री भ्रमणको तयारी बैठकमा उपस्थित भइ प्रधानमन्त्रीलाई भेट्ने समयसमेत लिईसकेको छ।
अर्को आपत्तिजनक बिषय, सत्याग्रहले गोरखा भर्ती बन्द गराउने प्रयास गर्यो भनेर बुझ्नु गेसोका नेतृत्वमा रहेका पदाधिकारीहरुको निरीह मानसिकता अपरिपक्क बौधिकता शिवाय अरु केही हुनसक्दैन।
सत्याग्रहले स्पष्ट ढंगले भन्दै आएको यथार्थ के हो भने त्रिपक्षीय संधि अन्तर्गत गोरखाहरुलाई बेलायतले अमानवीय बिभेद गरेको छ। त्यसैले ति सबै बिभेदहरुको अन्त्य गरिनुपर्दछ। र अब उप्रान्त गोरखा भर्तीलाई बैधानिकता दिन समय सापेक्षित नेपाल र बेलायत सरकारले हाल कार्यरत तथा भावि गोरखाहरुको सुरक्षित भविष्य, स्वाभिमान, समानता र राष्ट्रियताको सुनिश्चित गर्ने द्विपक्षीय संधि गरिनुपर्दछ भन्नु गोरखा भर्ती बन्द गर्न खोजिएको हुन्छ?
यदि गेसोलाई यथास्थितिमा नै नेपाली यूवाहरु बेलायतले जति चाह्यो त्यति, जहिले चाह्यो त्यति बेला, जे जस्ता बिभेद भइरहेको छ, त्यहि अवस्थामा गोरखा भर्ती निरन्तर हुनुपर्छ भन्ने लागेको हो भने यो गोरखा आन्दोलनसंग जोडिनुको अर्थ के? हुन त गेसोले गोरखा समानताको आन्दोलन सन् २००९ मा नै अन्त्य भएको घोषणा गरेकै हो।
अहिलेको निर्णायक आन्दोलन गेसोका लागि “अरुले दुवाँली छेकेको खोलामा माछा टिप्ने सौभाग्य मिलेको मात्र न हो”। त्यसैले असहजताको छट्पटीले बेचैन भएको अभिव्यक्ति बिज्ञप्तिमा ब्यक्त भएको बुझ्न कति पनि कठिन छैन।
त्यसैले यो बिशुद्ध गोरखाका साझा मुद्दालाई बिभिन्न आक्षेपका साथ राजनैतिक रंग दिएर ब्यक्तिगत अभिष्ट पुरा गर्ने अभिप्रायले गोरखा आन्दोलनमाथि षडयन्त्र गर्ने गल्ति कसैले नगरौं। आजका गोरखाहरुलाई नजरअन्दाज गर्ने गल्तिले दुर्घटना ननिम्त्याओस्।
जय गोरखा!!!
(थलङ गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति (युके/ नेपाल) का प्रमुख संयोजक हुन्। सं.)