विग आईकनको उपाधि कुन्साङ गुरुङलाई

रेम बिक / एचकेनेपाल डट कम –
पोखरा, ७ भदौ । मुस्ताङका कुन्साङ गुरुङ पाँचौ सँस्करणको विग आईकनको विजेता बनेका छन्। ग्राण्ड फिनालेमा पुगेका अन्य तीन प्रतिस्पर्धीलाई भोटिङमा हराउँदै उनले विग आईकनको उपाधि चुमेका हुन्। उपाधिसंगै उनले १ लाख ६० हजार बराबरको पियाजिओ बाईक र एक हप्ते बेलायतको साँगीतिक भ्रमण प्याकेज र एउटा म्यूजिक भिडियो पुरस्कार स्वरुप पाएका छन्।


तस्वीरः सुदर्शन रञ्जित / एचकेनेपाल डट कम

शनिबार पोखरा सभागृहमा भएको ग्राण्ड फिनालेमा मदनकृष्ण श्रेष्ठ र हरिवंश आचार्यको जोडीले उनलाई विग आईकन घोषित गरेको हो। विजेता घोषित भएसंगै कुन्साङले आफू निकै खुशि भएको बताए। उनले आगामी दिनमा संगीतलाई निरन्तरता दिने बताउँदै आफ्नो लागि संगीतको यात्रा बल्ल शुरु भएको उल्लेख गरे।

प्रतियोगितामा चितवनका सन्दीप ढुंगाना फस्ट रनर अप भए भने धरानका राम लिम्बू सेकेन्ड रनरअप भए। यस्तै हेमजाकी ल्हामो डोल्कर प्रतियोगिताको थर्ड रनर अप भईन्। उपाधिसंगै फस्ट रनरअपले ७५ हजार रुपैँया, सेकेन्ड रनरअपले ५० हजार रुपैया प्राप्त गरेका छन् भने थर्ड रनरअपले दुई वटा गीत रेकर्ड गर्न पाउने अवसर प्राप्त गरे। यूरो एशिया एजुकेशन कन्सल्टेन्सीले थर्ड रनरअपका लागि गीत रेकर्डको व्यवस्था मिलाएको हो। ग्राण्ड फिनाले कार्यक्रम एफएमका कार्यक्रम संयोजक संजोग बस्याल, प्रस्तो रितु रानाभाट र गंगा घलेले होस्ट गरेका थिए।

पाँचौ सँस्करणको विग आईकनको ग्राण्ड फिनालेमा प्रमुख अतिथिको रुपमा उपस्थित भएका मह जोडीले मोफसलबाट यस्तो खालको ईभेन्ट गर्नु निकै खुशिको कुरा भएको बताए। “गायन प्रतिभाहरुका लागि यस्तो खालको मञ्च उपलब्ध गराएर विग एफएमले निकै ठूलो योगदान पुर्याएको छ।” मदनकृष्ण श्रेष्ठले भने–“विग एफएमले यो प्रतियोगितालाई सँधै निरन्तरता देओस् भन्ने म चाहन्छु।” यस्तै उनकै जोडी हरिवंश आचार्यले विग आईकनका विजेतालाई बधाई दिँदै सँगीतमा निरन्तरता दिन आग्रह गरे। यस्तै उनले विग एफएमबाट अन्य एफएमले पनि सिक्नुपर्ने धेरै कुराहरु रहेको उनले बताए। विग आईकनको विजेता घोषणा गर्दै उनीहरुले दर्शकहरुलाई क्यारिकेचर गर्दै हँसाएका समेत थिए।





Comments

comments

302