अनेसास कोलोराडो च्याप्टरको अध्यक्षमा तारा अधिकारी

तस्विरः नातिबाबु भट्ट


नातिबाबु भट्ट –

कोलोराडो, अमेरीका। अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टरको आइतवार सम्पन्न साधारण सभाले तारा अधिकारीको अध्यक्षतामा ७ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको छ।

यसअधि संस्थाले दुई पटकसम्म निर्वाचन कमिटी गठन गर्दा समेत निर्वाचन प्रक्रिया सफलताका साथ सम्पन्न हुन नसकेपछि संस्थाले साधारण सभा बोलाएको थियो। सोही साधारण सभाले ७ सदस्सीय कार्यसमिति सर्वसम्मत चयन गरेको हो।

हेल्पिङ हेण्डका अध्यक्ष तथा समाजसेवी नारायण श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा पदाधिकारीहरु निर्विरोध चयन भएका हुन्। यसरी चयन भएका पदाधिकारीहरुमा उपाध्यक्ष, महासिचव, सचिव र कोषाध्यक्षमा क्रमश मिना पौडेल, संझना आचार्य, यसोदा भट्ट र रमेश कोईराला रहेका छन् भने, राजु सिटौला र दिपक सुनुवार सदस्यमा चयन भएका छन्।

कार्यक्रममा कोलोराडोमा सक्रिय संघ संस्थाका पदाधिकारी, बुद्धिजीवी, कवि कवयित्री, कलाकार, व्यवसायी ,पत्रकार गन्यमान्य तथा सर्वसाधारणको उपस्थिति रहेको थियो । उपस्थित अतिथि तथा प्रमुख अतिथिहरुले प्रवासमा नेपाली भाषा सहित्यको बिकास गर्ने उद्धेश्यले अमेरिकाको वाशिंटनमा १९९१ स्थापित अन्तर्राष्ट्रिय नेपाली साहित्य समाजको पहिलो च्याप्टर कोलोराडो रहेको इतिहास कोट्याउदै, संस्थाको च्याप्टरहरु आज विश्वभर फौलाउन कोलोराडोको विशेष भूमिका रहेको बताए।

तस्वीरः नातिबाबु भट्ट

यसरी शुभकामना दिनेहरुमा प्रमुख अतिथि नारायण श्रेष्ठ, बरिष्ट साहित्यकार तथा पूर्व केन्द्रीय अध्यक्ष ज्ञानेन्द्र गदाल, निबर्तमान केन्द्रीय अध्यक्ष पदम बिश्वकर्मा, प्राध्यापक बिजयराज शर्मा लगायतका रहेका थिए।

यसैगरी सोही कार्यक्रममा प्रमुख अतिथि नारायण श्रेष्ठले अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज कोलोराडो च्याप्टर अन्तर्रगत रहने गरी नेपाली भाषा साहित्यको क्षेत्रमा नेपाल र प्रवासमा रहेर अमूल्य योगदान गर्ने एक जनालाई हरेक बर्ष पुरस्कृत गर्ने उद्धेश्यले ज्ञानेन्द्र गदाल भाषा साहित्यकोष खडा गर्न प्रस्ताव गरे। साधारण सभाले सर्वसम्मत उक्त प्रस्ताव पास गरेपछि, उनले अक्षय कोषको शुरुआत गर्न ५ सय डलर सहयोग दिने घोषणा गरे। यस कोषलाई बृद्धि गर्न भबिष्यमा पनि सहयोग गर्दै जाने प्रतिबद्धता जनाए।

संस्थाका निर्वाचित पदाधिकारीहरुलाई बरिष्ठ साहित्यकार तथा निर्वाचन कमिटीका संयोजक ज्ञानेन्द्र गदालले सफथ खुवाएका थिए भने बर्तमान कार्यसमितीका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले नवनिर्वाचित कार्यसमितीलाई बधाई दिदै कार्यभार विधिपूर्वक हस्तान्तरण गरेका थिए।

भानु जयन्तीको अवसर पारेर आयोजना गरिएको कवल गोष्ठी तथा साधारण सभाको कार्यक्रम आदिकवि भानुभक्तको तस्वीरमा मार्ल्यापण गर्दै अधि बढेको थियो। कार्यक्रमको पहिलो सत्रमा उपस्थित कवि कवयित्री तथा गायकहरुले आ–आफ्नो रचना वाचन गरेका थिए। भानुजयन्ती भएका कारण अधिकांश रचनाहरु भानुप्रति समर्पित रहेको थियो।

तस्वीरः नातिबाबु भट्ट

सृजना प्रस्तुत गर्नेहरुमा कृष्णमुरारी ढुङ्गेल, पदम बिश्वकर्मा, साबु गदाल , यसोदा भट्ट, समीर आचार्य, रामप्रसाद मरासैनी, सरिता आचार्य, उषाकिरण अधिकारी, सार्थक आचार्य, हरिकुमार श्रेष्ठ, निर्मल प्याकुरेल, बासु खनाल, संझना आचार्य, भिष्म प्रधान, दामोदर लुईटल, श्याम कुमार श्रेष्ठ लगायतका रहेका थिए।

च्याप्टरका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा संस्थाका महासचिव श्याम श्रेष्ठले कार्यक्रम संचालन गरेका थिए। कार्यक्रमको अन्तमा संस्थाका अध्यक्ष कृष्णमुरारी ढुङ्गेलले कार्यक्रम उपस्थित भई सफलताका साथ निर्वाचन प्रकृया टुंग्याउन सहयोग गर्ने सबैलाई धन्यवाद दिए।

मानिस जहां जसरी रहेपनि नेपाल र नेपालीको भाषा संस्कृति जोगाई राख्नु पर्दछ भन्ने उद्धेश्य लिई “भाषा चाहिन्छ भेष चाहिन्छ शिर उठाई बाच्न आफ्नो देश चाहिन्छ” भन्ने मूल मन्त्रका साथ विश्वको ७३ देशमा शाखा र सयौं च्याप्टरमा फैलिएको अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज अन्तर्गत कोलोराडो च्याप्टरको आयोजनामा प्रत्येक महिना कवि गोष्ठीको आयोजना हुने गरेको छ।

हङकङमा नेपालीलाई १३ वर्ष जेल सजाय




Comments

comments

31019