BREAKING: हङकङ समाचार – २ सयभन्दा बढी हवाई उडान स्थगित, रेल सेवाहरु पनि बन्द

फोटो सौजन्यः सीएनए

पशन तमू / एचकेनेपाल डट कम –

हङकङ, ५ अगष्ट। प्रस्तावित सुपुर्दगी कानूनको विरोध गर्दै शुरु भएको आन्दोलनको निरन्तरता आज हङकङमा विशाल आम हड्ताल भएको छ।

सोमबार अपरान्ह साढे १ बजे शुरु भएको आम हड्तालमा ७ जिल्लाबाट सहभागी भएको आयोजकले जनाएको छ।

आम हड्तालका कारण विश्वकै सर्वाधिक व्यस्त विमानस्थलमध्ये एक हङकङ अन्तर्राष्ट्रिय विमानस्थल पनि प्रभावित बनेको छ।

हङकङ विमानस्थलका अधिकारीले २ सयभन्दा बढी हवाई उडान स्थगित भएको जनाएको छ। एयरपोर्ट प्रस्थान गर्नुअघि एयरलाइन्सहरुलाई सम्पर्क गरेर ताजा जानकारी लिन यात्रुहरुसंग आग्रह गरेको छ। विमानस्थलका एक तिहाई ट्राफिक नियन्त्रकहरुले पनि सुपुर्दगी कानुनको विरोधमा आन्दोलनलाई साथ दिएका छन्।

एमटीआर कर्पोरेशनले एयरपोर्ट एक्सप्रेसका सेवाहरू केही समयका लागि निलम्बन गरिएको जनाएको छ। चेक-इन काउन्टरहरूसमेत बन्द भएका छन्। एमटीआर सेवाका अधिकांश लाइन बिहान बन्द भएका थिए भने केही अझै बन्द रहेका छन्। कर्पोरेशनले प्रभावकारीढंगले सेवा दिने प्रयत्न गरिरहेको प्रेस सम्मेलनमार्फत जानकारी दिएको छ। अधिकारीले रेल सेवा सुचारु गर्ने प्रयत्न भइरहेको जनाएको छ।

बाँकी थप अपडेटमा…

बन्द रहेका रेलसेवा सुचारु भएको छ।

प्रदर्शनकारीले चुन वानमा प्रहरीलाई खेदेका छन्। उनीहरूमाथि प्रदर्शनकारीहरु जाई लागेपछि प्रहरीले आफ्नो भ्यान छाडेर भागेका छन्।

टिन सुई वाई पुलिस स्टेशनमा प्रदर्शनकारीले उपद्रव मच्चाएपछि प्रहरीले सयौं राउण्ड अश्रु ग्यास प्रहार गरेका छन्।

ताई पोमा प्रदर्शनकारीलाई तितरवितर पार्न प्रहरीले अश्रु ग्यास प्रहार गरेका छन्।

त्यस्तै , वङ ताई सिङमा पनि अश्रु ग्यास प्रहार भएको छ।

प्रदर्शनकारीहरूले अधिकांश पुलिस स्टेशनहरूलाई घेराबन्दीमा पार्ने कोशिस गर्दैछन्। प्रहरीले खेदे पनि फेरि फर्केर प्रहरीलाई तथानाम गाली दिने गरेका छन्।

चुन वानमा पुलिस स्टेशनमा तोडफोड भएको छ। प्रदर्शनकारीहरुले पुलिस स्टेशन भवनको सीसाका झ्यालहरू तोडफोड गरेका छन्।

प्रदर्शनकारीले सुपुर्दगी कानुनको पूर्ण खारेजीको माग गर्दै आएको छ। तर, हङकङकी कार्यकारी प्रमुख क्यारी लामले यो कानुन पारित हुनुअधि जनताबाट अस्वीकृत भइसकेकोले यसको औचित्य समाप्त भइसकेको बताएकी छन्। प्रस्तावित सुपुर्दगी कानुन मृत भैसकेको लामले बताए पनि तत्काल आन्दोलन रोकिने सम्भावना देखिएको छैन।





Comments

comments

31193