सगरमाथा मापनको ९० प्रतिशत काम पूरा

फाइल फोटो

नापी विभागले सगरमाथा मापनको ९० प्रतिशत काम सम्पन्न गरेको छ।

आउँदो पुससम्ममा सगरमाथा मापनको नतिजा सार्वजनिक गर्ने विभागको समयतालिका रहेको छ।

तराईदेखि हिमाली क्षेत्रसम्मका तथ्याङ्क सङ्कलन भइसकेको छ भने वर्षाका कारण पहाडी क्षेत्रको काम रोकिएको छ । विभागले असारसम्ममा फिल्डको काम सक्ने तालिका तय गरे पनि त्यसो हुन सकेन । वर्षाका कारण काम गर्नसक्ने अवस्था नहुँदा फिल्डको १० प्रतिशत काम रोकिएको हो । नापी विभागका सगरमाथा उचाइ मापन एकाइ प्रमुख सुशील डङ्गोलले फिल्डको काम असारसम्म सक्ने योजना रहेको भए पनि वर्षाका कारण समयमा सम्पन्न गर्न नसकेको बताउनुभयो । त्यसैले आउँदो पुससम्ममा उचाइ मापनको नतिजा सार्वजनिक गर्नका लागि समय निर्धारण गरिएको छ।

उपलब्ध तथ्याङ्क सङ्कलन र प्रोसेसिङको काम सँगैसँगै अगाडि बढाइएको जानकारी दिँदै उहाँले तोकिएकै समयमा काम सक्ने दाबी गर्नुभयो । तोकिएको सयममा फिल्डको काम नसकिँदा समयमा काम सकिने सम्भावना कम छ । वर्षा सकिएसँगै चाँडै परिणाम दिने गरी काम सुरु हुने पनि उहाँले बताउनुभयो।

नेपाल सरकारको स्रोत साधनको उपयोग गरी पहिलोपटक सगरमाथाको मापन हुन लागेको हो । गत वर्ष (२०७४) फागुनदेखि बङ्गालको समुद्री सतहबाट सगरमाथाको मापन सुरु गरिएको थियो । दुईवटा विधि ‘ग्राबिटी सर्भे र त्रिगोनोमेट्रिक लेभलिङ’बाट सगरमाथाको मापन गरिँदै छ । पहाडी क्षेत्रमा ‘ग्राबिटी सर्भे’को काम बाँकी रहेको हो। यो समाचार गोरखापत्र दैनिकमा छ।





Comments

comments

31533