प्रवासी तिहार… (कविता)
– आचार्य प्रभा
सम्झिँदैछु म
मेरा छतमाथि फुलेका
ढकमक्क सयपत्रीहरू
अहो!कस्तो मोह लुकेको थियो
ती सयपत्रीका पत्र-पत्रहरुमा
कति आनन्द छाउँथ्यो मनमा?
ती अञ्जान फूलहरुका
सुगन्ध र सुन्दरताले
अहिले सम्झना र कल्पना गर्न शिवाय
के नै बाँकी रह्यो र?
सायद नियतिको खेल नै भन्नु पर्ला
मात्र सम्झना र कल्पनामा
बाँच्नु पर्ने समय।
छन् झल्झली आँखामा
ती पहेंला सयपत्रीहरु सुस्तरी,सुस्तरी
शितल पवनमा झुमी रहेका
अनि तिहारको आगमनको संकेत दिंदै
आफू बलिको बोका झैं अरुको खुशीमा
चढिनु पर्ने प्रारब्धमा मौन सुस्केरा
फ्याँकेको आभास छर्दै
मौनतामा चित्कार गुम्साई रहेका
हो सम्झानाका तीता,मीठा बज्रहरुले
हानी रहेछ यो समय
अनि बनिरहेछ नमिठो घाउ
त्यो मेरो छतको फूलबारी र
त्यँहा फुलेका ती सयपत्रीहरूको
अतृप्त झझल्को अनि यसपालीको
प्रवासी तिहार…।
डेन्भर (कोलोराडो)