तनहुँ । तनहुँको पर्यटकीय नगरी बन्दीपुर मंगलबार चुड्काले गुन्जियो । बन्दीपुर भ्रमण वर्षको अवसर पारेर बन्दीपुर गाउँपालिका–४ टुँडिखेलमा मंगलबार एकैपटक एक हजार जनाले चुड्का नाचेका छन्।
बन्दीपुरको पर्यटन प्रवर्द्धन गर्न र सांस्कृतिक इतिहास कायम गर्न बृहत् चुड्का नाच गरिएको कार्यक्रम संयोजक हरिसिंह गुरुङले जानकारी दिए । मौलिक जातीय र भेषभूषामा सजिएर एउटै मञ्चबाट यति धेरै सङ्ख्यामा चुड्का नाचेको यो पहिलो भएको उनको दाबी छ।
त्यसक्रममा गुरुङ, मगर, कुमाल, दरै, ब्राह्मण, क्षेत्री, नेवारलगायतका समुदायले मौलिक पहिरनमा सजिएर चुड्का नाच प्रस्तुत गरेका थिए । उनले भने, “तनहुँ कला र संस्कृतिमा धनी छ । एकैपटक एक हजार जनाले नाचेको यस कार्यक्रमले यहाँको पर्यटन प्रवर्द्धनमा ठुलो सहयोग पुगेको छ।”
बन्दीपुर भ्रमण वर्षको समापन तीन दिनसम्म विविध कार्यक्रम गरी मनाइँदै छ । पहिलो दिन चुड्का नचाइएको यहाँ दोस्रो दिन पुस १६ गते बन्दीपुर भ्रमण वर्ष समापन गरिँदैछ।
बन्दीपुर भ्रमण वर्ष २०२५ सचिवालय संयोजक वैशबहादुर गुरुङले बन्दीपुर भ्रमण वर्षले बन्दीपुरको पर्यटन प्रवर्द्धनका लागि कोसेढुङ्गाको काम गरेको बताए । सन् २०२५ मा विविध कार्यक्रम सञ्चालन गरिएको बताउँदै उनले अब सन् २०२६ का लागि विशेष कार्यक्रमको घोषणा तयारी गरिएको उल्लेख गरे।
पुस १७ गते अङ्ग्रेजी नयाँ वर्षको अवसर पारेर सडक खाना महोत्सव हुँदैछ । सडक खाना महोत्सवसँगै विविध सांस्कृतिक कार्यक्रमको आयोजना गरिएको छ । बन्दीपुरमा पर्यटकको चहलपहल बढेसँगै पर्यटन व्यवसायीसमेत उत्साहित छन् । पर्यटन व्यवसायी किसान प्रधानले यतिबेला बन्दीपुरमा पर्यटकको उल्लेख्य चाप रहेको बताए।
बन्दीपुर पर्यटकीय गाउँपालिका भएकाले पर्यटनलाई उच्च प्राथमिकता दिइएको बन्दीपुर गाउँपालिकाका अध्यक्ष सुरेन्द्र थापाको भनाइ छ । बन्दीपुरमा रहेको सिद्धगुफाको प्रचारप्रसार तथा मिनी ग्रेट वाल, मुकुन्देश्वरी पदमार्गलाई सम्पन्न गराउनेतर्फ गाउँपालिका अगाडि बढेको थापाले उल्लेख गरे । उनले भने, “यहाँ निर्माणाधीन रहेका पूर्वाधारलाई सम्पन्न गराउनेतर्फ अगाडी बढेका छौँ । यसले बन्दीपुर घुम्न आउनेलाई थप आकर्षित गर्नेछ।”
खड्गदेवी मन्दिर, थानीमाई मन्दिर, महालक्ष्मी मन्दिर, सिद्धगुफा मणि मुकुन्दसेन पैदलयात्रा (मिनी ग्रेट वाल), तीनधारा, झरना र पानीको फोहरा, टुँडिखेल, मणिमुकुन्द सेन दरबार, पदम पुस्तकालयलाई गाउँपालिकाले प्रमुख गन्तव्यको रुपमा सूचीकृत गरेको छ।


