तीन पीडित नेपाली महिला कतारबाट नेपाल फर्के

तिलविक्रम थेवे/ एचकेनेपाल डट कम-
दोहा कतार। घरेलु कामदारको रुपमा दिल्ली हुंदै ५ महिना अघिमात्र कतारमा आएकी धादिङ्ग कुरीनटारकी मिस्रा गुरुङ दूतावासको शरण हुदै नेपाल फर्केकी छन्।

पीडित गुरूङलाई सकुशल नेपाल फर्काउन नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, उपाध्यक्ष संगिता लामा, संघिय लिम्बुवान समाज कतारका उपमहासचिव डम्बर लिबाङ्गले सक्रिय पहल गरेका थिए।

पीडित गुरूङको भनाई अनुसार उनले २ देखि ३ घण्टामात्र सुत्न पाउथिन्, घरको काम कहिले नसकिने गरी थोपरिएको हुन्थ्यो। महिना महिनामा साउदी समेत परिवारको साथमा जानुपर्ने र त्यहा पनि काममा जोतिनुपर्ने हुन्थ्यो। शारीरिक शोषण नभएको भएपनि घरका लोग्ने मानिसहरुले कतिपय अवस्थामा कुदृष्टिले पनि हेर्ने गरेको बताइन्।

आफू यसरी दिनरात काम गरेपनि अपजस मात्र पाइने, फोन गर्न नपाइने, वाहिर निस्कन बन्देज जस्ता कुराहरुले आफू पिंजडाभित्र परेको र अव त्यो ठाउंबाट जिउदै फर्कने आशा समेत मरिसकेको अवस्थामा गुरूङको उद्धार भएको हो। मिस्रालाई अवैध तरिकाबाट चेलीवेटीको तस्कर गर्ने सपना अधिकारी र इन्द्र थापा भन्ने व्यक्तिहरुले कतारमा पठाएका थिए।

वुटवलमा २ हप्ता जति राखेर भैरहवास्थित माइती नेपाल सेल्टरको आँखा छल्न सुनौली बजारमा किनमेल गर्न लगेजस्तै लगेर जव बस हिड्न लागेको वेलामा दिल्लीका लागि बस चढाएर दिल्लीमा अरु २ हप्ता बसी कतार आइकी थिइन्।

कतारबाट घर पठाउभन्दा घर मालिक मालिक्नीले १० हजार रियाल तिरेर ल्याएको हुनाले नपठाउने बताउदै कडा निगरानीमा राखेको बताइन्। आफूजस्तै धेरै नेपाली महिलाहरु घरेलु कामदारका रुपमा कतारका अनकन्टार स्थानमा रहेको पनि मिस्राले बताइन्। मिस्रालाई नेपाली महिला समाजको पहलमा टिकट र खर्च उपलब्ध गराइएको थियो।

अर्का तीन महिना अघिमात्र घरेलु काममै आएकी बारा लिचीटोल–६ की रत्नमाया लामालाई पनि नेपाली महिला समाज कतारको सक्रिय पहल र हवाई टिकट सहयोगमा नेपाल पठाइएको छ।

घरमा खान पनि राम्रो नपाउने, काम बढीभन्दा बढी गर्नुपर्ने, गीलास फुट्दा समेत आफ्नो तलबबाट कटाउने जस्ता अत्यन्त अमानविय व्यवहारको कारण आफू भागेर दूतावास आउनु परेको बताउदै पीडित रत्नमायाले महिला समाजले आफूलाई नयाँ जीवन दिएको बताइन्। नेपाली दूतावासले पीडित नेपालीहरुको समस्यालाई त्यति गम्भिरतापूर्वक नलिने र कर्मचारीहरुले पीडित नेपालीहरुको खासै चासो नराख्ने गरेको आफूले पाएको बताइन्।

पीडित नेपालीहरु दूतावासमा आश्रयका लागि आउदा समेत आफूले काम गर्ने ठाउमै फर्केर जाउ भन्ने जस्ता कठोर बचन लगाउने पीडितका लागि रोजगारदातासंग कडाभन्दा कडा कुरा गरेर पीडितलाई राहत दिलाई दिन समेत दूतावासले अझै नसकिरहेको आफूले पाएको पीडित रत्नमायाले बताइन्।
अर्का पीडित सन्जु कुमारी धिमाल संघिय लिम्बुवान समाज कतारको पहल र हवाई टिकट सहयोगमा नेपाल फर्किन्। सन्जु धिमालको उद्धारको लागि नेपाली महिला समाज कतारका अध्यक्ष रेखा राई, संघिय लिम्बुवान समाज कतारका उपमहासचिव डम्बर लिबाङ्गले सक्रियतापूर्वक पहल र सहयोग गरेका थिए।

पथरी मोरङ्गकी सन्जु धिमाल कम्पनीमा १५ घण्टा भन्दा बढी काममा लगाउने र तलव समयमा नदिने गरेकोले सो कम्पनीमा काम गर्न नसक्ने भएपछि तलव माग्दा आफू र अर्को एकजनालाई कम्पनीका मालिकले दूतावासमा पुरयाइदिने भनेर वाहिर निकालेर त्यतिकै वेवारिसे छोडीदिएपछि न्यायको लागि नेपाली टैक्सी चालकको सहयोगले आफूहरुले विभिन्न पुलिस चौकीतिर दिनभर चाहारेपनि कहि कतैबाट सहयोग नपाएपछि दूतावास पुगेको बताइन्।

पीडित नेपालीहरुलाई दूतावासले सूचना पाएपछि स्वयमले फलोअप गर्नुपर्नेमा संघसस्थाहरुले जोखिम मोलेर सम्बन्धित स्थानबाट पीडितको उद्धार गरेर दूतावासमा ल्याउदा पनि नेपाली राजदूतावासले पीडितको पक्षमा कडाइका साथ बोलिदिने नगरेको आफूले पाएको र नेपाली दूतावासले पीडित नेपालीहरुको उद्धारपनि सम्बन्धित ठाउमा गएर गर्न नसक्ने, रोजगारदातासंग पाउनुपर्ने हिसावकिताव, पाउनुपर्ने सुविधाहरु दिलाइदिन नसक्ने, रोजगारदातालाई सचेत पनि गराउन नसक्ने रहेछ भन्ने आफूले अनुभव गरेको बताउदै पीडित र समस्यामा रहेका नेपालीहरुप्रतिको नेपाली राजदूतावासको हेलचेक्राई, कमजोरी, निरुत्साहित तुत्याउने र निम्नस्तरको बोली बचन र रुखो व्यवहारप्रति असन्तुष्टी जनाइन्।

नेपाली राजदूतावासले एकैजना मात्र किन नहोस् आफ्ना नागरिकको उद्धार सहयोगका लागि रातदिन तत्पर रहनुपर्ने हो तर त्यस्तो नपाउदा र कर लागेरमात्र पीडितहरुको उद्धार र सहयोग अल्छी लाग्दो पाराले गरिरहेकोले धेरै नेपालीहरुको समस्या समाधान नभइरहेको र दुख पाइरहेको आफैले प्रत्यक्ष देखेको सन्जु धिमालले बताइन्। यी तिनैजना पीडितहरु हालै नेपाल फर्कि सकेकाछन्।





Comments

comments

3292