नेताको उपचारमा ४ करोड, जनताको भागमा रु. ३४८

सत्तारुढ दलका तीन नेताको उपचारमा सरकारी ढुकुटीको पाँच करोड रुपैयाँ सकिएको छ। जबकि सरकारले प्रत्येक नेपालीको औषधि उपचारका लागि वार्षिक तीन सय ४८ रुपैयाँ मात्रै छुट्याएको छ।

सरकारी तथ्यांकअनुसार दैनिक ६ सय गरिब र निमुखा जनता अस्पताल पुग्नै नपाएर ज्यान गुमाइरहेका छन् । अस्पतालसम्म पुगेका सयौँ सर्वसाधारण पनि पैसाको अभावले उपचार पाइरहेका छैनन् ।प्रधानमन्त्री सुशील कोइरालाको उपचारमा सरकारी ढुकुटीबाट एक करोड ६२ लाख ५५ हजार रुपैयाँ खर्च भएको छ। सत्तासाझेदार एमालेका अध्यक्ष केपी ओलीको उपचारमा पनि एक करोड २६ लाख ३५ हजार सकिएको छ।

प्रधानमन्त्री कोइराला पहिलोपटक उपचारका लागि अमेरिका जाँदा अर्थ मन्त्रालयले १९ लाख १६ हजार दुई सय रुपैयाँ निकासा गरेको थियो। पछि परराष्ट्र मन्त्रालयमार्फत एक करोड ४३ लाख ३८ हजार आठ सय ८५ रुपैयाँ खर्च भएको थियो । कोइरालाको फोक्सोमा क्यान्सर देखिएपछि गत असारमा उनको अमेरिकाको न्युयोर्कस्थित स्लोन केटरिङ क्यान्सर अस्पताल उपचार गरिएको थियो।

मन्त्रिपरिषद्को गत २९ जेठको बैठकले प्रधानमन्त्री कोइरालालाई उपचारका लागि अमेरिका पठाउने र खर्च सबै व्यहोर्ने निर्णय गरेको थियो । २ असारमा अमेरिका गएका कोइराला ६ साउनमा स्वदेश फर्किएका थिए। ‘ब्रोङकाइटिस’ पनि भएकाले चिकित्सकको सल्लाहअनुसार उनको फोक्सोमा देखिएको क्यान्सरको उपचार शल्यक्रिया नगरी रेडियोथेरापीबाट गरिएको थियो।

एमाले अध्यक्ष ओलीको उपचारका लागि पनि सरकारले एक करोड २६ लाख ३५ हजार एक सय ३७ रुपैयाँ खर्च गरेको छ । उनको नयाँदिल्लीस्थित म्याक्स हस्पिटलमा मिर्गौला र थाइल्यान्डको बैंककस्थित बुमरुनग्राड इन्टरनेसनल हस्पिटलमा ‘क्रिप्टोकोकल म्यानेन्जाइटिस’को उपचार भएको थियो।

पूर्वप्रधानमन्त्री तथा एमाले वरिष्ठ नेता झलनाथ खनालको उपचारमा लागेको सम्पूर्ण खर्च पनि सरकारले व्यहोर्ने निर्णय भएको छ। पिसाब नलीमा समस्या देखिएपछि उनले प्रोस्टेटको शल्यक्रिया अमेरिकामा गराएका थिए । अमेरिकाको जोन्स हप्किन्स युनिभर्सिटी अस्पतालमा उनको उपचार भएको थियो । पिसाब नलीको शल्यक्रियापछि डिस्चार्ज भएका खनाललाई निमोनिया देखिएपछि उनी फेरि त्यही अस्पतालमा भर्ना भएका थिए । गत १० असोजमा अमेरिका गएका खनाल २७ कात्तिकमा स्वदेश फर्किएका थिए।

खनालको उपचारमा भएको खर्चको बिल नआएका कारण रकम भुक्तानी भने भएको छैन । ‘बिल नआएकाले रकम भुक्तानी गरेका छैनौँ, उहाँ खनालको उपचारमा पनि एक करोडभन्दा बढी खर्च भएको हुन सक्छ,’ अर्थ मन्त्रालय स्रोतले भन्यो।

त्यस्तै, कांग्रेस नेता एवं पूर्वपरराष्ट्रमन्त्री चक्रप्रसाद बास्तोलाको उपचारका लागि सरकारले ५० लाख रुपैयाँ दिएको छ। गत कात्तिकमा प्रधानमन्त्री कोइरालाले बास्तोलाको खुमलटारस्थित घरमै गएर सो रकम दिएका थिए।

मोरङमा पारिवारिक जमघटमा भएका वेला बास्तोलालाई एक्कासि मस्तिष्कघात भएको थियो। धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भर्ना गरिएका उनलाई भोलिपल्ट उपचारका लागि सिलिगुढी लगिएको थियो । तर, त्यहाँ उपचार सम्भव नभएपछि बास्तोलालाई एयर एम्बुलेन्समार्फत नयाँदिल्ली लगिएको थियो। दिल्लीमा ६ महिनाभन्दा बढी उपचार गरी नेपाल फर्किएका बास्तोलालाई न्युरो अस्पताल काठमाडौंमा राखिएको थियो। उनी अझै अचेत छन्।

सरकारले कांग्रेस नेता गोविन्दराज जोशीको उपचारका लागि २७ लाख ८० हजार रुपैयाँ खर्च गरेको थियो। पेटको समस्या देखिएपछि नर्भिक अस्पतालमा भर्ना भएका जोशीलाई चैतमा थप उपचारका लागि एयर एम्बुलेन्सबाट नयाँदिल्ली लगिएको थियो। मेदान्त अस्पतालमा उनको उपचार भएको समाचार नयाँ पत्रिका दैनिकमा समाचार छापिएको छ।

पटक–पटक मन्त्री भएका जोशीले सार्वजनिक पदमा रहँदा भ्रष्टाचार गरेको विशेष अदालतले ठहर गरेको थियो। उनले दुई करोड १६ लाख १४ हजार तीन सय रुपैयाँ भ्रष्टचार गरेको अदालतले ठहर गरेको थियो। उनको भ्रष्टाचार मुद्दा अहिले सर्वोच्च अदालतमा विचाराधीन छ।

आर्थिक दायित्व पर्ने विषयमा अर्थ मन्त्रालयको सहमति लिनुपर्नेमा कतिपय निर्णय मन्त्रिपरिषद्ले ठाडै पनि गरेको छ । अर्थ मन्त्रालय स्रोतले स्वास्थ्य उपचारका नाममा सरकार ज्यादै उदार बन्न खोजिरहेको बतायो। ‘स्वास्थ्य उपचारका नाममा हुने फजुल खर्च नियन्त्रण गर्न खोज्यो, अर्थको सहमतिविना ठाडै निर्णय गरेर मनपरी रकम वितरण गरिएको छ,’ स्रोतले भने।

वीर अस्पतालको शौचालयछेउमा अलपत्र दुर्गा तामाङ र हस्तबहादुर गौतम सोध्छन् उपचार पाउन नेतै हुनुपर्छ नारायणहिटी संग्रहालयको दक्षिणढोकामा मजदुरी गर्दागर्दै प्यारालाइसिस तथा मधुमेहबाट थलिएकी रामेछापकी दुर्गा तामाङ एक वर्षदेखि वीर अस्पतालको इमर्जेन्सी कक्षको शौचालयअगाडि लडेकी छिन्।





Comments

comments

3337