रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी र अवैध क्रसर उद्योग सञ्चालनमा स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका नेता, कार्यकर्ता र प्रहरीद्वारा आरोपित गुण्डाको संलग्नता बढ्दै गएको छ।
सोही कारण यस्ता उद्योग व्यवसायविरुद्ध आवाज उठाउनेहरू असुरक्षित हुन थालेका छन् । यस्तो अवैध उद्योग तथा कारोबार गुण्डागर्दी र अपराधीकरणको मुहान नै बनेको छ।
कानुनी रूपमा अवैध, प्राकृतिक भूबनावट, सम्पदा तथा वातावरणीय दृष्टिले विनाशकारी उक्त कार्य रोक्न आग्रह गर्दा धनुषाका २४ वर्षीय ओमप्रसाद महतो (दिलीप)को क्रुर हत्या भएको पछिल्लो उदाहरण हो।
नदीको ‘धार’ नै परिवर्तन हुने गरी भएको रोडा, ढुङ्गा तथा बालुवा चोरी निकासी रोक्न अघिल्लो साता बिहान खोला किनारामा पुगेका दिलीपलाई क्रसर उद्योग व्यवसायी विनोद र विपिन महतो दाजुभाइले फलामको रडले घोचेर बेहोश बनाई टिप्परले किच्न लगाई हत्या गरिएको दाबी प्रहरीको छ।
जिल्ला प्रहरी कार्यालय धनुषाका प्रमुख रमेश बस्नेतका अनुसार अवैध रोडा, ढुङ्गा तथा बालुवा र क्रसर उद्योगको नियन्त्रणमा चुनौती देखिएको छ । व्यक्तिगत आयआर्जनका अतिरिक्त स्थानीय तहका लागि आम्दानीको आकर्षक स्रोत भएकाले जनप्रतिनिधिदेखि गुण्डासम्मको संलग्नता बढ्दै गएको छ। यो समाचार गोरखापत्र दैनिकमा देवबहादुर कुँवरले लेखेका छन्।