कोरोना कविता : लुकेका मानवजातिहरु… – राकेश कार्की

राकेश कार्की

लुकेका मानवजातिहरु… (कविता)

इन्जिनियर राकेश कार्की –

बाहिर जान मनाही छ
जान पनि त सुरक्षित छैन
कोठाभित्र खुम्चिएर, डल्लिएर
कोरोना भाइरसको डरले लुकेका
चिडियाखानाको जन्तुजस्तो
कोठाभित्र बसेका
दुलोभित्रका साँपजस्तो
कोठाभित्र पसेका
मानवजातिहरु…

बाहिर खुल्ला आकाशमा स्वच्छन्द
उडेका चराचुरूङ्गीहरु
सुनसान जमिनमा निष्फिक्री
रमाइरहेका कुकुर बिरालाहरु
सानो परिधिको बन्द कोठाभित्र लुकेर
झ्याल र चेपबाट चियाइरहेछन्
मानवजातिहरु…

सबैको दिन आउदो रहेछ

बाघ, भालु, सिंहजस्तो हिँस्रक जन्तुलाई
चिडियाखानामा थुन्ने
अबोध जनावरको स्वतन्त्रता हरेर
पैसा असुल्ने
अहिले सूक्ष्म भन्दा सूक्ष्म
आँखाले देख्न नसकिने जिवाणुले
घर घरमै थुनिरहेछ
तमाशा बनाएर
यस्ता मानवजातिहरु…लाई

चार पर्खाले घेरेको भित्ताभित्र पनि
आनन्द र स्वतन्त्रता छैन
एउटा मानिस अर्कोसंग
६ फिटको दूरीमा बस्छ
अलिकति पनि बिश्वास छैन
रोग सार्छ कि भनेर
दुबै हात पंजाले ढाकेको छ
आफ्नै मुखमा मोहोलो लगाएर बस्छ
आफूलाई आफैसंग बिश्वास छैन
कोरोना बोकेको छु कि भनेर
संसारै भरी यति लाख संङ्क्रमित
यति हजार मानवको मृत्यु
हरेक दिन टिभीमा समाचार सुन्दै
आफ्नो आफ्नो घरको कोठामा
अनिश्चितता र अन्योलतामा
लुकेका मानवजातिहरु….!

लस एन्जेलस





Comments

comments

35642