नेपालगन्ज शिक्षण अस्पतालका डा. पुरुषोत्तम बर्मा संक्रमितको उपचारमा खटिँदै गर्दा आफैं बिरामी भए। कोभिडको पूरै लक्षण देखिए पनि पीसीआर जाँच गराउँदा रिपोर्ट भने नेगेटिभ आयो। रिपोर्ट पोजिटिभ आएको भए उनी आइसोलेसनमा बस्थे । लक्षण सबै देखिए पनि रिपोर्ट नेगेटिभ आउँदा आराम गरेर बस्छु भन्न पाएनन्।
‘कोभिडको पूरै लक्षण खेप्नुपर्यो तर रिपोर्ट दुईपटकसम्म नेगेटिभ आयो,’ उनले भने, ‘कहिलेकाहीं फल्ट हुन्छ । मैले बिदा भने लिइनँ ।’ बिरामीको उपचार गर्दागर्दै उनलाई अहिले त्यस्तो लक्षण छैन । दैनिक १२ घण्टा ड्युटीमा खटिएका डा। बर्माले भने, ‘शरीर थकित हुन्छ तर बिरामी बचाउन मन ऊर्जावान बनाएर काम गरिरहेका छौं।’
धेरै बिरामी, सीमित जनशक्ति भएका बाँकेका अस्पतालमा बर्माजस्ता स्वास्थ्यकर्मीले आफ्नो सुविधा बिर्सेर संक्रमितको उपचार गरिरहेका छन् । भेरी अस्पतालकी स्टाफ नर्स कमला नेपाली आफैं कोरोना संक्रमित भएको २२ दिन पुग्यो । तैपनि बिदामा बसेकी छैनन् । संक्रमितकै उपचारमा नियमित खटिएकी छन् । अस्पतालमा बिरामीको चाप घटेको छैन । अक्सिजन अभावमा दिनदिनै ज्यान गुमाउने बिरामी देखेर उनलाई मन थाम्न निकै गाह्रो हुन्छ।
‘म त निको भएँ, अरूलाई बचाउन नसक्दा खिन्न छु,’ उनले भनिन् । ड्युटी गर्दागर्दै उनलाई संक्रमणले भेटेको थियो । सुरुसुरुका दिनजस्तो बान्ता आउने, पेट दुख्ने, टाउको दुख्नेजस्ता लक्षण अहिले छैन । त्यसैले ड्युटी गर्न केही सहज महसुस छ । कोरोनासँग जुध्न सकारात्मक सोच र कामको व्यस्तताले ठूलो भूमिका खेल्ने उनको अनुभव छ । अस्पतालको व्यस्तताले उनलाई कोरोनाको डर र बिरामीका पीडाबारे फुर्सदिलो भएर चिन्ता गर्ने समयसमेत मिल्दैन । भन्छिन्, ‘मनोबल जुटाएर काम गर्न सकेकी छु ।’ नेपालीसँगै नर्स सुनीता सहाकारी संक्रमित भएकी थिइन् । एकै दिन पीसीआर गराएका उनीहरूले एक दिन पनि बिदा लिएनन् । अस्पतालले संक्रमित कर्मचारीलाई १० दिनसम्म आइसोलेट हुने सुविधा दिएको छ । एक त जनशक्तिको अभाव, अर्को आफैं संक्रमित भए पनि बिरामीको उपचार गर्न सक्छु भन्ने हिम्मतले काममा खटिए । बिरामीको अवस्था नाजुक देख्दा बेला बेला खिन्न हुन्छन् । बेडको अभावमा बिरामीले भर्ना पाउन हानथाप गर्नुपरेको छ । मृत्युदर घटेको छैन । अक्सिजन अभावले ज्यान गएको दृश्यले बर्मा, नेपाली र सहाकारीका आँखा रसाउँछन्। यो समाचार आजको कान्तिपुर दैनिकमा छ।