कोरोनाविरुद्ध अन्तर्राष्ट्रिय हातेमालोः आउन थाल्यो स्वास्थ्य सामग्री

कोरोना (कोभिड–१९) महामारीसँग लडाइँमा सहयोग गर्दै नेपाललाई विभिन्न मित्रराष्ट्रले पठाएका थप स्वास्थ्य सहयोग आउने क्रम सुरु भएको छ। प्रधानमन्त्री केपी शर्मा ओलीको आह्वान र परराष्ट्र मन्त्रालयले गरेको निरन्तर पहल स्वरूप ती स्वास्थ्य सहयोग धमाधम नेपाल भित्रिन थालेको हो। सोही पहलअनुसार केही दिनअघि मध्यपूर्वको ओमनबाट सहयोग सामग्री आइसकेको छ।

जसअनुसार बिहीबार पहिलो खेपको सामग्री स्पेन सरकारले पठाउँदैछ। बुधबार पनि युरोपियन युनियन र स्पेनले नेपाल सरकारलाई कोरोना महामारीसँग लड्नका लागि थप सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेको छ । परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली र युरोपियन युनियन तथा स्पेनका विदेश एवं सहयोग मन्त्रालयका मन्त्री तथा स्पेनका सहयोग मन्त्री अरन्चा गोञ्जालेज लायाबीच बुधबार भएको टेलिफोन वार्तामा सो प्रतिबद्धता आएको हो।

स्वास्थ्य सामाग्री

वार्ताका क्रममा नेपाल र युरोपियन युनियन तथा स्पेनका सम्बन्धका विविध पक्ष र सहयोग आदान–प्रदानका विषयमा थप छलफल भएको परराष्ट्र मन्त्रालयले जनाएको छ।

मन्त्री ज्ञवालीले सहयोगका लागि धन्यवाद प्रकट गर्नुभयो । विदेशमन्त्री गोञ्जालेज लायाले नेपालमा रहेका स्पेनी नागरिकलाई फिर्ता पठाउनका लागि सहयोग गरेकोमा धन्यवाद दिनुभयो । उहाँले द्विपक्षीय तथा अन्य विभिन्न माध्यमबाट नेपाललाई निरन्तर सहयोग गर्ने आश्वासन दिनुभयो।
यसैबीच स्पेन सरकारले नेपाललाई अत्यावश्यकीय चिकित्सा सामग्री बिहीबार पठाउँदैछ।

स्वास्थ्य सामाग्री

चार्टर्ड विमानमार्फत स्पेन सरकारले पठाउने ती सामग्री बिहीबार अपरान्ह नेपाल भित्रने परराष्ट्र मन्त्रालयले जनाएको छ । ती सामग्रीमा भेन्टिलेटर, अक्सिजन कन्ट्रयाक्टर र पीपीई लगायतका सामग्री रहेका छन् । स्पेनी एजेन्सीका अन्तर्राष्ट्रिय विकास सहयोगका निर्देशक म्याग्डी मार्टिनेज सोलिम्यानले सो सामग्री स्पेन सरकारका तर्फबाट नेपालका स्वास्थ्य मन्त्रीलाई हस्तान्तरण गर्नुहुनेछ।

मन्त्रालयका युरोप अमेरिका महाशाखाका प्रमुख निर्मल काफ्लेले अमेरिका र युरोपका अरू मुलुकलेसमेत यथाशीघ्र नेपालमा स्वास्थ्य सामग्री पठाउने प्रक्रिया थालेको जानकारी दिँदै जर्मनी, स्विजरल्यान्ड, क्यानडाबाट पनि सहयोग सामग्रीका लागि प्रक्रिया र छलफल चलिरहेको जानकारी दिनुभयो।, यो समाचार आजको गोरखापत्र दैनिकमा छ।





Comments

comments

Leave a Reply

42393