निर्णायक गोरखा आन्दोलनकालागि दोश्रो पुस्ता (भाञ्जा-भाञ्जी) को दायित्व!

सन्तोष थलङ –

वीर गोरखाका दोश्रो पुस्तालाई अब आफ्ना बाबुबाजेमाथि दशौं पुस्ता अघिबाट बेलायती साम्राज्यद्वारा गरिएको अपमानजनक, असमानता र अमानवीय बिभेद बिरुद्धको निर्णायक आन्दोलनलाई गन्तब्यमा पुर्याउने गहन जिम्मेवारी आएको छ।

सन्तोष थलङ

करीब साढे तीन दशकअघिबाट आरम्भ गरेको सशक्त आन्दोलनले आंशिक उपलब्धिहरु मात्र प्राप्त गरेको छ। त्यसमध्ये एक महत्वपूर्ण उपलब्धि भनेको गोरखाका छोराछोरी (दोस्रो पुस्ता) लाई यहिं बेलायती भूमिमा ल्याएर यसै देशको शैक्षिक प्रणाली अन्तर्गतका बिभिन्न बिषयमा बिज्ञता हासिल गराउन सफल हुनु हो।

अब यिनै शिक्षित गोरखा सन्ततिहरुले यहि देशमा आर्जित बिज्ञता र क्षमतालाई सदुपयोग गर्दै आफ्ना पिता पुर्खामाथि २०६ बर्षदेखि हुदै आएको अमानवीय बिभेद, अन्याय अत्याचारको एकाएक हिसाब चुक्ता गर्नुपर्दछ।

पीडित गोरखाहरु अर्थात् बाबु पुस्ताहरु नेपालमै पनि राम्रो शिक्षादिक्षा लिनबाट बञ्चित भएका र जीवनको उर्जाशील अवस्थामा बेलायती सैन्य कानूनले बन्दीसरहको जीवन जिएकाहरुमा गोर्खा आन्दोलनलाई सहि ढंगले हांक्ने बिचार, बौद्धिकता र भाषिक क्षमताको अवश्य अभाव भएकै हो। यद्यपि, दृढ संकल्पका कारण केही बिज्ञहरु हार- गुहार गरेर भएपनि आन्दोलनलाई यहाँसम्म ल्याउनु एक अकल्पनीय एवं ऐतिहासिक उपलब्धि नै मान्नुपर्दछ।

त्यसैले, बेलायतमा रहेका भाञ्जा भाञ्जीहरुले यो आन्दोलनलाई निष्कर्षमा पुर्याउन स्वतस्फूर्तरुपमा संगठित भई गोरखा सत्याग्रह संयुक्त संघर्ष समिति र ब्रिटिश गोरखा नेपाली नागरिकता निरन्तरता अभियानको यूवा समिति (Youth Committee) का रुपमा सशक्त अघि बढ्नु पर्दछ।

कारण, भूपू गोर्खाहरु अनेकौं संघर्ष गरेर सपरिवार बेलायतमा रोजीरोटीका लागि मात्र आएका नभई बेलायती समकक्षी सरहको समानता कायम गर्दै नेपाल र नेपालीको अस्तित्व र हैसियत स्थापित गर्ने मुख्य अभियान लिएर नेपालमा रहेका घर, परिवार, व्यापार – व्यवसाय छाडेर बेलायत आएका हुन्।

त्यसैले गोरखा आन्दोलनको प्रमुख उद्देश्य बेलायती बिभेद अन्त गरि समानता सुनिश्चित गर्दै गुमेको नेपाल र नेपालीको मान प्रतिष्ठा पुनर्स्थापित गर्नु हो। त्यस पश्र्चात, आफ्नो सहजता अनुकूल बेलायत मै बसे पनि या स्वदेश फर्के पनि आ-आफ्नो मर्जि … !

यसै सिलसिलामा, समानताकालागि सम्पूर्ण ब्रिटिश गोरखा समुदाय र नेपालको अस्तित्वका लागि आफ्नो अमूल्य जीवन समर्पण गर्न तत्पर रहंदै गोरखा सत्याग्रहका ३ जना साहसी गोरखा अभियन्ताहरु क्रमशः ज्ञानराज राई, पुष्पाराणा घले र धनबहादुर गुरुङले १ जुलाई २०२१ को समय सिमा दिएर बेलायत सरकारलाई आमरण अनसन (Fast un-to- death) को औपचारिक अल्टिमेटम दिईसकेको जटिल अवस्था छ।

त्यसैगरी नेपाल सरकारले ब्रिटिश गोरखा र गोरखा सन्ततिले बेलायती आवासीय अधिकार लिए भन्दैमा तिनका बंशजको नेपाली नागरिकतामा कुनै अधिकार कटौति गर्न हुदैन। यसको सुनिश्चितताकालागि नेपाली नागरिकता निरन्तरता अभियानलाई पनि समानान्तर र सशक्त रुपमा अघि बढाउनु पर्दछ।

त्यसर्थ, बेलायतमा रहेका गोरखाका दोश्रो पुस्ता (भाञ्जा – भाञ्जी) हरु आफ्नो क्षमता र दक्षताको सदुपयोग गर्दै आफ्नो बाबु आमाले भोगेका अन्याय अत्याचार, अमानवीय बिभेद र शारीरिक एवं मानसिक यातनालाई महसूस गरेर यसको न्यायिक क्षतिपूर्ति भराई वीर गोरखाका बुद्धिमान सन्तानको कर्तव्य पुरा गर्न पनि स्वतस्फूर्त संगठित भई यो आन्दोलनको निर्णायक मोर्चामा आउनै पर्दछ।

अन्त्यमा; यो आन्दोलन सफल गर्नु भनेको बेलायतमा गोरखा समुदायको हैसियत कायम गरि बेलायतमा रहने भावि गोरखा सन्ततिहरुलाई कानूनी एवं सामाजिक रुपमा अधिकार सम्पन्न बनाई सम्मानित जीवन यापन गर्न पाउने वातावरण बनाउनु पनि हो। त्यसैगरी “नेपाली नागरिकता निरन्तरताको” अभियान भनेको भावी ब्रिटिश गोरखा सन्ततिहरुका नेपाली राष्ट्रियता र पहिचान बचाउने गम्भीर बिषय भएकाले यि दुबै मुद्दामा बिशेष गरी बेलायतमा रहेका ब्रिटिश गोरखाका दोश्रो पुस्ताका भाञ्जा भाञ्जीहरुको सशक्त भुमिका हुन अत्यावश्यक छ ।

जय गोरखा!!!





Comments

comments

Leave a Reply

42415