विश्व रक्तदाता दिवसको शुभकामना

रक्त–अल्पता, रक्तश्राव लगायतका बिरामीहरु बच्चाउन सयौं बर्ष पहिलादेखि डाक्टरहरु प्रयासरत थिए। त्यतिखेर डाक्टरहरुले आमाको दुध, गाइको दुध, भेडाको रगत बिरामीहरुलाई संचार गरेर जोगाउने प्रयास गरेका थिए। तर यी उपायहरु बिरामीको रगतमा घुलित हुन सकेनन्।

बिरामीको शरीरमा फोका उठ्ने, चिलाउने, रगत फाटेर तत्कालै मृत्यु हुन्थ्यो । पछिल्ला दिनहरुमा डाक्टरहरुले बिरामीहरुलाई मानव रगत संचार गरे। कुनै बिरामी बिसेक हुन्थे त कुनैको मृत्यु । सन् १९०१ मा कार्ल ल्यान्डस्टेनरले मानव शरीरमा ए, बि र ओ रगत समूह हुनेरहेछ भन्ने ज्ञान पत्ता लगाए । त्यसपछि बिरामीको जुन समूहको रगत छ त्यही नै समूहको रगत संचार गर्दा धेरै बिरामी बाँचे।

रक्तदान

अहिलेसम्म रगत कुनै प्रगोगशालामा बन्न सकेको छैन । कसैलाई रगत चाहिए स्वस्थ ब्यक्तिले नैं दिनैपर्छ । अरुलाई रगत दिनेको जति नै प्रशंसा गरे पनि पुग्दैन । त्यस्ता रक्तदातालाई सम्मान स्वरुप धन्यवाद ज्ञापन गर्न तथा रक्तदानको आवश्यकताबारे विश्वब्यापी चेतना फैलाउन सन् २००४ देखि जुन १४ लाई विश्व स्वास्थ्य सङ्गठनले विश्व रक्तदाता दिवस मनाउदै आइरहेको छ । यो दिन मानव रक्त समूह पत्ता लगाउने तीनै बैज्ञानिक कार्ल ल्यान्डस्टेनरको जन्मदिन हो । यस बर्षको विश्व रक्तदाता दिवसको नारा ‘रगत दिनुहोस र संसारको धड्कनलाई चलायमान बनाइ राख्नुहोस’ छ।

विश्व स्वास्थ्य सङ्गठनको सन् २०१९ को प्रतिवेदन अनुसार त्यस बर्ष करीब १२ करोड पोका रगत दान गरियो । त्यती रगतले विश्वभरका बिरामीलाई उपचार गर्न अझै रगत अभाव छ । हाम्रो देश नेपालमा वार्षिक ३ लाख हाराहारी पोका रगत दान हुन्छ । यो पर्याप्त छैन । सबै बिरामीको सजिलै रगतमा पहुंच पु¥याउन त्यस देशको जनसंख्या अनुसार २ प्रतिशत भन्दा बढीले रगत दान गर्नै पर्छ । आज हामीले दान गरेको रगतले कसैले नयाँ जीवन पाउछ । भविष्यमा हिजो दिनेलाई आवश्यक पर्न सक्छ । त्यतिबेला अरुले दान गरेको रगत नैं उपयोगी हुन्छ।

हामी धेरैजसोले सानै उमेरदेखि नै ‘रक्तदान–जीवनदान’ शब्दावली सुन्दै आएका छौं । कलेज पढ्नेबेला ‘द ब्लड डोनर’ पाठले मलाई पनि रक्तदान गर्न प्रेरणा दियो । मैले २० अगष्ट, १९८७ मा पहिलो पटक रक्तदान गरेको थिए । मेरो रक्तसमूह ओ–पोजेटीभ रहेछ । विश्वभर रक्तदान गर्नेहरुमध्ये १ प्रतिशतभन्दा कमले मात्रै सयौं पटक रक्तदान गर्न सकेका छन् । यो अपवादको सूचीमा म पनि परेछु । मानवीय सेवामध्ये सबैभन्दा ठूलो रगत दान हो भन्ने मलाई लाग्छ । मैले आजको दिनसम्म ६ वटा महादेशका १७ वटा मुलुकमा पुगेरै हजारौं युवाहरुमाझ रगतदान गरेको छु। रक्तदान गर्नुपर्छ भनेर सन्देश दिएको छु ।

यो कोरोना महामारीमा बिरामीहरू बचाउन झन बढी रक्तदान गर्नुपर्छ । अप्रिल २४, २०२० देखि, जनवरी १२, २०२१ बिच मैले २३ पटक (४ पटक रगत र १९ पटक प्लेटलेट्स) दान गरें । यो नौं महिनाको अवधिमा ११ लिटर दान गरेछु । यो सामान्य रक्तदान मात्र नभई असाधारण कार्य रहेछ । मेरो आफ्नै रगतले सयौं बिरामीलाई बचाउन सहयोग मिलेकोमा सन्तोष मानेको छु । अरूको जीवन बचाउन प्रयास गर्दा कुनै पनि कमजोरी महसूस भएन । त्यसैले तपाईहरुमार्फत म सम्पूर्ण युवाहरुलाई वर्षमा कम्तीमा एक पटक भए पनि रक्तदान गर्न अनुरोध गर्दछु।

रक्तदान गर्दैमा कमजोरी भईदैन भनेर जनचेतना जगाउन सन् १९९० डिसेम्बर ५ तारिखका दिन मेरो १६ औं पटक रक्तदान गरेर नेपालमा ३१ दिनसम्म लगातार साइकल यात्रा गरेको अनुभब मसंग छ । त्यसैले रक्तदान गरेमा कमजोर भइने, रिङ्गटा लाग्ने भने भ्रम मात्रै हो । रक्तदानमा जानुअघि खाना खाएको हुनुपर्छ । २४ घण्टा यता प्रशस्त तरल पदार्थ वा पानी पिउनु पर्छ । यदी शरिरमा पानीको मात्रा कम वा भोको पेट भएमा रिङ्गटा लाग्न सक्छ । कमजोरी भएको अनुभव हुनसक्छ । रक्तदान गर्न आफू पूर्ण रुपमा स्वस्थ हुनैपर्छ । रक्तदान अघि स्वास्थ्यकर्मीले रगतमा आईरनको मात्रा, रक्तचाप, नाडिको गती, शारीरिक तापक्रम आदि परीक्षण गर्छन् । स्वास्थ्य सम्बन्धी बिगतबारे सोध्छन् । रक्तदाता र बिरामीको स्वास्थ्यबारे उनीहरू सजग रहन्छ नैं ।

रक्तदान दर बृद्धि गर्न रक्तदातालाई संगठित गर्न सन् १९८९ मा ‘ब्लड डोनर्स एसोसिएसन नेपाल’ को संस्थापक सदस्य, सन् २००९ मा ‘ब्लड डोनर्स अफ अमेरिका’ र सन् २०१४ मा ‘इन्टरनेशनल नेप्लिज ब्लड डोनर्स’ को संस्थापक अध्यक्ष भई“ काम गरे । सन् २०१९ मा विश्व स्वास्थ्य संगठनले अफ्रिकाको रुवान्डामा विश्व रक्तदाता दिवस आयोजना गरेको थियो । त्यहा मुख्य वक्ता भई रक्तदान उत्प्रेरणाका कुराहरु प्रस्तुत गरे । यसरी गाउदेखि राष्ट्र हुदै अन्तर्राष्ट्रिय समुदायसम्म अग्रपंक्तिमा रहेरै रक्तदान बढाउन प्रयास गरे।

अचेल साथीहरूले मलाई ‘हि ईज ब्लड डोनर’ भनी चिनाउछन् । कार्ल ल्यान्डस्टेनरले देखाएको गोरेटो हिड्दै मैले पनि धेरैलाई बच्चाउन सकें । अमुल्य रगत दान गरेर अरुलाई बच्चाउन प्रयास गर्नु हुने तपाईं सम्पूर्ण रक्तदाताहरुलाई विश्व रक्तदाता दिवसको अबसरमा धन्यवाद दिन चाहन्छु।

अर्जुन मैनाली
न्यूयोर्क, संयुक्त राज्य अमेरिका
जुन १४, २०२१





Leave a Reply

42938
%d bloggers like this: